डा. राधेश्याम कायस्थ पोखराका एक चर्चित शिक्षाविद् हुन् । जसका लाखौं शिष्य छन् जो वैज्ञानिक, डाक्टर, इन्जिनियर आदि बनेका छन् । उनले धेरै विद्यार्थीहरुको आँखा खोलेर नवजीवन प्रदान गरे । जीवनमा हर्ष र उमङ्ग थपे । उनले थोरै लिए तर अरुलाई धेरै दिए । एक कर्तव्यनिष्ठ, लगनशील, इमान्दार प्राध्यापकको रुपमा परिचित डा. कायस्थले लगातार ३७ वर्षसम्म पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरे । उनले पृथ्वीनारायण क्याम्पसमा पु¥याएको दीर्घकालीन शैक्षिक सेवा सबैका लागि अनुकरणीय र प्रेरणादायी छ । पहिलो पटक एम.एस.सी. पास गर्ने भाग्यमानी पोखरेलीमा गनिन्छन् डा. कायस्थ । उनलाई राजधानीका विभिन्न निकायले आकर्षक पद र तलब दिएर काठमाण्डौ तान्न खोजे तर कायस्थ सरलाई यही पृथ्वीनारायण क्याम्पस र पोखरेली विद्यार्थी प्यारो लाग्यो ।
डा. कायस्थका स्वदेश तथा विदेशमा लाखौं विद्यार्थीहरु जहाँ गए पनि उनले छात्रछात्राबाट आत्मीयता र सहयोग पाउने गरेका छन् । आफ्ना छात्र–छात्रालाई देखेर डा. कायस्थलाई आत्मसन्तुष्टि र गौरवको अनुभव हुन्छ । डा. कायस्थ यस वेला दङ्ग पर्दै सोच्छन्– मैले पैसा नकमाएर के भो यत्रा डाक्टर, इन्जिनियर, वैज्ञानिक जन्माएको छु । यिनीहरु नै मेरा बहुमूल्य सम्पत्ति हुन्, सन्तान हुन् ।
डा. कायस्थको विचारमा विकास भनेकै शिक्षा हो । शिक्षा नै विकासकोे मूल आधार हो । दक्ष जनशक्तिविना कुनै पनि मुलुकले विकास गरेका पनि छैनन् र गर्न पनि सक्दैनन् । राष्ट्र निर्माणको लागि दक्ष जनशक्ति चाहिन्छ । अमेरिका जस्तो सम्पन्नशाली मुलुकका लागि सधैं दक्ष जनशक्तिको खाँचो पर्छ भने हाम्रो जस्तो अबिकशित मुलुकको के कुरा ? अमेरिका, क्यानडा जस्ता मुलुकले अन्यत्रबाट दक्ष जनशक्ति मगाउँछन् र देशलाई झनै प्रगतिको बाटोमा लम्काउँछन् ।
डा. राधेश्याम कायस्थको विचारमा दक्ष जनशक्ति तयार पार्नु मात्र शिक्षाको लक्ष्य होइन, एउटा सभ्य, शिष्ट, इमान्दार, कर्तव्यनिष्ठ, कर्मयोगी नागरिक तयार पार्नु शिक्षाको मूल मर्म हो । वास्तवमा यस्ता नागरिकले जहाँ गए पनि विकास गर्छ । अन्यथा विनाश । समाज विनाश हुनुको पछाडि मान्छेका चरित्रहीन जीवनशैली जिम्मेवार हुन्छ । त्यसकारण शिक्षाले मान्छेलाई विनाश र विध्वंस हुनबाट जोगाउनुपर्छ ।
डा. कायस्थको विचारमा शिक्षा रचना हो, सिर्जना हो । अर्को शब्दमा भन्नुपर्दा मस्तिष्कको उपयोगिता । शिक्षा कसैले कसैलाई दिने पनि होइन । शिक्षा आफ्नो क्षमतालाई चिन्ने अवसर मात्र हो । शिक्षा सवैका लागि जन्मजात अधिकार हो । नजानेकालाई जान्न लगाउने, बाटो नदेखेकालाई बाटो देखाउने एउटा मार्ग मात्र हो– शिक्षा ।
डा. राधेश्याम कायस्थको विचारमा घर जाने ढोका देखाइदिए कोही व्यक्ति पनि झ्यालबाट पस्दैन । घरभित्र छिर्न झ्याल सजिलो हुँदैन । हरेक उपाय वा समस्याको समाधान हो– शिक्षा । यस धर्तीमा हर समस्याको समाधान छ । वास्तवमा समस्या समाधान गर्ने प्रक्रिया भनेकै शिक्षा हो । शिक्षा (ज्ञानको) अभाव हुनु भनेको समस्यामा अल्झिरहनु हो । समस्याबाट मुक्त हुनु शिक्षा हो । बन्धनमा अल्मलिनु अज्ञानता हो, दुःख हो ।
