पोखराका अग्रज धार्मिक एवं समाजसेवी व्यक्तित्व हुन्–नायव सुवेदार विलबहादुर गुरुङ । जसले बौद्ध अर्घाैं सदनको परिकल्पना गरे । आज बौद्ध अर्घाैं सदन गुरुङ जातिका मात्र नभएर अन्य जातजातिका लागि श्रद्धा केन्द्र बनेको छ । २०६१ सालपछि पोखरमा सामूहिक बुद्ध जयन्ती मनाउन समारोह समितिको गठनको लागि होस वा विश्वशान्ति स्तूपा निर्माणका अतिरिक्त अनेकौं संघ संस्थामा बिलबहादुरजीले खेल्नुभएको भूमिका प्रशंसनीय छ, वन्दनीय छ ।
धर्माेदय सभा कास्कीका संस्थापक अध्यक्ष ना.सु. गुरुङको जन्म स्याङ्जा जिल्लाको उत्तरी भेग (माछापुच्छे हिमश्रृङखला र मनोहर पञ्चासेको काँख) तत्कालिन पश्चिम ४ नम्बर स्याङ्जा (नुवाकोट) रंगुवा बाँगे नयाँगाउँ मध्ये पुछारा ठाडागाउँ, सिरानघरे मौजा बाँगे फड्के पुछारा ठाडा गाउँ वडा नं. ७ (हाल फेदीखोला गाउँपालिका–५) मा भएको थियो । पिता धनकाजी र माता लिलकुमारीको कोखबाट जेष्ठ सन्तानको रूपमा वि.सं. १९९० साल साउन ४ गते बुधबार (सन् ज्ञढघघ जुलाई ज्ञढ) जन्मिएका विलबहादुर ‘हुने विरुवाको चिल्लो पात’ भने झैं बाल्यकाल देखि नै थिए – शान्त, अनुशासित र धार्मिक स्वभावका । राणाकालीन अवस्थामा गाउँ–घरमा विद्यालय नहुँदा वालवालिकाहरू पशु चराउने, घाँसपात खोज्ने, बाँदर धपाउने जस्ता काम गर्नु पर्दथ्यो ।
मैले जानेबुझे अनुसार हाम्रो ४ पुस्तासम्म एउटै छोरा जन्मने गर्दथ्यो । त्यसबेला ठूल्ठूला युद्ध र विश्वयुद्ध हुने गर्दथ्यो । मेरा पिताश्री धनकाजी गुरुङलाई वि.सं. १९८४ शालमा इन्डियन ब्रिटिस सेनामा छँदा हजुरमुमाले भावी सन्तानको मुख हेर्ने रहरका कारण जागिर छोड्न विवश पारेका रहेछन् । आफू बृद्धा अवस्थामा रहेको र अविवाहित छोरा युद्धमा परे सन्तानको मुख हेर्न नपाईएला भन्ने डरले हजुरआमाले बुबालाई आर्मीबाट नाम काटेर आउन आदेश दिए । नोकरी छाडी घर फर्कने वित्तिकै बुबाको विवाह गरिदिए । विवाह गरेको एक बर्ष पछि पहिलो सन्तानको रूपमा मेरो जन्म हुँदा हजुरआमालाई हर्षको सिमा नै भएन । हजुर आमाले दिनरात आफ्नै काखीमा राखी मलाई हुर्काउनु भयो । यसरी मेरो बाल्यकाल संघर्षपूर्वक भनौ या आनन्दपूर्वक हुर्केको थियो । पछि भाइबहिनीहरू थपिए । ती पुराना दिन संझदै उनले भने– त्यस बेलाको जनजीवन कृषिपेशा, पशुपालनमा निर्भर हुनुपर्दथ्यो । हजुरवुवा सारै मेहनती हुनुहुन्थ्यो । विहान ३ बजे उठेर चौपायाको सेवा गर्ने धाँस काट्ने गर्नुहुन्थ्यो । हामी उनीसंगै काम गर्ने गर्दथ्यौं । हाम्रो काम थियो–पानी बोक्ने, विस्कुन सुमाउने, भेँडा चराउने आदि । त्यसबेला गृहस्थ जीवन अति नै व्यस्त हुने गर्दथ्यो । घरका सबै परिवार घरधन्दामा व्यस्त हुन्थे । २ बर्षको बच्चादेखि ८० बर्षसम्मका बृद्ध बृद्धाहरु घर गृहस्थका काममा सक्रिय हुन्थे । उनीहरु अन्न सुकाउने, उठाउने गर्दथे । सक्नेहरु खेतबारीमा जान्थे । बृद्धबृद्धा घर कुर्ने काम गर्दथे । हजुरवुवाको मेहनती, परिश्रमी स्वभावका कारण हामीमा पनि मेहनत, परिश्रम गर्नुपर्छ भन्ने भावना म मा वाल्यावस्थाबाट नै जागृत भयो ।
म ८/१० बर्षको हुँदा मेरो पढाईको चिन्ता लागेर बुबा धनकाजीले मुखिया धनबहादुर गुरुङ र अन्य अग्रजसँग सरसल्लाह गरी गुरुजनको खोजी गरे । बुवा धनकाजी आफुले सैनिक जीवन विताउँदा पढाइको कारणले अप्ठेरो महसुस गर्नुपरेको अनुभव हामीलाई सुनाउने गर्नुहुन्थ्यो । लेखापढी गर्न नजान्दा उनीको जीवनमा निकै अप्थ्यारो भोग्नुपरेको दुःखेसो परिवारलाई सँधै सुनाउनुहुन्थ्यो । उनी चाहनुहुन्थ्यो सन्तान शिक्षित बनुन् । शिक्षाको ज्योति कसरी फैलाउने भन्ने चिन्ता उनीको मनमा थियो । सौभाग्यवश छिमेकी गाउँ लौसीबोटका पंडित भवदत्त शर्मा जो भर्खरै बनारसमा पढेर घर फर्केको थाहा पाई पिताजीले उनीसँग मनका कथा व्यथा पोखे । पंडितले वच्चाहरूलाई आफ्नो घरमा पढाइदिने आश्वासन दिए तर गण्यमान्यसँगको सरसल्लाह अनुरूप सन्तानको उचित शिक्षा–दीक्षाका लागि घरमै व्यवस्था मिलाउँदा उपयुक्त हुने निर्णयमा सबै सहमत भए । किनभने पण्डितको घर ५ कि.मी. टाढा थियो । जहाँ बच्चाहरुलाई खोलानाला तर्न गाह्रो हुन्थ्यो । बरु पण्डितलाई गाउँमा राखेर उनका निम्ति खाने, पिउन र बस्ने व्यवस्था मिलाइयो । त्यसबेला सालमा ६ महिना मात्रै पढाइ हुन्थ्यो । मंसिर, पुस, माघ र साउन, भदौ, असोज । फागुनबाट बारी जोत्ने, मल ओसार्ने जस्ता काम हुने हुँदा पढाइ रोकिन्थ्यो । त्यसबेला छोरीहरुलाई पढाउने चलन थिएन । काठको पार्टीलाई अंगार पिसेर खरी ढुँगाले लेख्ने गर्नुपर्दथ्यो । बनारसबाट ठूलो बर्णमाला मगाइन्थ्यो । वि.सं. २००२ साल मंसिरबाट आफ्नै घरको धनसारमा गुरुबाट क, खरा चिन्ने मौका पाएका जमदार विलबहादुरका अनुसार – त्यसबेला छात्रहरुले प्रतिमहिना रु. दुई नगद र दुई माना चामल गुरुभेटी तिर्नुपदथ्र्यो । विद्यार्थीहरूलाई कठोर अनुशासनमा राखी विहान १० बजेबाट साँझ ५ बजेसम्म गुरुले पढाउनु हुन्थ्यो । त्यसबेला किताव, कापी, वेञ्चको सुविधा थिएन । चकटी, बोरामा बसेर काठको पाटीमा खरी ढुङ्गाले लेख्नु पर्दथ्यो । ठूलो वर्णमाला कण्ठ पार्ने चलन थियो । त्यसबेला दाउरा बटुलेर गुरुको घरमा विद्यार्थीहरुले पु¥याउने चलन थियो । भवदत्त गुरुले राइला गुरुलाई सहयोगीको रूपमा थप्नु भयो । लगातार साँढे तीन बर्ष अध्ययन गरेपछि दुर्गा कवच पढ्न, जोड घटाऊ गर्नुका साथै तमसुक आदि लेख्न सिपालु पनि भए विलबहादुर ।
