नागढुंगाको आर्ट ग्यालरीमा चित्र कोर्दै थिए वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेल । जोसंग मेरो पुरानो परिचय छ । उनी आफैदेखि मस्त र मग्न पनि । स्वाभिमानले भरिएको कलाकारले मसँग ढुक्काका साथ भने– मलाई यही कलाकारिताले चिनाएको छ, म यसैमा सन्तुष्ट छु ।
२००३ साल चैत २१ गतेका दिन माता नन्दकली र पिता चक्रपाणि भुर्तेलको कोखबाट पोखरा–५, प्रस्र्याङमा जन्मिएका यादवचन्द्र भुर्तेल । चक्रपाणिका आठौँ सुपुत्र भुर्तेलको प्रारम्भिक शिक्षा श्री विन्ध्यवासिनी संस्कृत पाठशालाबाट सुरु भयो । भुर्तेलले पण्डित सोमनाथ रेग्मीबाट अक्षरारम्भ गरे । गुरु पूर्णिमामा गुरु भेटीका रूपमा पचन्नी र एउटा थर्कटी राखेर गुरुको दर्शन गर्दाका मीठा सम्झना उनीसँग अझै बाँकी छन् ।
सोल्जर्स बोर्ड हाईस्कुल पोखरामा पढ्दा गुरु भीमबहादुर थापा मगरबाट कला सम्बन्धी धेरै ज्ञान हाँसिल गरे । त्यसबेला साथीहरु रामबहादुर श्रेष्ठ, दुर्गा बराल, अजित शेरचन आदि थिए । विद्यालयमा हुने चित्रकला प्रतियोगितामा उनी पुरस्कृत हुँदैनथे । त्यसबेला बजारमा रङ्ग किन्न पाइदैनथ्यो । काठमाडौँको त्रिचन्द्र कलेजबाट आइएससी सम्मको अध्ययन गरे । जुद्वकला ललितकला क्याम्पसबाट कला विषयमा स्नातक गरेका भुर्तेलले रामपुर क्याम्पसबाट कृषि र शिक्षा सङ्कायमा स्नातकका साथै भुर्तेलले बीएड, बीएफए, बीएसी एग्रिकल्चर सम्मको अध्ययन पूरा गरे ।
उनले २०२१ सालदेखि २०५७ सालसम्म अमरसिंह लगायतका विद्यालयमा शिक्षण पेशा गरे । २०५७ सालपछि कलाकारितालाई जोड दिँदै आएका छन् । उनका चित्रहरु पर्यटकले निकै मन पराउने गरेका छन् भने पछिल्ला दिनहरुमा नेपालीहरुले पनि किन्न थाले ।
२०२६ सालमा चितवन गीतानगरकी मेनुका किरण रिजालसँग वैवाहिक जीवनमा प्रवेश गरेका भुर्तेल तीन छोरा र दुई छोरी छन् । सबै सन्तानलाई स्नातकोत्तर तहसम्मको अध्ययन गराउन सफल भुर्तेलको पारिवारिक जीवन सुखमय छ । जेठा सुपुत्र होग्रेथ भुर्तेल पनि बाबुको कलायात्रालाई पछ्याउँदै–पछ्याउँदै आएका छन् ।
विभिन्न सम्मान र पुरस्कारबाट विभूषित भुर्तेलले भारत, बङ्गलादेश, थाइल्याण्ड, मलेसिया, फुकेट, आयरल्याण्ड लगायतका देशको भ्रमणमा पुगेर कलायात्रालाई बलियो बनाए । आफूलाई मन पर्ने कलाकारहरुमा उनी भेदभाव गर्न चाहन्नन् । तैपनि लैनसिँह वाङदेल, शशि शाह, मनोजबाबु मिश्र, कृष्णगोपाल रञ्जीतलाई वरिष्ठ कलाकार भन्न रुचाउँछन् । भुर्तेलले सुरुका दिनमा खरानी, अंगार र खरीका सहायताले चित्र बनाउथे । भुर्तेल २०२२ सालमा त्रिचन्द्र कलेजमा भर्ना हुन पुगेपछि सोही समय उनको कलायात्राले फड्को मा¥यो । तत्कालीन समयको जुद्धकला पाठशाला पछिल्लो समय ललितकला महाविद्यालय भयो । त्यहाँका हेडमास्टर कालिदास गुरुबाट पाएको मनोबलले उनको कलालाई बिस्तारै अगाडि बढ्नका लागि हौसला प्रदान ग¥यो । उनको कलाकारितामा सेमिनग्न तस्बिरको निकै चर्चा हुन्छ । जापान सेमिनारमा जाँदा आफ्ना अनन्य मित्र फुकुनोतोले उनलाई त्यस्ता प्रकृतिका चित्र तयार गर्नका लागि सहयोग गरे । केही समय पेन्सिल वर्क गरेपछि उनले सेमिनग्न तस्बिर बनाउन थालेको उनी बताउँछन् ।