डा. कायस्थको विचारमा भगवान् श्रीकृष्ण, बुद्ध, महावीर आदि महापुरुष ठूला र महान् शिक्षक हुन् । उनीहरुले एकै पटक लाखौं, करोडौं मानिसलाई शिक्षा दिए । बुद्धले भने– संसारमा दुःख छ । हरेक मानिस दुःखी छन् । दुःखको कारण पनि छ र हटाउने उपाय पनि । जहाँ दुःख हुन्छ त्यहाँ केही कारण हुन्छ । सम्भवत दुःख नाश गर्ने उपाय पनि यस्तै असल शिक्षा हो र हुनुपर्छ ।
डा. कायस्थ छात्रछात्राहरुका सधैं प्रिय बने, उनले कहिल्यै इमान्दारिता र कर्तव्यपरायणता बिर्सेनन् । अरुका नजरबाट कहिल्यै अपमानित बन्नु परेन डा. कायस्थ । किनकी उनले मर्यादाको लक्ष्मणरेखा कहिल्यै तोडेनन् । कायस्थ सरको विचारमा लक्ष्मणरेखा तोड्ने काम सीताले गर्नु हुँदैनथ्यो । सायद सीताले लक्ष्मणरेखा ननाघेको भए रामायणको युद्ध हुने थिएन । रामायण लेखिने पनि थिएन ।
डा. कायस्थको विचारमा कुनै विषयमा जान्नु, ज्ञान हासिल गर्नु शिक्षा हो । आगोले पोल्छ भनेर थाहा पाउनु नै शिक्षा हो । जब कुनै अबोध बालक आगोमा हात राख्न जान्छ उसलाइ यो थाहा हुँदैन कि आगाले पोल्छ । जुन दिन उलाई यो ज्ञान हुन्छ– आगाले पोल्छ । त्यस दिनदेखि ऊ आगोबाट बच्न खोज्छ । यही नै प्राकृतिक शिक्षा हो । व्यावहारिक शिक्षा हो । मान्छेलाई यस्तै व्यावहारिक शिक्षा दिनुपर्छ ।
डा. कायस्थको भनाइअनुसार हावा, पानी, आगो, माटो र आकाशको शक्तिबारे अर्थात् पञ्चतत्वको ज्ञान दिन सकियो भने धेरै विश्वविद्यालय खोल्नु पर्दैन । यी पञ्चतत्वको ज्ञान हुनासाथ मान्छेले आफ्नो क्षमतालाई चिन्न सक्छ र समाजका हरेक समस्या समाधान गर्न सक्दछ । डा. कायस्थको विचरामा आफूभन्दा पनि ज्ञानवान विद्यार्थी तयार गर्नु नै शिक्षकको सफलता हो ।
डा. राधेश्याम कायस्थको जन्म पचभैयामा वि.सं. २००० साल कार्तिक ६ गते भएको थियो । माता ज्ञानकुमारी र पिता भैरवलाल कायस्थका कान्छा सुपुत्र डा. कायस्थ सानै उमेरदेखि मेधावी र लगनशील स्वभावका थिए । बाबु–आमा यिनको स्वभाव र बानी–व्यहोरा देखेर खुसी भई राधेश्यामलाई पढाउनुपर्छ भनेर घर–व्यवहारको काम गर्न दिँदैनथे । २०१५ सालमा एसएलसी पास गरेपछि २०१६ सालबाटै डा. कायस्थ पढ्नका लागि काठमाडौं गए । छुट्टीको समयमा पोखरा फर्कंदा पढाउने काम पनि गरे । उनले २०२६ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी पास गरे र २०२६ सालमै पृथ्वीनारायण कलेजमा प्राध्यापक बने । डा. राधेश्याम कायस्थ काठमाडौंबाट अनेकौं लोभलाग्दा तलब र पदलाई पन्छाउँदै पोखरामा पढाउन थाल्छन् । उनी पढाउन पाउँदा बडो आनन्दित बन्दथे । उनको यही बानीका कारण पृथ्वीनारायण कलेज र क्याम्पसमा आफ्ना दिनहरु सकिएको चालै पाएनन् । लगातार ३७ वर्षसम्म पढाए। रिटायर्ड भई घर फर्कन्छन् ।
पृथ्वीनारायण कलेजमा पढाउँदा उनले कक्षा कोठामा चक र डस्टर लिएर जानुको अलावा सहायक क्याम्पस प्रमुख (२०३२–२०३८), विभागीय प्रमुख बोटनी र वायोलोजी (२०३०–२०६१), परीक्षा प्रमुख (२०३०–२०३५) आदि जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दछन् । उनको लगनशीलता र इमान्दारिताका कारण पदीय दायित्व निर्वाह गर्न सफल हुन्छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कतिपय काममा डा. कायस्थलाई जिम्मेवारी थपिन्छ । त्रि.वि. बोटनी बोर्डको सदस्य (सन् १९९६–२०००) बनाइन्छ । उनले यस्ता जिम्मेवारीलाई सहजता र सहर्षतापूर्वक निर्वाह गर्छन् । डा. कायस्थ पृथ्वीनारायण क्याम्पस विकास समितिका सदस्य, प्रस्तावित पृथ्वीनारायण विश्वविद्यालयका सदस्य बन्न पुग्छन् ।
