अधिकांश ग्राहकहरुलाई माना, पाथी, चौथाइ नापोका यी टिनका टोक्रा र पाथीहरु अवैध हुन् भन्ने पनि थाहा छैन ।
अहिलेको डिजिटल युगमा परम्परागत नापतौलका साधनहरु प्रचलनमा आइरहेको पाइनु सरोकारवालाको निरिहताको पराकाष्ट मानिन्छ ।
डोको र बोरामा दालजन्य गेडागुडी बोकेर डुलाउँदै व्यापार गर्ने घुमन्ते व्यापारीहरुले चौथाइ माना र कतिपयले आफूखुसीका पाथीहरु प्रयोग गर्दै आएका छन् । ग्राहकलाई ती परम्परागत शैलीका तर आफूले बनाएका मानापाथी को प्रयोग गरी गेडागुडी बेच्दै आएका छन् ।
पृथ्वीचोकस्थित हङकङ बजार नयाँबजार र पृथ्वीचोक को बीचमा रहेको पोखरा सस्तो बजारका विभिन्न पसलहरूमा माना र चौथाइले नापेर व्यापार गरेको देख्न सकिन्छ । सिद्धार्थ चोक स्थित श्री कम्प्लेक्समा पनि माना चौथाइ प्रयोग गरेर दालजन्य गेडागुडी, मरिच, टिमुर, लगायत वस्तुहरू बिक्री गरिरहेको देख्न सकिन्छ । नापतौल र गुणस्तर विभागले बजार राम्रोसँग अनुगमन नगरेको प्रमाणको रुपमा यसलाई लिन सकिन्छ । डिजिटल तराजुलाईअनिवार्य गराउन यस्ता खुल्ला बजारमा त नापतौल तथा गुणस्तर कार्यालय सक्षम हुँदैन भने अन्यत्र यसले के प्रभावकारी अनुगमन गरेको हुनसक्छ ?
स्वयं नापतौल कार्यालयका कर्मचारी र यावत् किसिमका उपभोक्तावादी नामधारी संघ–संस्थाहरुलाई यसको बारेमा जानकारी नभएको हैन । नापतौलका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी प्राय यी बजारहरुमा ग्राहकको रुपमा गईरहने गर्दछन् । देखेर पनि नदेखेको जस्तो गर्नाले उनीहरु प्रोत्साहित भईरहेका छन् । स्वयं ग्राहकहरु पनि मेट्रिक प्रणालीबाट जोखेर सामान किन्नुपर्नेमा माना र चौथाइ बाट खरिद गरी उल्टै ठगिइरहेका छन् । अधिकांश ग्राहकहरुलाई माना, पाथी, चौथाइ नापोका यी टिनका टोक्रा र पाथीहरु अवैध हुन् भन्ने पनि थाहा छैन ।
फुटपाथ र घुमन्ते व्यापारीहरुले चाइनिज काँटा प्रयोग गर्दै ग्राहकहरूलाई सिधै ठग्ने अर्को शृङ्खला सुरु भएको छ । नगरपालिकाले फुटपाथ व्यापारीलाई हटाएतापनि महेन्द्रपुल, पृथ्वीचोक लगायत का स्थानहरुमा फुटपाथे ब्यापारीहरूले व्यापार गरिरहेका छन् । नगर प्रहरी आएको थाहा पाएपछि नजिकैको घर पसल होटल मा छिरेर जोगिने र नगर प्रहरी सहितको गाडी हिँडेपछि पुनः फुटपाथमा बसी फलफूल र तरकारीको विक्री गर्दछन् । तिनीहरूले जोख्नको लागि चाइनिज काँटा प्रयोग गर्दै आएका छन् । कोखामा डोको भिरेर सस्तो मूल्यमा दिएको भन्दै ग्राहकलाई फलफूल भिडाउने गर्दछन् । एक किलो फलफूललाई अन्यत्रको भन्दा सस्तो मूल्यमा दिएको प्रचार गरेर बिक्री गर्ने यी व्यापारी हरुले प्रत्येक किलोमा २०० ग्राम ठगिरहेका हुन्छन् । चाइनिज काँटाले जोख्दा एक किलो देखिने तर त्यसलाई डिजिटल तराजुमा जोड्दा ८०० ग्रामभन्दा बढी नहुने पाइएको छ । बजारतिर गएर किन्नु भन्दा हिंड्दा हिंड्दै बाटोमा पाइएपछि र केही सस्तो मानेपछि कैयौँले यी फुटपाथे डोके व्यापारी संग किन्ने गर्दछन् ।
Machhapuchhre News बाट साभार
लेखकः पदम रेग्मी

0 Comments