लक्ष्मी को बास कहाँ हुन्छ ? कहाँ हुँदैन ?

वर्तमान युग धन प्रधान युग भएकोले सर्वत्र धन प्राप्तिको लागि यावत किसिमका प्रयासहरु भइरहेका छन् । सही वा गलत तौर तरिकाको सहाराले धन कमाउने प्रतिस्पर्धा चलिरहेको यस घडीमा गलत तौरतरिकाद्वारा आर्जित धनले यश र कीर्ति भन्दा बिकृति मात्रै ल्याउँदछ भने सही तरीका द्वारा आर्जित धनले यश र कृतिलाई अभिबृद्धि गर्दछ । कवि लेखनाथ पौडेलले भनेजस्तै– धनै छ सर्वोत्तम सार जे छ, सबै चिज धनभित्र लुकिरहेछ । तर अनरीत तवरले आर्जित धनले राष्ट्रलाई नै बिकृती र भ्रष्ट तर्फ लगिरहेकोले मेहनत र सही तरिकाबाट आर्जित धनलाई नै लक्ष्मी कृपाको रुपमा लिनु पर्दछ । मेहनत र सही तरिकाद्वारा कमाइएको धन गलत कार्यमा खर्चिएको पाइँदैन । किनकि आफ्नो पसिना र समथ्र्यकोे दुरुपयोग गर्न सकभर कसैले चाहँदैन ।

जस्तो हिंडडुल गर्न को लागि दुबै खुट्टा मजबुत हुनुपर्छ त्यस्तै धन सम्पत्ती आर्जन गर्न पनि दुई कुराको आवश्यकता पर्दछ  । एउटा परिश्रम र अर्को धनकी देवी लक्ष्मीको कृपा । लक्ष्मीको कृपा बिना आर्जित धन अस्थाइ हुन्छ भने, लक्ष्मीको बास भएको स्थितिमा त्यो धन स्थायी हुन्छ । परिश्रम गरेरै मात्र धन आर्जन हुने भए श्रमिकले जस्तो परिश्रम कसैले गर्दैन तसर्थ लक्ष्मीले बास नगरेको घरमा धन प्राप्ति हुँदैन भन्ने हाम्रा शास्त्रहरुले तय गरेको मान्यता छ ।

लक्ष्मीको बास कहाँ हुन्छ ?

– बोलीमा मिठास र मधुरता आफ्नो कार्यमा तत्पर, नरिसाउने, ईश्वरको भक्ति गर्ने, कृतज्ञ हुने, इन्द्रियालाई वशमा राख्न सकिने दयालुको घरमा लक्ष्मीले बास गर्दछिन्् ।

– सदाचारी, धर्मज्ञ, पितृ–मातृ भक्ति भावले युक्त, सेवाको भावना रहेको, पुण्य काममा तत्पर, क्षमाशील, दयावान, बुद्धिमान्, गुरूको सेवा गर्ने, व्यक्तिको घरमा लक्ष्मीले बास गर्दछिन् ।

–जसकी पत्नी शिलसम्पन्न छे, जुन घरलाई पशुपन्छीले मन पराउँछन्, जसको घरमा कलह झगडा हुँदैन उसको घरमा लक्ष्मीले बास गर्छिन् ।

–जसले अन्नको सम्मान गर्छ, घरमा आएको अतिथिको सत्कार गर्दछ उसको घरमा लक्ष्मीको बास हुन्छ ।

–जो व्यक्ति असत्य बोल्दैन, आफ्नो मनमा कुरा खेलाएर बस्दैन, घमण्ड गर्दैनन, जसले अरु प्रति प्रेम प्रदर्शित गर्दछ, जो अरूको दुःखमा दुःखी भएर सहयोग गर्दछ र परोपकारमा आनन्दको अनुभव गर्दछ उसको घरमा लक्ष्मीले बास गर्दछिन् ।

–जो नित्य स्नान गर्दछ, सुरुचीपूर्ण स्वच्छ वस्त्र धारण गर्दछ, शीघ्र भोजन गर्दछ, फूल नसुँगी देवतालाई चढाउँछ, जसले अन्य स्त्रीप्रति कुदृष्टि राख्दैन उसको घरमा लक्ष्मीको बास हुन्छ ।

–जो यथासम्भव गरिबलाई दान गर्दछ, शुद्ध र पवित्र रहीरहने गर्दछ उसको घरमा लक्ष्मीको बास हुन्छ । 