डा. राधेश्यामले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका, म्यागजिनहरुमा विज्ञान र प्रविधिसम्बन्धी दर्जानौं लेख छपाउन भ्याए । उनका २ पुस्तक प्रकाशित छन् भने १५ भन्दा बढि प्रोजेक्ट वर्क छन् । उनले त्रिभुवन विश्वविद्यालय पि.एच.डि. परिक्षाको जाँच गर्ने समेत गरे । सन् १९९८ मा एउटा संस्थाले डा. कायस्थलाई ःबल या तजभ थ्भबच बाट सम्मान प्रदान गरिन्छ ।
डा. कायस्थले माउण्ट अन्नपूर्ण क्याम्पसको क्याम्पस प्रमुख पद ग्रहण गर्दछन् (२०४९–२०५७) सम्म । निजी उमावि संघका अध्यक्ष समेत रहेका कायस्थ न्यू ग्यालेक्सी उच्च माध्यमिक विद्यालयका पूर्व प्राचार्य पनि हुन् ।
डा. राधेश्याम कायस्थले विभिन्न संघ–सस्थामा बसेर सेवा गर्ने मौका पाए । नेपाल प्राध्यापक संघ पृथ्वीनारायण कलेज एकाईका सचिव भएर सेवा गरिसकेको अनुभव छ । २०३० सालबाट २०३९ सालसम्म गण्डकी बोर्डिङ स्कूल व्यवस्थापन समितिको सदस्य भई सेवा गरेका डा. कायस्थ पोखरा युनेस्को क्लबका पूर्व अध्यक्ष पनि हुन् । उनी पोखरा विश्वविद्यालय सभासदमा नियुक्त भएका थिए ०६५ सालमा । उनले राष्ट्रय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन, गोष्ठीमा सहभागिता जनाएका छन् । पोखरा विश्वविद्यालयबाट डा. कायस्थलाई वरिष्ठ वनस्पतिशास्त्री प्राध्यापकको रुपमा सम्मानित समेत गरिएको थियो । उनका जीवनमा आधारित कायस्थ सर भन्ने पुस्तक प्रकाशित गरिएको छ ।
डा. राधेश्याम कायस्थ विभिन्न मानपदवी र सम्मानबाट सम्मानित भएका छन् । उनी महेन्द्र विद्याभूषण ‘क’ बाट सम्मानित छन् भने त्रिविबाट दीर्घसेवा पदक पाउन सफल । दोभान प्रतिभा सम्मान, विशिष्ट नागरिक सम्मान, नागरिक सम्मान २०६३, जोर्ज जोन प्रतिष्ठानबाट पनि उनी सम्मानित भए । आदि दर्जनौं पदकबाट विभूषित छन् डा. कायस्थ । डा. राधेश्याम कायस्थका सहयात्री पुराना प्राध्यापक रामगोपाल ढेवाजूको विचारमा विज्ञानको शिक्षा क्षेत्रमा डा. राधेश्याम कायस्थको अतुलनीय योगदान रहेको छ । चार दशकभन्दा लामो शैक्षिक योगदान समाजका लागि रचनात्मक र उपयोगी छन् । माउण्ट अन्नपूर्ण क्याम्पसको स्थापना, संरक्षण र सम्र्बनमा उनले महत्वपूर्ण भूमिका खेलेका छन् । ढेवाजूको विचार विज्ञान शिक्षालाई लोकप्रिय र माथि उठाउन डा. कायस्थ सरले खेलेको भूमिका अत्यन्त प्रशंसनीय छ ।
डा. राधेश्याम कायस्थ २०२३ सालतिर लक्ष्मीदेवीसँग वैवाहिक सम्बन्ध गाँस्न पुग्छन् । उनीहरुका दुई सुपुत्र र एक सुपुत्री छन् । हाल उनीहरुका थुप्रै नाति नातिनाहरु पनि छन् ।
२०३० साल अघि पृथ्वीनारायण कलेजले रमाइलो मेलाको आयोजना गथ्र्यो । मेलामा डा. राधेश्याम कायस्थ सर पनि खट्ने गर्दथे । हाल पनि उनी शिक्षाकै विकासमा क्रियाशिल छन् ।
पुस्तकको नामः व्यक्ति र व्यक्तित्व
लेखकको नामः रवीन्द्र माकाजू
ठेगानाः मालेपाटन, पोखरा
फोनः ९८१७१०७६२५
प्रकाशनः २०७७ आषाढ
पुस्तक डिजाइनः कृष्ण कम्प्युटर
(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।)
धन्यवाद !!!

0 Comments