वि.सं. २००५ साल चैत्र २० गते बुटवल–भैरहवा जङ्गलको बाटो हुँदै मित्रराष्ट्र भारतको गोरखपुर पुग्छन् किशोर विलबहादुर । त्यहाँबाट काका कप्तान मनलाल घलेका साथ किशोर विलबहादुर हिमाञ्चल प्रदेशको धर्मशाला । सबैभन्दा पहिले गोरखा राइफलको फष्ट बटालिनमा ब्याइजको रूपमा सैनिकमा भर्ना हुँदा सर्भिस रेङ्क नम्वर ५०२९८३३ र जुनियर कमिशन JCO नम्वर ३८३२० थियो । जहाँ अनेकौं प्रकारका सैनिक तालिम लिनु पर्दथ्यो । वि.सं. २००८ साल असोज १६ गते उनी आर्मीमा विधिवत भर्ना हुन पुगे । पढाइका कारण कुनै प्रकारको दुःख–कष्ट झेल्नु परेन । भारतीय सैनिकमा कार्यरत ध्त् एबितगल कोर्ष तालिम एत् मा संलग्न हुँदा धेरै समयसम्म मिलटरी प्रतिष्ठानमा प्रशिक्षकको रूपमा सबैसँग कुशल व्यवहार गरे । सबैका प्रियपात्र विलबहादुर इमान्दारिता र नैतिकतालाई कहिले बिर्सन सक्दैनन् । बरु त्यहाँ आफ्नो योग्यता बढाउँदै लग्ने अवसर प्राप्त हुन्छ । पहिलो पटक छुट्टीमा फर्कदा नेपालमा राणाशासन विरुद्ध आन्दोलन चर्किरहँदा बाटोमा आन्दोलनकारी सँग भेट हुन्थ्यो । त्यसबेला नेपाली काँग्रेसका नेता जमानसिंह गुरुङ, धनप्रसाद गुरुङ आदि नेताहरूको नाम स्याङ्जामा निकै चर्चित थियो । भैरहवाबाट हिंडेर स्याङ्जा घर आउनु पर्दथ्यो । वि.सं. २००७ साल फागुन ७ गते राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय हुँदा उनी निकै खुशी भए तर आफ्नो गाउँ–घरमा कुनै विद्यालय नभएको देख्नु पर्दा उनीको चित्त नराम्ररी दुख्यो । उनले सोंचे– मैले पनि आफ्नो जन्मभूमिको लागि केही न केही गर्नु पर्छ ।
वि.सं. २०१७ साल कार्तिकमा चार महिनाको छुट्टीमा घर आएको बखत गाउँका मुखिया देवीसिंह क्षेत्रीले उनीलाई गाउँघरका समस्या अवगत गराए । त्यसबेला गाउँको प्रमुख समस्या थियो समाधि विवाद । अर्काे विद्यालयको अभाव । बाङ्गेफड्के ठाडचौरमा २०१४ सालमा खुलेको स्वल्जर्सबोर्ड प्राइमरी स्कुल वन्द भएको थियो ।
त्यसबेला गाउँको चिहानडाँडा माथि अतिक्रमण बढ्दै थियो । हुँदाहुँदा यस्तोसम्म अवस्था आयो लाश जलाउनका लागी जमिन अपर्याप्त भयो । सुरुका दिनमा पूर्वजहरुले उपभोग गर्दै आएको चिहान डाँडाको चार किल्ला जो पूर्वमा पखेरोको खोल्सोसम्म र पश्चिममा घैयाबारी जाने खोल्सी, उत्तरमा बाङसिङ जाने बाटो, दक्षिणमा भिरमाथि लाँकुरीको रुखसम्म यति चार किल्ला भित्रको अनुमानित २०० रोपनी जग्गा माथि अतिक्रमण भयो । जुन भुमि उर्बरा थियो । घटनाले उग्र रुप लिंदै थियो ।
यस समस्याका कारण उनीलाई निद्रा नलागेर गाउँका गण्यमान्य बुढापाका, दाजुभाइ सँग सरसल्लाह गर्न पुगे । तत्कालिन प्रधानपञ्च तुलाराम गुरुङकहाँ सबै वृतान्त बताउन जाँदा विलबहादुरलाई साह्रै हेपेर भने – हामी जस्ताले गर्न नसकेको कुरा तैंले कसरी गर्न सक्छस् ? तुलारामको वचनले विलबहादुरलाई नराम्ररी घोंच्यो । तर, यो भनाईले उनको जीवनमा भने नयाँ उर्जा थप्यो ।
अन्त्यमा, दुवै पक्षलाई एकैठाउँमा भेला गराई समाधिस्थलको विवाद मिलाउनु भयो । गाउँको समाधिस्थलमा पर्खाल लगाएर घेर्नुका साथै फूलवारी बनाउने, वृक्षरोपण गर्ने कार्यमा सबैबाट सहयोग र सद्भाव पाए । १८ दिनको अथक प्रयासपछि सम्पूर्ण विवाद अन्त्य भएको देखेर मुखिया देवीसिंह क्षेत्री र शशीधर क्षेत्रीले डेढ रुपैयाँ शिरपाउ गरी फूल चढाउँदा उनीको जीवनमा नयाँ जोश र जाँगर थप्यो । अहिले सो चिहानडाँडा अत्यन्त व्यवस्थित र सुन्दर बन्न पुगेको छ ।
गाउँलेहरूले अव तपाईंले नै विद्यालयको समस्या पनि समाधान गर्नुपर्छ भन्दा विलबहादुर हौसिए । विद्यालय स्थापना गर्नका लागि भेला गराउँदा गाउँलेले बाँगे मैदानमा नै विद्यालय बनाउन उपयुक्त हुन्छ भन्ने राय व्यक्त गरे । तर, वि.सं. २०१७ साल पौष १ गतेको राजा महेन्द्र द्वारा संसद भंग गरिएको कदमले झस्कनु भयो । उनलाई सारै नरमाइलो लाग्यो त्यस दिनको घटना । गाउँको समाधिस्थल, विवाद समाधान गर्न सकेपछि उनीलाई आत्मविश्वास भयो – म केही गर्न सक्छु ।
वि.सं. २०१७ साल पौष ५ गते गाउँका भद्र भलादमीको भेलाले विद्यालय भवन निर्माण गरी पढाइ सुचारू गर्ने प्रस्ताव पास गर्दै उनकै अध्यक्षतामा २३ सदस्य मैदान प्राथमिक विद्यालय भवन निर्माण समिति गठन भयो । जसको उपाध्यक्षमा शेरबहादुर क्षेत्री थिए भने सदस्यहरूमा होमबहादुर गुरुङ, रणध्वज गुरुङ, हरिप्रसाद गुरुङ, आशबहादुर गुरुङ, जीतबहादुर गुरुङ, भक्तबहादुर गुरुङ, वीरबहादुर क्षेत्री, जुठेराम सुनार, जीतबहादुर गुरुङ, उजिरसिंह गुरुङ, मनकाजी गुरुङ, दण्डपाणि शर्मा, देवीसिंह क्षेत्री, छविलाल क्षेत्री, बखतबहादुर दमाई, तीलबहादुर क्षेत्री, टिकाराम तिमिल्सिना, नरजङ्ग गुरुङ, हर्कबहादुर गुरुङ, कलाधर क्षेत्री, लालकाजी गुरुङ र लालबहादुर गुरुङ आदि थिए ।