– अमलाको फल, गोबर, शंख, कमल र श्वेत वस्त्रमा लक्ष्मी सदैव रहन्छिन् ।

–घरमा नित्य उत्सव गर्ने, शिवको पूजा गर्ने, देवताको पूजा गर्ने, धुपबत्ती जलाउने, गुरुलाई ईश्वर मान्नेको घरमा लक्ष्मीको बास हुन्छ ।

–जुन स्त्रीले पतिको सेवा सम्मान ‌गर्दछिन्, उनको आज्ञाको उल्लंघन गर्दिनन्, घरमा सबैले भोजन गरिसकेपछि मात्र आफुले भोजन गर्दछिन्, ती स्त्रीका घरमा लक्ष्मीले बास गर्दछिन्् ।

–प्रसन्न चित्त, मधुरभाषी, सौभाग्यशाली, रुपवती, सुन्दर र सुरुचीपूर्ण बस्त्र धारण गर्दछिन्, प्रिय दर्शना र पत्नीव्रता स्त्रीका घरमा लक्ष्मीले बास गर्दछिन् ।

–जुन स्त्री सुन्दर, मृगको जस्तो नेत्र, पातलो कम्मर, सुन्दर केशले युक्त, श्रृङ्गार गर्ने, बिस्तारै हिड्ने र सुशील हुन्छिन् उनका घरमा लक्ष्मीले बास गर्दछिन् ।

–जसका स्त्रि सुन्दर र रुपवती हुन्छे, जसले थोरै भोजन गर्दछ, जसले पवित्र पर्वका दिनमा संभोग गर्दैन उसको घर निश्चित रुपमा लक्ष्मीको बास हुन्छ ।

–जुन व्यक्तिको अपवित्र रहँदैन, मैलो वस्त्र धारण गर्दैन, जसको शरीर दुर्घन्धयुक्त रहँदैन, चित्तमा चिन्ता र दुःख राख्दैन उसकोघरमा निश्चय नै लक्ष्मीको बास हुन्छ ।

– जो संयमी, स्थिर चित्त र मौन भएर भोजन गर्दछ उसका घरमा लक्ष्मीले बास गर्दछिन् ।

– जो व्यक्ति गयाधाम, कुरुक्षेत्र, कासीक्षेत्र अथवा कुनैपनि सागर संगममा स्नान गर्दछ त्यो जलमा अमला हालेर स्नान गर्दछ त्यो व्यक्ति लक्ष्मइीुक्त बनिरहन्छ ।

– जुन व्यक्तिले कुटिल आचरण गर्दैन, विनाकारण बारम्बार स्नान गर्दैन, सत्य र मधुर बाणी बोल्दछ उसका घरमा लक्ष्मीले बास गर्दछिन् ।

– जुन व्यक्ति देवता, साधु, ब्राह्मणमा आस्था राख्छ लक्ष्मी उसको घरमा सदैव निवास गर्छिन् ।

– जसले गलत आचरण गर्दैन, परस्त्रीसंग शारिरीक सम्पर्क गर्दैन अरुको धनमा लोभ गर्दैन, कुनै अनिष्टाको चिन्तन गर्दैन त्यो व्यक्ति लक्ष्मीप्रिय बनिरहन्छ ।

– जसको घरमा कमलगट्टाको माला एकाक्षी नारियाल, दक्षिणावर्ती शंख, पारद शिवलिङ्ग, स्वेतार्क गणपति हुन्छन् उसका घरका लक्ष्मीले बास गर्दछिन् ।

– जसको घरमा यज्ञ भइरहन्छ, जसका घरमा देवताहरुको पूजा भइरहन्छ, जुन घरमा विहान बेलुका आरती हुन्छ, जसले देवता र गाईको पूजा गर्छ उसको घरमा लक्ष्मीले बास गर्दछिन् ।

– जसका घरमा मन्त्रसिद्ध श्रइीन्त्र, कनकधारा यन्त्र, कुबेर यन्त्र स्थापित गरेको हुन्छ त्यो घरमा लक्ष्मीले कयौं पिडिसम्म निवास गर्दछिन् ।

– जो धर्म र नितीमा चल्ने हुन्छ, जो आफ्ना मातापितालाई  सम्मान गर्छ, जसको घर पुत्रको आवाजले गुञ्जायमान हुन्छ, जसको कन्याको सम्मान गर्छ उसका घरमा लक्ष्मीको बास हुन्छ ।

लेखकः संगिता श्रेष्ठ

Post a Comment

0 Comments