कुकुरको कारण जनतालाई सास्ती

गाई दुहेपछि सडकमा लगेर छोड्निे र बेलुका दुहिने बेला भएपछि खोजेर ल्याएर दुहुने तर खान दिन र स्याहारसुसार गर्नु नपर्ने पोख्रेलीहरुको पुरानै बानी हो । यदि भैंसीलाई पनि मार्न र खान नपाइने कानुन बनाइने हो भने पोखराका भैंसी पालकहरुले विगतदेखि गाईलाई गरेको जस्तो व्यवहार भैसीलाई पनि गर्ने थिए भन्न सकिन्छ । विभिन्न रोग लागेर जीर्ण भएका र खान नपाएर बृद्ध भएका कारण मृत्यु निकट पुगेका भारतका राँगा भैंसी ट्रकका ट्रक नेपालमा ल्याएर खाने गरेका नेपालीहरुले छाडा छोडिदिएको अवस्थामा पाइने हो भने खाने गरेका नेपालीले दुहुने र पालिएका हट्टाकट्टा भैसीलाई मःमका  पारखी , उपभोक्ता मात्र नभई बिचौलियाहरुका कारण पनि क्षणभरमै भैंसीहरु गायब हुने थिए होलान् । त्यहि सोचेर केही वर्ष यता भैसीलाई भकारबाट बाहिर निस्कनपनि नदिएको होला । केही वर्ष अगाडी पोखरामा बिहान भकाराबाट फुकाईएका भैंसीहरु दुई–तीन घन्टाको अवधिमा पोखराबाट गाएव भएको चर्चा चल्ने गर्दथ्यो । त्यती समय अवधिमा पोखरा पार गरेर भैसीहरु गएनन् होला । गाइलाई हेला गर्ने पोख्रेलीहरुले कुकुरलाई भने निकै मान मर्यादा र माया गरि पाल्न थालेका छन् । अहिले पोखराका सडक, गल्ली जताततै कुकुरका बथानहरु देख्न पाइन्छन । सवारी साधन चलाउन पनि कुकुरको कारणले धेरैले असुविधा भइरहेको छ । त्यसमा पनि मोटरसाईकल चालकलाई जोगिएर हिँड्न मुस्किल परेको छ । तीव्र गतिमा बाइक चलाउदा कुकुरले बाटो ओगटेको कारणले दुर्घटना हुने प्रबल सम्भावना र सुस्त गतिमा चलाउँदा खेरी कुकुरले झम्टने क्रम उत्तिकै बढेर जान थालेकोले असुरक्षा माथि असुरक्षा बढेर गएको छ । महंगो मूल्यमा खरिद गरिएको कुकुरलाई सँगै खुवाउने र सुताउने गरिएको स्थिति एकातिर देखिएता पनि घर बाहिर खुला स्थानमा ल्याएर छोड्ने र मन लागेको बेलामा सडकमै आएर यात्रु बटुवा र मोटरबाइक चालकलाई झम्टने क्रम निकै बढेर गएको छ । त्यसमा पनि अझ साँझको बेलामा त घरको बरण्डामा कुकुरका बसेका हुन्छन् र सडकतिर झम्टनका लागि लागि तम्तयार अवस्थामा रहेका हुन्छन् । सडकका यात्रु वा बटुवालाई आतंकित पार्ने गरी कुकुर पालेका घरधनीहरुलाई जरिवानाको व्यावस्था नभएकोले पनि कुकुरको आतंक बढेर गएको । 