विद्यालय भवन बनाउन शुरू हुँदा गाउँलेहरू श्रमदान गर्न पछि परेनन् । तीन महिनामा नै विद्यालय भवन निर्माण हुन्छ । त्यसबेला पढ्ने विद्यार्थीको संख्या ५० जना पुगेको थियो । यसरी विद्यालयको संस्थापक अध्यक्ष भएर विद्यालय स्थापना गर्नु एउटा ऐतिहासिक क्षण बन्न पुग्यो उनीको जीवनमा । पल्टन तर्फ हांजिर हुन पुग्नु पर्ने भएकोले विद्यालयको जिम्मेवारी उपाध्यक्ष शेरबहादुर क्षेत्रीलाई सुम्पेर उनी भारत तर्फ गए । त्यस बेला खुलेको मैदान प्राइमरी स्कूल अहिले उच्च माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भएको छ ।
सन् १९६५ को लडाईमा जाँदा ना.सु. बिलबहादुरलाई निमोनिया रोगले प्रहार ग¥यो । अप्रेशन गर्नुपर्ने अवस्था हँदा उनको शारीरिक असक्षमता देखेर समय अगावै २०२५ साल माघ ११ गते नायव सुवेदार पदबाट निवृत्तिभरणमा घर फर्काइयो ।
उनी पोखरा आएपछि शान्त भएर बस्न सकेनन् । के गरौं कसो गरौं भईरह्यो । त्यसबेला आदित्य सम्शेर राणा भन्ने व्यक्ति नेपालका बिग्रेडियर जनरल थिए । उनका आफन्त नासु गुरुङ संलग्न रहेको सैनिक क्याम्पको प्रमुख भएका कारणले नासु गुरुङलाई आवश्यक सहयोग गर्न आदित्य शम्शेरलाई चिठ्ठी पठाएकाले चिठ्ठी लिएर उनी बबरमहल पुगे । राणाले जागिर खाने भए टाइगर टप होटल, चितवनमा जागिर दिन्छु भने तर, चितवन जाने मन गरेनन् । त्यस पछि उनले काठमाडौं गई भारतीय राजदूतावासमा सम्पर्क राखे । दूतावासमा पिएन मोडक भन्ने व्यक्ति वयलफियर अफिसर थिए । जो दक्षिण भारतका थिए । मोडकले गुरुङलाई पोल्ट्री फर्म खोल्न सल्लाह दिए । गुरुङलाई त्यसबारे केही ज्ञान नभएकाले धोवीधारामा गई तुलाधर भन्ने व्यक्तिलाई सम्पर्क गर्न लगाए । तुलाधरले गुरुङलाई बनेपामा पोल्ट्रि फर्म देखाए । गुरुङले आफूसँग पैसा नभएको जनाए पछि मोडकले पेन्सिनपट्टा धरौटीमा राखेर सात हजार उपलब्ध गराए । त्यस बेला पोखरामा बाटोघाटो थिएन । दाना किन्न पाइँदैन थियो ।पछि भारतीय राजदुतावासमा क्याप्टेन आई.के. वर्मालाई भेट्दा उनीले हाल कुनै पद खाली छैन पछि खवर गरौंला भन्नुभयो । करिव तीन महिना काठमाडौंको बसाईमा उनीले अनेक गुम्बा, विहार पुगि बुद्ध धर्मका बारेमा अध्ययन गर्ने अवसर पनि पाउनु भयो ।
पछि सुखद् खवर आयो – पोखराको होस्टेल सुपरिटेण्डेन्टमा उनी नियुक्त भएको । त्यसबेला भारतीय पेन्सेन क्याम्पमा क्या. बुद्धिबल गुरुङ इन्चार्ज थिए । भारतीय सैनिक पेन्सिनरहरू बूढाबूढी भएपछि पोखरा आउँदा कति मर्दथे । अन्तिम संस्कारको लागि विचल्ली देखेर बौद्ध अर्घाैं सदन स्थापना गर्न पाए हुन्थ्यो भनेर क्या. बुद्धिबल गुरुङसँग ना.सु. गुरुङले रायसल्लाह मागे । अहोरात्र गुरुङ जातिको मृत्यु संस्कारलाई व्यवस्थित गर्न सहयोग गरीरहन्थ्ये । उनले २०२६ बाट २०२८ सालसम्म करिव ३ बर्ष पेन्सन क्याम्पमा सेवा गर्ने अवसर पाए । यसै कार्यकालमा उनीले भारतिय राजदुताबास अन्तर्गत रहेको एऋऋ को फण्डबाट गाउँमा खानेपानीको व्यवस्थाको लागी आवश्यक सहजकर्ताको रुपमा पहल गरे । अहिले गाउँमा पानीको असुविधा छैन ।
बौद्ध अर्घौं सदनको स्थापना
बौद्ध अर्घाैं सदन हो तमुहरूको पवित्र साझा संस्था । मृत्यु संस्कारलाई व्यवस्थित, मितव्ययी र सहजीकरण गर्नका लागि यो संस्थाको स्थापना भएको बताउँछन्– नासु विलबहादुर गुरुङ । हुनत यो संस्थाको आफ्नै कथा र व्यथा छ । वि.सं. २०२७ सालमा संस्थाको परिकल्पनाकार संस्थापक सचिव विलबहादुरका अनुसार तमुहरूमा आफ्नै मौलिक संस्कार भेटिन्छ । परन्तु, संस्कारहरू बढी फजुल खर्चको रूपमा देखिन पुग्दा संवेदनशीलतापूर्वक लिनुहुन्छ नासु विलबहादुर । उनीका अनुसार पहिला–पहिला तमुहरूले तीन राते अर्घाैं गर्ने गर्दथे । त्यसका लागि धेरै जोहो गर्नुपर्दथ्यो । धेरै जनावर काटिन्थे । लाखांै रुपैयाँ खर्च हुने गर्दथ्यो । पुर्खा उद्धारका नाममा संस्कार र परम्पराले विकृतरूप धारण गरेको देख्दा उनको हृदय छिया–छिया हुन्थ्यो ।
पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनको स्थापना किन कसरी र के का लागि भयो भन्ने जिज्ञासामा नासु गुरुङका भनाई अनुसार सात दशक पहिले पोखरा उपत्यकाका अधिकांश भू–भाग बयरघारी सउरे भूमि थियो । यस ठाउँमा औंलो (मलेरिया) लाग्दथ्यो । गाउँघरबाट पोखरामा बसाई सराई गर्नेहरू नगण्य थिए । प्रथम र द्वितीय विश्वयुद्धताका गोर्खा सैनिक कति युद्धमा मारिए, कति हराए र कति भारत, बर्मा, मलेशिया आदि विभिन्न ठाउँहरूमा बसोबास गरे । उनीहरूले भारत सरकारबाट पाउनुपर्ने रकम युद्ध पश्चात् पुनर्निर्माण कोष (Post War Reconstruction Fund) नामाकरण गरी ५४ लाख भा.रु. मध्ये करिब १० लाख भा.रु. भारतमा बसोवास गर्ने गोर्खालीहरू र बाँकी रकम भारतीय राजदूतावास मार्फत नेपालमा रहेका भू.पू. सैनिकहरूको परोपकारी काममा खर्च गर्ने गरी नेपालमा दिएको थियो ।
