महामानव वी.पी.को सम्झना


महामानव विश्वेश्वप्रसाद कोइराला प्रजातन्त्र प्राप्तिका लागि भारतमा छँदा गान्धीको नेतृत्वमा बृटिस सरकारको विरोधमा त्यहाँका जनताले उठाएको प्रजातन्त्रको आन्दोलनमा साथ दिनुभएको थियो । उहाँ केही दिन जेलमा पनि रहनुभयो । साथै आफ्नो देश नेपालमा पनि प्रजातन्त्र स्थापना गर्नुपर्दछ भन्ने आन्तरिक संकल्प भएअनुरुप २००७ साल कार्तिक महिनामा श्री ५ त्रिभुवन दिल्ली सवारी भएपछि राणा सरकारविरुद्ध सशस्त्र क्रान्ति गर्ने सल्लाह भई ने.का. सभापति मातृकाप्रसाद कोइरालाको सर्वाेच्च कमाण्डरमा महामानव वी.पी.को नेतृत्वमा सशस्त्र क्रान्तिको आह्वान २००७ साल कार्तिक २८ गते भयो । सशस्त्र क्रान्तिको लागि मुक्तिसेना गठन गरियो । 

नेपाली काँग्रेसको नीतिनियम अनुसार कार्यकर्ताहरूले जिल्ला–जिल्लामा राणा सरकारविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि जनताको साथ लिई कुनै जिल्लामा शान्तिपूर्वक जुलुसले कब्जा गरे भने कही मुक्तिसेना प्रयोग गरी जिल्लाका कार्यालयहरू कब्जा गरिएको थियो र आन्तरिक जनसरकार गठन गरी क्रान्तिको कार्य संचालन गर्दै आएको अवस्थामा दिल्लीमा श्री ५ त्रिभुवनबाट २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा भयो । सो सम्झौता गर्दा बी.पी.बाट अग्रणी भूमिका खेल्नुभएको थियो र सीज फायरको आदेश भयो र सो क्रान्ति रोकियो । ने.का. बाट ५ जना, राणाबाट ५ जना गरी १० जनाको मन्त्रीमण्डल मोहन शम्सेरको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्यो । महामानव बी.पी. कोइराला गृहमन्त्री रहनुभयो । महामानव बी.पी. कोइरालासँग विश्वको राजनीतिको ज्ञान थियो । नेपालमा प्रजातन्त्र स्थापनापछि देश विकासको तीब्र गतिमा अघि बढाउने उहाँको कार्यक्रम थियो । राणहरूले खाइपाई आएको भत्ता, बिर्ता खारेज गर्नु थियो । नेपाली काँग्रेसले अनेकौं कठिनाइ भोग्दै पार गर्दै २०१५ सालको आम चुनावमा अत्यधिक बहुमत ल्यायो । बी.पी. बाबुको प्रधानमन्त्रीत्वमा सरकार गठन भयो । 

ने.का.को सिद्धान्तअनुरूप राष्ट्रियता, प्रजातन्त्र, समाजवादलाई ध्यानमा राखी कृषि, स्वास्थ्य, शिक्षा, यातायत, बिजुली, उद्योग, जग्गा हदबन्दी, भूमिसुधार, सुकुमबासी, बेरोजगारी, गरिबी, खानी इत्यादिमा योजना तर्जुमा हुँदाहुँदै २०१७ साल पौष १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरी पञ्चायती व्यवस्था ल्याए । बी.पी. समेत मन्त्रीहरूलाई सुन्दरीजल जेलमा थुनाउमा राखे । बी.पी.को योजनाअनुसार कार्य सफल हुन नपाउनु नेपाली काँग्रेस र देशकै दुर्भाग्य थियो ।


बी.पी.मा निम्न गुणहरू थिएः 

(क) बि.पि.मा व्यक्तिगत स्वार्थ थिएन ।

(ख) देश र समाजप्रति उदार भावना थियो । 

(ग) राजनीतिमा प्रकाण्ड विद्वान र दूरदर्शिता थियो । 

(घ) नेपाली जनताको मर्मबोध थियो । 

(ङ) नेपालको परराष्ट्रनीति कस्तो हुनुपर्दछ भन्ने ज्ञान थियो । 

(च) वीर गणेशमान, सुवर्ण शम्सेर र कृष्णप्रसाद भट्टराई जस्ता त्यागी साथी थिए । 

(छ) कार्यकर्तासँग हेलमेल र बोलचालीमा मिठास एवम् नरमपन थियो ।

(ज) महान् त्यागी युगपुरुष हुनुहुन्थ्यो । 


२००९ सालमा ने.का.को महाधिवेशन जनकपुरमा हुँदा पर्वत, कुस्माबाट ने.का. उपशाखाको सभापति म, नारायणप्रसाद जोशी महासमितिको सदस्यको रूपमा प्रतिनिधि भई सो कार्यक्रममा भाग लिई बि.पि. बाबुलाई ने.का.को केन्द्रीय सभापतिमा निर्वाचित गराइयो । 