त्यतिभाँती माया ममता र आक्रमक हुने गरी पुल्पुल्याएर पालिएका कुकुरहरु को चर्पी भने सडक र गल्ली हुने गरेको छ । आफूले पालेको कुकुरलाई दिसापिसाब गराउन प्रायः घरधनीहरुले सडक, गल्ली र सार्वजनिक स्थानमा ल्याउने लैजाने गरेको देखिन्छ । बिहान सडक गल्लीमा मानिसहरु टहल्न जति निस्किएका हुन्छन् तिनीहरुमध्ये धेरैजसोले कुकुर पनि सँगै डो¥याएर वा खुला अवस्थामा ल्याएको देखिन्छ । यो अहिले फेसनको रुपमा देखिन थालेको छ । आफू विगतमा नेपाल सरकारको ठूलो अफिसर थिएँ भन्ने देखि स्वदेश तथा विदेशमा सेना र प्रहरीमा अधिकृत तहमा जागिर खाएर पेन्सन पकाएको शान दिनेहरु पनि कुकुरको नोकर भएर हिँडेको देखिन्छ । उनीहरूले एकातिर आफैंले कुकुर पालेको छु भनेर शान दिनको लागि पनि डराएर हिँड्नेगरेका हुन् भने अर्को कारण घरभित्र दिसापिसाब गराउँदा फोहर हुने वा त्यसलाई व्यवस्थापन गर्न झन्झट हुने सम्झेर सार्वजनिक स्थलमा कुकुरलाई ल्याउँदा त्यो झन्झटबाट मुक्त हुने भएकोले पनि सुसारेहरू ले सडकमा वा सार्वजनिक स्थल र स्थानमा ल्याउने गरेका हुन् । कुकुर पाल्नेहरु को कारणले छिमेकी घरधनीहरुलाई पनि आहत हुनु परिरहेको अवस्था पनि त्यति नै रहेको छ । छिमेकीको घरभित्र प्रवेश गरेर वा घरबाट छतमा गएर दिसापिसाब गरी छिमेकीलाई पनि कुत्ता पालकहरुले दुःख दिइरहेका छन् । भुस्याहा कुकुरहरुको संख्या पनि दिनप्रतिदिन वृद्धि भइरहेको पोखरा महानगरपालिकामा कुत्ता आतंक अझ बढेर गएको छ । मासुको लागि पालिएका र शिकार आरक्षणमा विदेशीहरुलाई निश्चित रकम शुल्क लगायत निश्चित जनावरको शिकार गर्ने प्रावधान बाहेक अन्य पशुपंक्षीलाइए मार्न नपाइने अन्तर्राष्ट्रिय सन्धिमा नेपालले हस्ताक्षर गरिसकेको छ । विगतमा विष खुवाएर मारिने गरिएका कुकुरहरुलाई अब मार्न पाइदैन त्यस्तै किसिमको खेती बारी मा प्रवेश गरी बालीनाली ध्वस्त बनाउँदै आएको वानर अहिले घरघरमा पसेर वितन्डा मच्चाउँदा पनि सहेर बस्नुपर्ने विवश अवस्था सिर्जना भएपछि कतिपय गुल्जार गाउँ बस्तीहरु त्याग्न त्यहाँका बासिन्दाहरु बाध्य भएका छन् । १५० थरीका हानिकारक किटाणुले युक्त कुकुरको दिसा पिसाबको कारण मानिसको स्वास्थ्य समेत जोखिममा परिरहेको छ । कुकुर बिक्रेता कम्पनीहरुले कुकुर पाल्नेहरुलाई पाल्ने तरिका ठ्याम्मै नसिकाएको कारणले पनि कुत्ता पालकहरुले जस्तै फोहोर र आतंकको अवस्था सिर्जना गरिरहेका छन् । पोखरा महानगरपालिकाले जहाँ पायो त्यही अर्थात् छिमेकीको घर परिसर गल्ली सडक र सार्वजनिक स्थानहरुमा दिसापिसाब गर्ने वा गराउने कुकुर धनीहरुलाई न्यूनतम १० हजार रुपीयाँ ठाउँको ठाउँ जरिवाना गर्ने व्यवस्था गर्नु आवश्यक देखिन्छ । यसतर्फ महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूको ध्यान जावस् । 

Post a Comment

0 Comments