शिक्षा, स्वास्थ्यको विकास र औलो उन्मूलन भएपछि पोखरामा बसाई, सराई ह्वात्त बढ्न थाल्यो । बसाई, सराई गर्नेहरूमा बढी भू.पू. सैनिकहरू थिए । आवादी बढ्दै जाँदा त्यही अनुरुप अन्य आवश्यकता बढ्दै गयो । पोखरामा अस्पताल स्थापना भएपछि गाउँघरबाट विरामीहरू उपचार गर्न आउन थाले । सिकिस्त भएपछि मात्र अस्पताल ल्याउने बानीले भाग्यमानी विरामी भने निको भएर घर फर्कन्थे । धेरैजसोले अस्पतालको बेडमै मृत्युवरण गर्थे ।
आपत–विपत परेको बेला सहयोग गर्नुपर्छ, यसको लागि कुनै न कुनै कदम चाल्नुपर्छ भन्ने प्रायः सबैको हृदयमा थियो । यसको लागि आन्तरिक रूपमा संगठित भएर अथवा व्यक्तिगत तरीकाबाट सहयोग होला भन्ठानेर शुरुमा क्या.बुद्धिवल गुरुङ, ना.सु. विलबहादुर गुरुङ, स्व. क्या. बुद्धिबहादुर गुरुङ समेतले २०२७ सालमा अनौपचारिक रूपमा एक समितिको गठन गरे । समितिले पेन्सनमा आउने पेन्सनरहरूबाट पचास पैसादेखि पाँच रूपैयाँसम्म चन्दा संकलन गरी यसबाट उठेको रकम दाहसंस्कार गर्न अप्ठ्यारो परेकाहरूलाई सहयोग गर्ने गर्दथ्यो । समितिले २०३० सालसम्म केही रकम (चन्दा संकलनबाट) जम्मा गरेका थिए । त्यसैवर्ष समितिले दाहसंस्कारका लागि केही जग्गाको माग गर्न पहिलो पटक तत्कालीन पोखरा नगर पञ्चायतमा सम्पर्क राख्ने निधो ग¥यो ।
उक्त प्रक्रियाका लागि ना.सु. विलबहादुर गुरुङले तत्कालीन पोखरा नगर पञ्चायतमा समितिको प्रतिनिधित्व गर्दै ना.सु. गुरुङले २०३२ सालमा पोखरा नगर परियोजनाका तत्कालीन प्लानर पदमबहादुर क्षेत्रीसँग वैरागी वनको केही जग्गा माग गर्दा वृक्षरोपण भएको कारणले दिन नमिल्ने जवाफ पाए । उक्त जग्गा उपलब्ध हुन नसकेपछि समितिले रामघाट स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पश्चिमपट्टी खाली जग्गा माग ग¥यो । त्यसमा टिनको टहरो बनाई अस्पतालमा विरामी कुर्न आउनेहरूले खाना पकाई खाने र टहरोको छेउमा लाश राखी अन्तिम संस्कारको विधि पूरा गर्न प्रयोग गरे । तर अस्पतालका कर्मचारी र स्थानीय वासिन्दाहरूले अस्पतालको वातावरणमा प्रतिकूल असर पा¥यो भन्ने बहानामा हटाइयो ।
अन्तमा पटक–पटक नगर पञ्चायतसंग अनुरोध गरेपछि तत्कालीन वडा नं. १० का वडाध्यक्ष अम्मरबहादुर कार्कीबाट २०३५ मंसीर ५ को वडा समितिको निर्णय अनुसार सदनलाई सिफारिस पत्र प्राप्त भयो । वडा कार्यालयको सिफारिस सहित ना.सु. विलबहादुर गुरुङले पोखरा नगर पञ्चायतमा निवेदन गर्न जाँदा आधिकारिक रूपमा समिति गठन गरी आउनुपर्छ भन्ने सल्लाह पाए । त्यसपछि अनौपचारिक रूपमा सक्रिय व्यक्तिहरूको हिमालय पेट्रोलियम कम्पनीमा पहिलो वैठक बस्यो । सो वैठकले कप बुद्धिवल गुरुङ, ना.सु. विलबहादुर गुरुङ, कप, बुद्धिवहादुर गुरुङ, कोषाध्यक्ष र सदस्य रहेको समिति औपचारिक रूपमा गठन भयो । तत्कालीन पोखरा नगर पञ्चायतका प्रधानपञ्चमा गणेश शेरचन थिए । नवगठित समितिले दिएको निवेदन उपर कारवाही भै नगर पञ्चायतको मिति २०३८/८/२१ मा बसेको वैठकले सदनलाई जग्गा प्रदान गर्ने निर्णय गर्योे । नगर पञ्चायतको उक्त निर्णय अनुसार सम्बन्धित कार्यालयहरूमा समितिका तर्फबाट सचिव ना.सु. विलबहादुर गुरुङ र सह–सचिव चन्द्रबहादुर गुरुङले सम्पर्क राखी आधिकारिक रूपमा सदनले १४ रोपनी ७ आना जग्गा प्राप्त ग¥यो ।
सदनका संस्थापक सचिव नासु बिलबहादुरको भनाइ अनुसार सदनले पोखरा नगर पञ्चायतबाट जग्गा प्राप्त गरेपछि प्राथमिकताको आधारमा शुरुमा ब्लक र टिनको दुई कोठे अस्थायी टहरो बनाई निर्माण कार्यको थालनी गरायो । यसरी निर्माण भएको दुई कोठे टहरोमा एक कोठामा आवश्यक सामान सहित चौकीदार बस्ने गथ्र्यो । अर्को कोठामा बिहान बेलुकीको नियमित पूजाका साथै दाहसंस्कारका लागि लामा, पच्यु, घ्याब्रीबाट विधिवत पूजा–पाठ गरिन्थ्यो ।
धार्मिक, पूजापाठ र अन्तिम सरकारको बेलामा लाश राख्ने कोठा एउटै ठाउँमा हुँदा असुविधा र अप्ठ्यारो हुनाले स्थायी रूपमा छुट्टै घर बनाउनु पर्ने आवश्यकता महसुस गरी (हाल लाश राख्ने घरको भुइंतलाको) निर्माण कार्य सम्पन्न भएको थियो ।
कार्यसमितिले गुम्बा निर्माण गर्ने सोच राखेता पनि २०३७ सालमा आएर सोे शुभकार्यको शुभारम्भ गर्ने निर्णय भयो । २०३७/११/०९ गते शुक्रबार तत्कालीन गण्डकी अञ्चलाधीश गणेशमान श्रेष्ठबाट गुम्बाको शिलान्यास भई निर्माण कार्य प्रारम्भ भयो ।
सदनका पूर्व सह–सचिव डा. चन्द्रबहादुर गुरुङका अनुसार ‘‘जुन बेला बौद्ध गुम्बा निर्माण भइरहेको थियो । अचानक सचिव विलबहादुर दाइको फोक्सोमा समस्या देखा परेर उपचारार्थ उनी भारतको पुना स्थित मिल्ट्री अस्पतालमा भर्ना हुन पुगे । अवस्था अत्यन्त नाजुक थियो तर पनि भगवान बुद्धको आशीर्वादले स्वास्थ्य लाभ गर्न पाउनुभयो ।
डा. चन्द्रबहादुरको भनाइअनुसार– बौद्ध अर्घाैं सदनको विकास निर्माणमा नासु विलबहादुरको भूमिका अतुलनीय छ । उनीले सदनको संरक्षक र अभिभावकको भूमिका निर्वाह गर्नुभयो । प्रायः मठ–मन्दिर तथा धर्मस्थलमा मठाधीश तथा पिठाधीशहरूले आफ्नो प्रभुत्व जमाउने प्रयास गर्दछन् । बौद्ध अर्घाैं सदनपनि यस अपवादबाट उम्कन सकेन । तर, विलबहादुरले सत्यको सहारा लिँदा उनीमाथि आरोप लगाउनेहरू टिक्न सकेनन् । अन्तत सत्यको जित भयो ।