२०१० सालमा महामानव बि.पि. जिल्ला टुरमा पं. ४ नं. स्याङ्जा आउनुहुँदा ने.का. स्याङ्जाका कर्मठ कार्यकर्ता धनप्रसाद तुलाचनको घरमा बस्ने व्यवस्था गरिएको थियो । स्याङ्जामा युवा संगठन (समिति) गठन गरिएको थियो । सो समितिबाट मेरो सभापतित्वमा एउटा कार्यक्रम राखी बि.पि. बाबुलाई निमन्त्रणा गरियो । सो कार्यक्रममा फणनारायण श्रेष्ठ, हीरामान श्रेष्ठ, डा. महेश शर्मासमेत ४०÷५० जना युवाहरूमाझ राष्ट्रियता, प्रजातन्त्र, समाजवाद बारेमा उहाँले सम्बोधन गर्नुभएको थियो । प.. ४ नं. स्याङ्जा शाखाका सभापति जमानसिंह गुरुङबाट पनि त्यस अवसरमा सम्बोधन भएको थियो । 

२०१५ सालको आम चुनाव हुँदा महामावन बि.पि., बीर गणेशमान सिंहहरू जिल्ला टुरमा पर्वत–कुश्मा आउनुहुँदा कुस्मा बजारको गणेश मन्दिर अगाडि आमसभाको कार्यक्रम राखिएको थियो । ३०००÷३५०० जति जनभेलामा प्रजातत्रको महत्व र ने.का.को सिद्धान्तको बारेमा बि.पि.ले सम्बोधन गर्नुभयो । बीर गणेशमानजीले प्रजातन्त्रको चापी श्री ५ त्रिभुवनलाई नासो राख्न दिएका थियौं । श्री ५ त्रिभुवन स्वर्गीय हुनुभएकोले प्रजातन्त्रको चापी श्री महेन्द्रसँग छ ।   जनताको प्रजातन्त्रको चापी नदिएर हुन्छ ? भन्ने सारगर्भित भाषण गर्नुभयो । त्यहाँ पश्चिम ४ नं. स्याङ्जा ने.का.का सभापति जमानसिंह गुरुङ र पर्वत कुस्मा ने.का. उपशाखाबाट मैले पनि बोलेको थिएँ । बाग्लुङबाट फिर्ता भएपछि कुश्मामा नेताहरूलाई अतिप्रसाद गौचनको घरमा बस्ने व्यवस्था थियो । बि.पि. बाबुले भन्नुभयो – जोशीजी यहाँ पतिना पाइन्छ । आज पतिनामा नुन जिरामात्र राखेर सब्जी खाने हो भनी मीठोसँग खाना लिनुभयो । यी कुरा अहिले झलझली सम्झिराखेको छु । 

गोर्खा परिषद् पार्टी विनाशर्त ने.का. मा विलीन भएपछि जिल्लाका कार्यकर्ताहरूबाट विरोध भयो । ने.का. सभापति बि.पि. बाबुसँग जिल्ला सभापति जमानसिंह गुरुङ, धनबहादुर बोगटी र यो पंक्तिकार समेत २०÷२५ जना कार्यकर्ताले तपाईलाई आक्रमण गर्ने भरत शम्सेरले नेतृत्व गरेको गोर्खा परिषद् पार्टीलाई ने.का.मा किन प्रवेश गराउनुभयो भनी कुरा राख्यौं । 

बि.पि.बाबुले भन्नुभयो – हेर्नुहोस् गोर्खा परिषद् विनाशर्त ने.का.मा बिलीन भएकोमा ने.का.लाई फाइदा छ किनभने गोर्खा परिषद्सँग संर्घर्ष गर्न एउटा शक्ति लागिरहनुपथ्र्यो भने अव त्यो शक्तिले अर्काे शक्तिसँग मुकाविला गर्छ त्यो फाइदा ने.का.लाई हुन आउँछ भनी सम्झाउनुभयो । उहाँ राजनीतिज्ञ र दूरदर्शी हुनुहुन्थ्यो । सोहीबखत अन्य कुरापनि भन्नुभयो – बिधान बनाउँदा रवरजस्तो बनाउनुपर्दछ । आवशयक पर्दा तान्दा तानिने, छोड्दा साविक ठाउँमा बस्ने यस्तो विधान बनाउनुपर्दछ । 

प्रजातन्त्रलाई राम्रोसँग संचालन गर्न सकेन भने वानरको हातको नरिवल हुन सक्छ । त्यसकारण संघर्षबाट ल्याएको प्रजातन्त्र संचालन गर्न त्रुटि भयो भने गुम्न पनि सक्छ भन्दै विभिन्न महत्वपूर्ण विषयहरूमा हामी कार्यकर्तालाई सम्झाउनुभयो । हामीहरूको चित्त बुझ्यो । 

आज म महामानव बि.पिेका. आत्माले चीर सुख प्राप्त गरोस् भनी ईश्वरसँग प्रार्थना गर्दछु  ।


नेपाल आमाले जन्माइन् नेपालीको भाग्य विधाता

महापुरुष बि.पि. प्रतिक्रियावादी तत्वले पुरायो कता कता

तिम्रो सपना पूरा गर्नेछन् नेपाली सपूतले

जुरमुराई उठ्नेछन् शान्तिको जोशले । 

writer:- कृष्णबहादुर जोशी

(हाम्रो पुरुषार्थ (त्रैमासिक) विश्वेश्वर विशेषाङ्क बाट साभार)

Post a Comment

0 Comments