पोखराका अग्रज समाजसेवी र समाज सुधारक हुन् खरिलाल विश्वकर्मा । उनी प्राय विश्व हिन्दु महासंघका हरेक धार्मिक गतिविधीमा संलग्न हुन्छन् । उनलाई प्राय मञ्चमा देख्न पाइन्छ । उनी सामाजिक समसरताका पक्षधर हुन् । उनीसँग मेरो पुरानो परिचय हो । मैले जानेबुझेअनुसार उनलाई समाजसेवामा प्रेरित गर्ने व्यक्ति हुन्– कथावाचक स्व.पं. नारायणप्रसाद पोख्रेल । जहाँसुकै महायज्ञ हुँदा पनि खरिलाललाई केही सहयोग गर्न अपील गर्दथे अनि खरिलालले मन फुकाएर सहयोग गर्दथे । यसरी सहयोग गर्दा खरिलालको हृदय पग्लन्थ्यो । मन खुसी हुन्थ्यो । दान गर्दा खरिलालले अनुभूति गरे मान्छे आफ्नो लागि मात्र नभएर अरुका लागि बाँच्न सक्नु महत्वपूर्ण पक्ष रहेछ । पण्डित पोख्रलसँग सामाजिक समरसताको ज्ञान सिके । उनले करोडौं मूल्य पर्ने पोखराको करिव ३ रोपनी जग्गा कुष्ठरोगीहरुका सेवाका लागि दान गरे । अहिले पनि उनी त्यही दानको, सत्मार्गको बाटोमा लम्किरहेका छन् । सँधै सहयोगको हात फैलाईरहेका छन् ।
समाजसेवी खरिलाल पर्वत जिल्ला, हालको कुस्मा नगरपालिकामा, वडा नं. ७ मा वि.सं. १९९३ चैत्र २८ गते जन्मेका थिए । पुख्यौली पेशा सुन चाँदी व्यवसाय सञ्चालनका क्रममा २०१६ साल पोखरा झरेका खरिलाल हाल पोखरा महानगरपालिका वडा नं. १५ रामबजार बसोबास गर्दछन् । उनका दुई सुपुत्र र चार सुपुत्री छन् । दुई सुपत्र अर्जनु कुमार र बाबुराम हुन् भने सुपुत्रीहरूमा सीता, गीता, रीता र बबिता । हाल उनका १२ जना नाती नातिना छन् भने एक पनाती छन् ।
पिता रामलाल सुनार (विश्वकर्मा) २००७ सालका प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका नेता भएकाले राजनैतिक वातावरणमा हुर्केका खरिलालमा त्यसको प्रभाव पर्नु स्वभाविक थियो । पिता रामलाल समाजसेवामा निकै रुची राख्दथे । समाजलाई आवश्यक पर्ने विकास निर्माणका कार्यहरुमा जन सहयोग जुटाएर काम गर्ने गर्दथे । उनी समाजको सुख–दुःखमा अभिन्न मित्र बनेर सहयोग गर्दथे । यस्तै माता कौशिला हक्की स्वभावको हुँदा छुवाछुत विरुद्ध बोल्ने गर्नु हुँदा त्यसको प्रभाव पनि उहाँमा पर्न गयो । त्यसबेला दलितहरुलाई कुवाको पानी छुन दिइदैनथ्यो । माता कौशिलाले दलितहरुलाई संगठित गरेर पानी थाप्न पाउनुपर्छ भन्ने आवाज उठाए । त्यो आवाजले सकार रुप लियो र दलितहरुले पनि पालोपूर्वा पानी खान पाउने अधिकार पाए । यो घटनाले उनको मनमा गहिरो प्रभाव प¥यो । बाल्यावस्थादेखि नै अनुशासित एवं संघर्षशील स्वभावका खरिलालको मनमा छुवाछुत अन्त्यका लागि केही गर्नुपर्छ भन्ने भावना विकसित भयो । फलस्वरूप २०२२ सालतिरबाट पोखरामा दलित उत्थानका लागि संगठित रूपमा आवाज उठाउन थाले । जुन क्रम आजसम्म पनि जारी छ । आध्यात्मिक मार्गबाट जातीय छुवाछुतको अन्त्य गरी समुन्नत एवं समतामूलक समाज निर्माणका लागि पण्डित पोखरेलले थालनी गरेको आध्यात्मिक एवं सामाजिक जागरण अभियानले खरिलाललाई दलित उत्थानको आन्दोलनमा सञ्जिवनी प्रदान ग¥यो । पण्डित पोखरेलले विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय दलित उत्थान समन्वय समिति गठन गरी खरिलाललाई केन्द्रीय अध्यक्षको जिम्मेवारी सुम्पिदिए । उनले निजी खर्चले धेरै कार्य गरे । पण्डित पोखरेलको सदिच्छा बमोजिम खरिलालले हिन्दू धर्मको सम्वद्र्धन एवं दलित उत्थानमा संस्थागत रूपमा योगदान दिए । पुख्र्यौली व्यवसायबाट विश्राम लिएर हाल दलित उत्थान, समाजसेवा, राजनीति र धार्मिक संस्थाहरूमा उनी आवद्ध छन् । सामाजिक भेदभावबाट पीडित दलितहरूलाई स–सम्मान धार्मिक यज्ञहरूमा प्रवेश गराई जातीय विभेद र हीनताबोध मुक्त गर्ने कार्यमा पण्डित पोखरेलबाट खरिलाललाई हमेशा प्रोत्साहन मिल्यो । जसले गर्दा खरिलाललाई विभिन्न ठाउँका मन्दिरको शिलान्यास र उद्घाटन गर्ने अवशर जुरिरहेको छ । पण्डित पोखरेलको हत्याबाट मर्माहत खरिलाल दलित आन्दोलनमा ठूलो धक्का लागेको महशुस गर्न अहिले पनि पछि पर्दैनन् ।
सकारात्मक सोच र नम्र बोली भएका विश्वकर्माको मनमा कुनै अहंकार छैन । दीनदुःखीको सेवामा सन्तोषको अनुभव गर्ने, स्कूल, क्याम्पस, मठमन्दिर, असहाय केन्द्र शैक्षिक, धार्मिक एवं सामाजिक संस्थाहरूलाई उदारतापूर्वक नगद तथा जग्गा दान गर्दै आएका खरिलाल पोखरामा दानवीरका रूपमा परिचित छन् । खरिलाल नेपाल रेडक्रस सोसाइटी, नेपाली काँग्रेस, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, सनातन धर्म सेवा समिति लगायत धेरै संस्थामा आजीवन सदस्य छन् भने थुप्रै संस्थामा सल्लाहकार ।
एकदिन उनी कुष्ठरोग निवारण संघ कास्कीको कार्यक्रममा टुटुंगा पुगेका थिए । कुष्ठरोगीहरु देखेर उनको मन पग्लियो । उनले सोचे– मैले यीनीहरुको लागि केही गर्नुपर्छ । संघका पदाधिकारीहरुसंग कुरा गर्दा यीनीहरुलाई बसोबासको निम्ती जमिन पुगेन अलिकति जमिन भईदिए हुन्थ्यो । खरिलालले सोचे म पनि केही गर्न सक्छु भन्दै आश्रमसंग जोडिएको आफ्नो नीजी जमिन दान गर्ने विचार गरेर दान गरे । करिब ३ रोपनी जग्गा संघको नाममा निःशुल्क पास गरिदिए । यसरी ठूलो छाती देखाएकोले पोखरेलीहरुले उनलाई दानवीरको रुपमा लिने गर्दछन् । उनी भन्दछन्– यो सबै परमात्माको कृपाले संभव भएको हो । परमात्माको थियो परमात्माले देऊ भन्यो । म त निमित्त मात्र हुँ ।