नासु गुरुङले सदनको स्थापना कालदेखि २०४३ पौष १५ सम्म सचिवको भूमिका निर्वाह गर्नु भएको देखिन्छ भने २०४३ साल पौष १६ बाट २०४९ साल पौष १५ सम्म अध्यक्षको भूमिका वि.सं. २०५९ सालमा संस्थाले रजत जयन्ती मनाउँदा उनी मूल संयोजक थिए । हाल संस्थाको सल्लाहकार । उनी प्रायजसो सदनको गतिबिधिमा रुचि राख्ने गर्दछन् । शुन्यबाट सुरु गरेको सदन अहिले विकासले झिलिमिली भएको देख्दा उनलाई सन्तोष लाग्नु स्वभाविकै पनि हो ।
धर्मप्रेमी, समाजसेवी नासु विलबहादुर गुरुङको प्रसिद्ध विश्वशान्ति स्तूपा निर्माण तथा संचालनमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको देखिन्छ । हुन त, यो स्तूपाको आफ्नै कथा र व्यथा छ । वि.सं. २०४५ साल वैशाख २५ गते वसेको बैठकले धार्मिक भावना जगाउन उक्त स्थलमा एउट चैत्य निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरी अनागरिका धम्मावतीको संयोजकत्वमा चैत्य निर्माण उप–समिति गठन गरिन्छ । जसको सदस्यहरूमा विलबहादुर गुरुङ, मीनबहादुर गुरुङ, पुष्करमान बुद्धाचार्य र कृष्णमान गुभाजू तोकिन्छ ।
वि.सं. २०४६ सालको आन्दोलन पछि गठित कृष्णप्रसाद भट्टराई सरकारले विश्वशान्ति स्तूप भत्काउँदा भएको क्षतिको विवरण मागेर नेपाल सरकारको तर्फबाट सकारात्मक संकेत देखाएको नासु गुरुङ सम्झनुहुन्छ ।
२०४८ सालमा गठित गिरिजाप्रसाद कोइराला सरकारले श्रावण २९ गते भौतिक योजना तथा निर्माण मन्त्रालयलाई स्तूपा बनाउन दिन आवश्यक निर्देशन दिन्छ । त्यस लगतै मीनबहादुर गुरुङको संयोजकत्वमा गठित विश्वशान्ति स्तूपा निर्माण समितिमा सचिव तिलकमान गुभाजू, कोषाध्यक्ष पुष्करमान बुद्धाचार्य र भिक्षु मोरियोका सोनी, सदस्यहरूमा प्रकाशमान गुभाजू र विलबहादुर गुरुङ रहनुहुन्छ । वि.सं. २०४९ साल जेष्ठ ८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट स्तूपा निर्माण कार्यको शिलान्यास भएको उनी सम्झन्छन् ।
भिक्षु निचिदात्सु फूजि गुरुको ईच्छा अनुरुप काठमाडौं र लुम्बिनीमा स्तूप बनाउन नपाए पछि उनी वि.सं. २०३० सालमा नेपाल–जापान बौद्ध संघका अध्यक्ष प्रेमबहादुर शाक्यलाई लिएर पोखरा आउनु भएको थियो । फूजि गुरु अनदुडाँडामा पुग्दा अनदुको सौन्दर्यता देखेर मख्ख पर्नु भएछ । यसरी उनीहरूको आपसी सरसल्लाह र सहमति अनुसार वि. सं.२०३० साल भाद्र २७ गते पूर्णिमाका दिन स्तूपा निर्माण कार्य शुरू गर्न सहमत हुन्छन् ।
त्यहाँ गुरुका लागि एउटा घर, पाहुनाघर र अर्काे एउटा घर निर्माण पूरा भैसकेको थियो । त्यसपछि सबैको ध्यान शान्तिस्तूपको निर्माण पूरा गराउने तर्फ लागिरहेको बेलामा बज्रपात भयो । स्तूप निर्माण कार्यमा सक्रिय पूर्व मन्त्री मीनबहादुर गुरुङलाई प्रशासनले शान्तिसुरक्षा ऐन लगाएर वि.सं. २०३१ साल श्रावण ४ गते पक्राउ गरी १८ महिना जेलमा राखियो । उनका सुपुत्र कृष्णबहादुर गुरुङ पनि थुनिए ।
पोखरा नगर योजनालाई अघि सारेर स्तूपको नक्शा आदि पेश गर्न भनियो । उसले भने बमोजिम सबै कागजपत्र पेश गरेपछि जेलभित्र रहेका मिनबहादुर गुरुङलाई नगर योजनाद्वारा ‘अस्वीकृत’ गरिएको पत्र पठाइयो । तत्कालीन गण्डकी अञ्चलाधीश शंकरराज पाठकको अध्यक्षतामा बसेको पोखरा नगर योजना कार्यान्वयन समितिको बैठकले वि.सं. २०३१ श्रावण १३ गते स्तूप भत्काउने निर्णय गरी प्रशासनले ३५ फिट निर्माण भैसकेको स्तूप र प्रार्थनाहल, पाहुनाघर लगायतका सबै संरचना भत्काइदिएको उनले बताए ।
सो विध्वंस कार्य रोक्न अनगारिका धर्मशीला र रत्नकुमार कायस्थ (स्व. भिक्षु श्रद्धानन्द) काठमाडौं गई हारगुहार गरे । अखिल नेपाल भिक्षु महासंघको तर्फबाट भिक्षु सुदर्शनले आवश्यक पहल गरे । पाल्पाका माननीय राष्ट्रिय पञ्चायतका सदस्य पूर्णमान शाक्यले वि.सं. २०३१ साल श्रावण १ गते सार्वजनिक महत्वको विषय उठाउँदै पोखराको विश्वशान्ति स्तूप किन भत्काइयो भनि प्रश्न राखे । शाक्यले स्थलगत निरीक्षण गरेर प्रधानमन्त्रीलाई घटनाको विस्तृत जानकारी गराउँदै सरकारसँग स्तूप पुनः निर्माणको लागि माग गरे । धेरै बौद्ध राष्ट्र र संघ–संस्थाहरूले घटनाको चर्काे विरोध जनाएको नासु गुरुङ सम्झनु हुन्छ ।
स्तूपा भत्काइएको त्यस ठाउँमा बौद्धहरूले पूजाआजा गर्ने गर्दथे । बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन (अष्टमी)मा सो ठाउँमा प्रार्थना गर्ने गरिन्थ्यो । जुन परम्परा हालसम्म कायमै छ ।
वि.सं. २०४१ साल पुष २६ गते फूजि गुरुको १०० बर्षको उमेरमा देहावसान भयो । यता, वि.सं. २०४३ साल कार्तिक २६ गते अनगारिका धर्मशीला गुरुमाँको निधन भयो । गुरुमाँ अनागारिका धर्मशीलाको सम्झनामा वि.सं. २०४४ साल कार्तिक २५ र २६ गते भएको महापरित्राण एवम् राष्ट्रिय बौद्ध सम्मेलनले विश्वशान्ति स्तूपाको पुनःनिर्माण गर्ने अठोट अनुरूप समिति अघि बढ्दै गयो । हाल सो स्तुपा एउटा धार्मिक तीर्थस्थल मात्र नभई पर्यटकीय स्थल पनि वनेको छ । पोखरा घुम्न आउने जो कोहीले पनि यो ठाउँ भ्रमण नगरी छाड्दैनन् ।
शुभारम्भदेखि २०६८ सालसम्म कार्यसमितिको सदस्य ना.सु. बिलबहादुर हाल यस संस्थाका आजीवन सदस्य छन् । उनले यो थलोको विकासका निम्ति अक्षयकोषमा रकम पनि दान गरेका छन् । अहिले यो ठाउँले चौतर्फी विकास गरेको देख्दो मनमा सन्तोष लाग्नु स्वभाविकै पनि हो ।
वैशाख पूर्णिमा भन्ना साथ हामी भगवान गौतम बुद्धको स्मरण गर्ने गर्दछौं । बुद्ध नै शान्ति हो र शान्ति नै बुद्ध । बुद्ध जयन्ती भगवान बुद्धको जन्म, सम्बोधि र परिनिर्वाण प्राप्त भएको महत्वपूर्ण दिन मानिन्छ । पोखरामा बुद्धजयन्ती मनाउने परम्पराको सन्दर्भ सरसरी हेर्ने हो भने वि.सं. १९९८ सालमा नदीपुरमा धर्मशीला बुद्धविहारको स्थापनापछि शुभारम्भ भएको देखिन्छ । भक्तपुर, पाटन र काठमाडौंबाट आएर बसोबास गरेको शाक्य, बुद्धाचार्य, बज्राचार्य, ताम्राकार आदि बौद्धमार्गी नेवार समुदायले आफ्ना पोखरा प्रवेश (आजभन्दा २०० वर्ष अगाडि) देखि नै कर्मकाण्डका रूपमा भए पनि बौद्ध गतिविधिलाई जीवित राखेका थिए । नारायणस्थानमा रहेको मैत्री चैत्य र विन्दुवासिनीस्थित धर्मसंघ बुद्धविहारले धार्मिक गतिविधि गर्दै आए । नारायणस्थानस्थित मैत्रीचैत्य वि.सं. १९६० को दशकमा निर्माण भएको देखिन्छ भने वि.सं. १९७२ मा धर्म संघ बुद्ध विहार निर्माण भएको । तर जहाँसम्म बुद्धजयन्ती मनाउने सन्दर्भ छ, यसको शुभारम्भको जस ‘बुद्धविहार’ अर्थात, ‘धर्मशीला बुद्धविहार’ लाई जान्छ । ‘धर्मशीला बुद्धविहार’ की संस्थापिका अनगारिका धर्मशीला गुरुमाँको सक्रियता र तत्कालीन समयमा दुई महिना पोखराको बुद्धविहारमा रहनु भएका अष्ट्रेलियाका भिक्षु खन्तिपालको पहलमा वि.सं. २०१८ मा पोखरामा पहिलो पटक बजार परिक्रमा गराई बुद्धजयन्ती मनाउने परम्पराको थालनी गरिएको प्रसङ्ग आफूले सुनेको नासु बिलबहादुर सम्झनुहुन्छ ।
वि.सं. २०२९ मा पहिलो पटक भएको ‘महापरित्राण’ स्मरणीय भएको नासु गुरुङ बताउनु हुन्छ ।
पोखरामा ‘बुद्धजयन्ती समारोह समिति’ स्थापना हुनु अगाडिको पृष्ठभूमि पनि महत्वपूर्ण मान्न सकिन्छ । वि.सं. २०४४ को दोस्रो महापरित्राणदेखि नै धर्मशीला बुद्धविहारको अगुवाइमा हुने गरेका बुद्धजयन्ती कार्यक्रममा सामूहिक सहभागिताको परम्परा बसिसकेको थियो । वि.सं. २०५२÷५३ तिर वैशाख पूर्णिमाको सेरोफेरो, ‘बुद्धजयन्ती’ मनाउने क्रमको सामूहिक तयारी भेलामा ‘बुद्धजयन्ती समारोहलाई धर्मशिला बुद्धविहार भित्र सिमित नराखेर समस्त बौद्धमार्गीलाई समेटेर बौद्धपरम्परा अनुसार सामूहिक पर्वका रूपमा मनाइनुपर्छ’ भन्ने धारणा बनिसकेको थियो । यस्तो अवस्थामा बौद्धमार्गीहरू बीच आध्यात्मिक एकता र बुद्धशिक्षाको प्रचार प्रसारका लागि संगठनात्मक एकता र छाता संगठनको आवश्यकता महसुस र परिकल्पना गरिनु स्वाभाविक थियो । वि.सं. २०६० मा स्व. भिक्षु श्रद्धानन्दको संयोजकत्वमा ‘बुद्धजयन्ती मूल समारोह समिति’ गठन गरी वि.सं. २०६१ को २५४८ औं बुद्धजयन्ती कार्यक्रम सामूहिक रूपमा मनाइएको थियो । यहीँबाट पोखरामा सामूहिक रूपमा बुद्धजयन्ती मनाउने परम्पराको थालनी भयो ।
२५४८ औं बुद्धजयन्ती समापन पछि वि.सं. २०६१ जेठ ९ गते दुई वर्षे कार्यकालका लागि बिलबहादुर गुरुङको अध्यक्षतामा १२ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन हुन्छ । पोखराको बौद्ध गतिविधिमा सक्रिय योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्पराको थालनी यसै कार्यकालबाट भएको हो । पहिलोपटक सम्मानित हुने पोखराका ऐतिहासिक हस्तीहरूमा बिलबहादुर गुरुङ र तिलकमान गुभाजू थिए ।
धार्मिक समन्वयका प्रतीकः
नासु बिलबहादुर गुरुङ संसारका सबै धर्म संस्कृतिलाई उत्तिकै आदर र सम्मान गर्नुहुन्छ । उनीको बिचारमा कुनै पनि धर्म सम्प्रदाय आफैमा नराम्रो हुँदैन । सबैको लक्ष्य असल नागरिक तयार गर्नु नै हो । अझै धर्मको मूल मर्म भनेको पवित्र मन र निर्मल बिचारको स्थापना । अर्काे शब्दमा भन्ने हो भने मान्छेलाई मानवताबादी बनाउनु । एउटा असल नागरिकले आफ्नो कर्तव्य कर्म पूरा गरेको हुन्छ । सबैलाई आदर सम्मान गर्नु, बाँच र बाँच्न दिनु बास्तवमा धर्मको मूल मर्म हो । यस कारण उनी सबै धर्म, सम्प्रदायले आयोजना गरेको धार्मिक कार्यक्रममा सहभागी हुने गर्नुहुन्छ । उनीलाई सत्संग, साधना निकै मन पर्छ । टेलिभिजनमा आउने धार्मिक प्रवचन प्राय मन पराएर हेर्ने गर्नुहुन्छ । अझ खास गरी विपश्यना ध्यान उनीलाई अति प्यारो लाग्छ । उनीलाई पनि सबै धर्म सम्प्रदायले प्रेमपूर्वक व्यवहार गरेको देखिन्छ । यस अर्थमा उनी पोखराको धार्मिक क्षेत्रका लागि उदाहरणीय समन्वय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।
धर्मोदय सभाको पहिलो सभापति
पोखरामा पहिलोपटक वि.सं. २०४४ साल कार्तिक २५ गते मुखाष्टमीका दिन गठित धर्माेदय सभा कास्कीका प्रथम सभापति हुन् – नासु विलबहादुर गुरुङ । बौद्ध सम्प्रदायहरूलाई आपसी एकता र समन्वय गरी धर्मको प्रचार–प्रसार गर्ने हेतुले स्थापित उक्त संस्था राष्ट्रभरी फैलिएको छ ।