कुष्ठरोगीहरूको बसोबासका लागि पोखरा १५ टुटुङ्गामा निःशुल्क ३ रोपनी जमीन (करोडौं मूल्य बराबरको) दानस्वरुप उपलब्ध गराई महत्वपूर्ण मानवीय सहयोग पुयाएका खरिलाललाई नेपाल कुष्ठरोग निवारण संघ केन्द्रीय समितिले यशस्कर सदस्यता प्रदान गयो । खरिलालले बिश्वकर्मा मन्दिर रामबजारका लागि १ लाख १ रूपैयाँको अक्षयकोष स्थापना गरेका छन् । त्यस्तै बिश्वकर्मा समाजलाई १ लाख ५ हजार चन्दा दिए । नारायण उ.मा.वि., कुश्माको लागि १ लाख ११ हजार १ सय ११ दान दिए । बिन्ध्यवासिनी महायज्ञमा ५० हजार समर्पण गरे । गलेश्वर मन्दिरमा पनि ठूलो रकम दान दिए । दलित उत्थानमा पु¥याउनु भएको उल्लेखनीय योगदानको कदरस्वरूप भारतस्थित दलित साहित्य एकेडेमीबाट अन्तर्राष्ट्रिय स्तरको डा. अम्बेडकर अवार्ड 2004 बाट विभूषित खरिलालले जनप्रिय उ.मा.वि.मा २ जना दलित छात्रालाई छात्रवृत्ति प्रदान गरेका छन् । कोमल हृदयका खरिलालकहाँ औषधि खर्च नभएका अशक्त, गरीबहरू सहयोग माग्न आउँछन् । घरमा आएका कसैलाई रित्तो हात फर्काउँदैनन् । यसरी नै Gunijan Mission Award 2010 बाट सम्मानित खरिलाललाई उनीे सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप सनातन धर्म सेवा समिति कास्कीले २०६० सालमा सार्वजनिक अभिनन्दन समेत गर्यो। विभिन्न संघसंस्थाले सामाजिक विकासमा पु¥याएको निःस्वार्थ एवं उल्लेखनीय योगदान कारण थुप्रै नागरिक अभिनन्दन, सम्मान तथा कदरपत्र प्राप्त गर्न सफल छन् समाजसेवी खरिलाल ।
खरिलालले दलित उत्थानमा पु¥याउनुभएको योगदान इतिहासमा चिरस्मरणीय रहिरहनेछ । विश्वास छ, खरिलालजस्ता दलित आन्दोलनका अगुवा समाजमा सधैं प्रेरणा श्रोत बन्नेछन् । डा. भीमराव अम्बेडकर राष्ट्रिय गौरब सम्मान प्राप्त गरेका खरिलालले नेपाल प्रजातन्त्र सेनानी संघ बाट सम्मान–पत्र पनि प्राप्त गरेका हुन् । त्यस्तै सुनचादी व्यवसायी संघ कास्कीबाट सम्मानपत्र पाएका छन् । बिश्वकर्मा सेवा समिति भरतपुरले विश्वकर्मा सर्वोदय मन्दिरको शिल्यान्यास एवम् उद्घाटन गरेकाले विशेष सम्मान स्वरूप ताम्रपत्रद्वारा सम्मान प्रदान ग¥यो । उनको जीवनको एउटै लक्ष्य छ– म जीवनभर यसरी नै समाजको सेवा गर्न पाऊँ ।
पुस्तकको नामः व्यक्ति र व्यक्तित्व
लेखकको नामः रवीन्द्र माकाजू
ठेगानाः मालेपाटन, पोखरा
फोनः ९८१७१०७६२५
प्रकाशनः २०७७ आषाढ
पुस्तक डिजाइनः कृष्ण कम्प्युटर
(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।)
धन्यवाद !!!



0 Comments