धर्मोदय सभा कास्कीले वि.सं. २०५२ साल पुष ८ गतेदेखि १० गतेसम्म भएको पाँचौ राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना र व्यवस्थापनको जिम्मेवारी लिनुपरेको स्मरण गर्दै उनी भन्दछन्– सम्मेलनको लागि जिम्मेवारी पाउँदा हर्ष र चूनौती दुवै देखा प¥यो । करिव ६ सय व्यक्तिहरूको आतिथ्यता स्वीकार गरिनु सामान्य कार्य थिएन । पछि समय वित्दै जाँदा पोखराका बौद्ध संघ संस्थाहरूले चासो खाँचो देखाउँदै सहयोग गर्न थाले । तमु धिं नेपालले ठूलो सहयोग ग¥यो । विभिन्न संघ संस्थाहरूले खानाको व्यवस्था गर्न थाले । हेर्दा हेर्दै कार्यक्रमले भव्यरूप लियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए । श्री गुरुङलाई संस्थाको रजत जयन्ती अर्थात् २०६९ साल माघ ६ गते भएको कार्यक्रममा संस्थापक अध्यक्षका नाताले उनीलाई विशेष रूपले सम्मानित गरिएको थियो । धर्माेदय सभाको तर्फबाट मित्रराष्ट्र चिनको धार्मिक यात्रामा जाने १० जनाको टोलीमा उनी पनि थिए । उक्त टोलीले चिनका प्रमुख गुम्बा विहारहरु निरिक्षण गरेका थिए ।
ना.सु. गुरुङ पोखराको पचभैयामा अवस्थित विपसेना ध्यान केन्द्रका ट्रष्टी पनि हुन् ।
अक्षयकोषको स्थापना
नासु विलबहादुर गुरुङले आफ्ना पिता धनकाजि र माता लिलकुमारी गुरुङको नाम अजर–अमर राख्नका लािग मैदान उच्च मावि वांगे फड्के स्याङ्जामा रु. एक लाख ५१ हजारको धनकाजी–लिलकुमारी गुरुङ अक्षयकोष स्थापना गरेका छन् । कोषले हरेक बर्ष वांगे फड्केमा लाग्ने तीज मेलालाई व्यवस्थित पार्नुका साथै विद्यालयमा एक जना जेहेन्दार छात्र–छात्रालाई छात्रावृद्धि प्रदान गर्ने गरेको छ । आफ्नो आमा–बुबाप्रतिको श्रद्धाभावका कारण यो कोषको स्थापना गरिएको ना.सु. बिलबहादुर बताउछन् ।
समाजसेवाको क्षेत्रमा
सामाजिक सेवाको क्षेत्रमा एउटा प्रतिष्ठित र सम्मानित व्यक्तित्व हुन्– नासु विलबहादुर गुरुङ । धार्मिक संस्थाहरूका अलावा विभिन्न सामाजिक संघ संस्था, शैक्षिक केन्द्रमा आवद्ध विलबहादुर पोखरा–१० रामघाटस्थित कालिका उच्च माविका व्यवस्थापन समितिका पूर्व अध्यक्ष पनि हुन् । दुई–दुई पटक उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर शैक्षिक सेवामा उनले महत्वपूर्ण योगदान दिएका छन् । उनी विद्यालयको अध्यक्ष हुँदा विद्यालयको जमिन अतिक्रमणको चपेटामा परेको थियो । विद्यालय प्रशासनभित्र आर्थिक लापारवाही र अनुशासनहिनता थियो । उनले विस्तारै विद्यालयमा आर्थिक अनुशासन कायम गरी नियमित पठन पाठनलाई जोड दिए । शिक्षक, कर्मचारीहरु समयमा आउने र आफ्नो दायित्व पूरा गर्न अग्रसर भए । यसरी हेर्दाहेर्दै विद्यालयभित्र सु व्यवस्था कायम भयो । उनीको कार्यकालमा विद्यालयले भवन थप्ने र खेलमैदान (बास्केटबल) बनाउने कार्य द्रुतगतिमा भएको थियो । लायन्स क्लव अफ पोखराको सदस्य हुँदा दीर्घ सेवा पदक पाउँन उनी सफल हुनुभयो । विपश्यना ध्यानकेन्द्र पचभैयाका ट्रष्टी, नेपाल रेडक्रस सोसाइटी कास्कीका आजीवन सदस्य नासु गुरुङका बारेमा पोखराका वरिष्ठ समाजसेवी प्रेमबहादुर श्रेष्ठको भनाइ छ– यी व्यक्ति सामान्य होइनन्, हुन् असाधारण । जस्तोसुकै जिम्मेवारी बहन गर्न सक्ने र नेतृत्व दिन सक्ने व्यक्तित्व देखेर उनीप्रति मेरो आदर सम्मान छ । नासु विलबहादुुर एक सच्चा ईमान्दार, देशभक्त र कुशल नेतृत्व दिन सक्ने, बहुआयामिक प्रतिभा भएको प्रभावशाली, निस्वार्थी सामाजिक व्यक्तित्व हुन् ।
सामाजिक कार्यकर्ताका साथ–साथै एक सफल उद्यमी र व्यवसायी गुरुङले जे–जे काममा हात हाले ती सबै क्षेत्रमा सफलता र पूर्णता प्राप्त गरे । यस बाट यो झल्कन्छ उनको लगनशीलता, इमान्दारिता, व्यवहारिकता, कार्यकुशलता, सुझबुझ र मानवीयताले उनीलाई अगाडि बढाएको छ ।
यसको अलवा प्राकृतिक चिकित्सालयको उपाध्यक्ष, हिन्दू धर्म सेवा समन्वय समितिका केन्द्रीय सदस्य, मुग्लिङमा निर्माण भएको गौतम बुद्ध गुम्बा निर्माण समिति र गौतम बुद्ध संगम सेवा समितिको सल्लाहकार भई उनीले सेवा पु¥याउनु भएको देखिन्छ । पेट्रोलियम पदार्थको आपूर्ति गरी सेवा पु¥याउन हिमालयन पेट्रोलियम प्रा.लि.को स्थापनामा महत्वपूर्ण भूमिका खेलेका ना.सु. बिलबहादुर अलावा मनकामना आयल स्टोर्स, पञ्चासे आयल स्टोर्स नौडाँडा, जयबुद्ध आयल स्टोर्स हेमजा, शान्ति संगम आयल स्टोर्स मुग्लिन लगायतका व्यवसायिक संस्थामा आवद्ध छन् ।
बौद्ध अर्घाैं सदनका पूर्व अध्यक्ष मनबहादुर गुरुङ साधारण परिवारमा जन्मिएका नासु विलबहादुरलाई उच्चकोटीका चिन्तक र दुरगामी सोंच भएका मान्छे भन्न रुचाउँछन् । विशेषगरी बौद्ध अर्घौं सदनको स्थापना, जग्गाको व्यवस्थापन, ंसंस्थाको परिचालन गर्ने कार्य सामान्य थिएन । आज उनीले पु¥याउनु भएको योगदानको कदर स्वरूप समस्त तमुजातिलाई मात्र नभएर पोखरेलीहरूलाई समेत सेवा पु¥याउने कार्य भएको छ ।
नासु गुरुङका लेखहरू विभिन्न पत्रपत्रिका तथा स्मारिकाहरूमा प्रकाशित छन् । नासु गुरुङले पटक–पटक विपश्यना ध्यान शिविरमा भाग लिएका छन् । उनको विचारमा ध्यान साधानानै धर्मको प्रतिफल हो । यही विचारबाट प्रभावित भई पोखरा लेखनाथ पचभैयामा रहेको विपश्यना ध्यान केन्द्रको अध्यक्ष भई चार वर्षसम्म व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।
पोखरा उद्योग वाणिज्य संघमा दुई–दुई पटक कार्यसमितिमा रहेर सेवा पु¥याएका गुरुङले गण्डकी– धौलागिरी पेट्रोलियम डिलर एशोसिएसनका अध्यक्ष पनि थिए । उनको सामाजिक, शैक्षिक, धार्मिक योगदानको कदर स्वरूप विभिन्न संघ संस्थाले उनीलाई सम्मान–पत्र, कदर–पत्र र अभिनन्दन–पत्र प्रदान गरेको छ । वि.सं. २०५६ साल श्रीपञ्चमीका दिन सनातन धर्म सेवा समितिले सनकमान श्रेष्ठ स्मृति पुरस्कारबाट उनी सम्मानित भए । वि.सं. २०५९ सालमा बौद्ध अर्घाैं सदनबाट रजत जयन्तीको अवसरमा सम्मानित ना.सु. बिलबहादुरलाई पोखरा उद्योग वाणिज्य संघले आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर प्रशंसा–पत्र प्रदान ग¥यो । त्यस्तै बुद्ध जयन्ती मूल समारोह समिति पोखराले वि.सं. २०६४ सालमा सम्मानित ग¥यो भने २०६४ साल मंसिर २८ गते मैदान उच्च माध्यमिक विद्यालय बाँगेफड्के, स्याङ्जाले स्वर्णजयन्तीको अवसर पारेर सस्थापक अध्यक्षका रूपमा अभिनन्दन गर्यो ।
त्यस्तै २०६८ साल फागुन ८ गते कालिका उच्च मावि रामबजार पोखराले उनलाई सम्मानपत्र प्रदान गरेको थियो । उक्त विद्यालयले श्रीमद्भागवत महायज्ञ लगाउँदा रु. २५ हजार सहायता गर्न उनी पछि परेनन् । २०६४ सालमा स्याङ्जा, वागेफड्के–७ स्थित शिलुडाँडा तमु आमा समुहले उनको योगदानको कदरस्वरूप सम्मानपत्र प्रदान गरेको थियो । अनदुस्थित विश्वशान्ति स्तूप अक्षयकोषको लागि उनले २५ हजार र बुद्ध जयन्ती समारोह समितिको अक्षयकोषको लागि रु. १ लाख ११ हजार १ सय ११ भन्दा बढी सहयोग गरे । त्यस्तै उनले काहुँडाँडामा निर्माण हुन लागेको यशोधरा पार्कका लागि रु. १ लाख भन्दा बढी दान दिए । नासु गुरुङले मैदान उच्च मावि वागेफड्केमा उच्च मावि संचालनार्थ रु. २ लाख ५ हजार नगद सहयोग गरे । हाल उनी उक्त विद्यालयको सल्लाहकार छन् । उनले वि.सं. २०५९ साल वैशाख १६ गतेबाट रु. १ का दरले आजीवन सहयोग गर्दै जाने प्रण गरेका ना.सु. बिलबहादुरलाई धर्माेदय सभा कास्कीले २०६९ सालमा रजत जयन्तीको अवसरमा पहिलो संस्थापक अध्यक्षको रूपमा सम्मानपत्र प्रदान गरेको थियो । अन्तर्राष्ट्रिय बुद्ध परियती उदय विहारले २०६४ सालमा गुणस्मरणपत्र द्वारा सम्मानित गुरुङलाई २०७२ साल माघ ७ गते सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले जेष्ठ नागरिक सम्मान, मेट्रो बहुउद्देश्यी सहकारी संस्था लिमिटेडले २०७३ असोज १६ गते जेष्ठ नागरिक सम्मान प्रदान गरेको थियो । समाजसेवी गुरुङलाई तमु साँस्कृतिक प्रतिष्ठानले पनि २०७३ साल माघ ८ गते सम्मानपत्र प्रदान गरेको छ । पोखरा रोयल सहकारी संस्थाले उत्कृष्ट सदस्यको रूपमा उनी सम्मानित भए । सामूहिक तमु ‘प्र लोछार’ मूल समारोह समिति २०७२ ले उनलाई विशेष सम्मान गरेको छ भने जेष्ठ नागरिक सम्मानसमारोह–२०७३ पोखराले उनीलाई सम्मान गरेको छ ।
नेपाल पेट्रोलियम डिलर एशोसिएसनले पनि उनलाई सम्मानपत्र प्रदान गरेको छ । त्यस्तै, हिमालय पेट्रोलियम कम्पनीलाई एउटा सफल व्यवसायिक फर्मको रूपमा पोखरा उद्योग वाणिज्य संघले प्रदान गरेको सम्मान–पत्र उनले ग्रहण गरेका थिए । उनको धार्मिक–सामाजिक योगदानको कदर स्वरूप वि.सं. २०६८ सालमा सनातन धर्म सेवा समिति कास्कीले अभिनन्दन–पत्र प्रदान गर्यो ।
लगनशील र मेहनती नासु विलबहादुर गुरुङले जनुजुन काम मा हात हाले त्यसलाई कुशलतापूर्वक सम्पन्न गर्न उनी सफल भए ।
नासु बिलबहादुर गुरुङको विवाह वि.सं. २००७ साल मंसिर महिनामा हासुवा गुरुङ सँग भएको थियो । पुनः अर्को विवाह २०४० सालमा हिन्दू माया गुरुङसँग भएको देखिन्छ । उनका परिवारहरू आ–आफ्ना पेशामा दत्तचित्त छन् । सामाजिक कार्यमा रुचि राख्ने गर्दछन् । जेष्ठ सुपुत्र कमल व्यवसायको सिलसिलामा आफ्नी धर्मपत्नी पुष्पाकुमारीका साथ हङ्कङमा बस्दछन् । माइला सुपुत्र सुनिल पोखराको व्यवसायहरूमा दृष्टि पुर्याउँदै बुद्धचोकमा श्रीमती सरस्वतीका साथ बुबा–मुमाको सेवामा दत्तचित्त छन् । कान्छा सुपुत्र सुन्दर आफ्नी धर्मपत्नी थानकुमारीका साथ व्यवसायको शिलशिलामा वेलायतमा छन् । जेष्ठ सुपुत्री गंगा आफ्ना पति तुलसिकुमार गुरुङका साथ वेलायतमा सक्रिय छिन् । तुलसीकुमार अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा परिचित छन् । गंगाकुमारी सन् १९८७ मा हङ्कङमा भएको प्याराजम्पमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । हाल ना.सु. बिलबहादुरका थुप्रै नाति, नातिना छन् । उनी पोखराको बुद्धचोकमा आनन्दपूर्वक जीवन निर्वाह गरिरहेका छन् ।
पुस्तकको नामः व्यक्ति र व्यक्तित्व
लेखकको नामः रवीन्द्र माकाजू
ठेगानाः मालेपाटन, पोखरा
फोनः ९८१७१०७६२५
प्रकाशनः २०७७ आषाढ
पुस्तक डिजाइनः कृष्ण कम्प्युटर
(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।)
धन्यवाद !!!
0 Comments