उनी आफूलाई सौखिन कलाकारका रूपमा प्रस्तुत गर्दछन् । यसको अर्थ व्यवसायिक कलाकार होइनन् भन्ने होइन । पाँच दशकको कलाकारितालेउनको कलाकारिता आफैं सफल व्यवसायमा रुपान्तरित भएको छ । उनले चित्र बेचेर पैसा कमाउने चाहना राख्दैनन् । कसले मन पराएर लैजान खोज्छ भने उक्त कला पारखीका लागि आफ्नो चित्रको मूल्य यति नै हो भनेर तोक्दैनन् । आजसम्म रित्तो हात कसैलाई पठाएको उनलाई सम्झना छैन ।
उनले २०१८÷०१९ सालतिर पाँच आनामा एक जिस्ता कागज किनेर त्यसैमा चित्र कोर्न थालेका थिए । सोही समय आफूले तयार पारेको पहिलो पोर्टेट दुई रुपियाँ पाँच आनामा बेचेका थिए । यही पोर्टेटको प्रेरणाले उनले पाँच हजार बढी सष्टा, साधक, शुभेच्छुक, शुभचिन्तक र चिरपरिचित व्यक्तिका व्यक्तिगत चित्र तयार पारिसकेका छन् । शुभचिन्तकले स्वेच्छाले दिएको मूल्यमै आफ्ना चित्र दिदै आएका छन् । २०२२ सालबाट राजधानी प्रवेश गरे त्यसपछि उनको कलायात्रा दिन दुई गुना, रात चार गुना अगाडि बढेको आकलन गर्न सकिन्छ । आफ्नो चाहनामा चित्र बनाउने भएकाले उनका जति चित्र बनेका छन् सबै सोखमै बने । त्यही कारण भुर्तेलले आफ्ना चित्र अरूलाई दिँदा आँखाबाट आँसु बगाउँछन् । आँसु बगे तापनि, आफ्नो आत्मा रोइरोई शुभेच्छुकको खुसी र हर्षका लागि चित्र दिदै आए । भुर्तेलले आफूले कोरेका चित्रलाई सन्तती ठान्ने गरेकै कारण अर्काको हातमा थमाउँदा हर्षित बन्दै भुर्तेल भन्छन्– मलाई आफ्ना चित्र बेच्दाको दिन कन्यादान दिएको जस्तै पीडा हुन्छ ।
कलाकार दुर्गा बराल (वात्सायन) विश्व शाक्य, गोपाल श्रेष्ठ र भुर्तेल भएर तेर्सापट्टी को एउटा सानो कोठामा ग्यालरी सञ्चालन गरेका थिए । जसको कुनै नामकरण गरिएको थिएन । स्थापनाका कोही वर्षपछि २०२८ सालतिर भुर्तेलको पहलमा पोखराको नागढुङ्गामा सारियो । जसको नाम को–अपरेटिभ ग्यालरी राखियो । वात्सायन, विश्व शाक्य, गोपाल श्रेष्ठ, हरेराम जोजु र भुर्तेल बसेर उक्त को–अपरेटिभ ग्यालरी सञ्चालन गरे । त्यहाँ सबैको भन्दा बढी वात्सायनको चित्र बिक्थ्यो, त्यसपछि भुर्तेलको । दुवै आफूलाई हिरो सम्झन्थे । त्यो बेला सम्झदै भुर्तेल भन्छन्, चित्रको मूल्य ७५ रुपैयाँ देखि तीन सयसम्म थियो । कला कृतिले ठूलो हुने हो मूल्य धेरै राखेर हुने होइन ।’ यसरी को–अपरेटिभ ग्यालरी चलाएका केही वर्षपछि उक्त ग्यालरीलाई भुर्तेलले निजी गरे । हाल उक्त ग्यालरीलाई फाइन आर्ट ग्यालरी भनिन्छ ।
उनलाई कृष्णगोपाल रञ्जितले सक्दो सहयोग गरे । उनकै ग्यालरीमा बसेर चित्र सजाउने अवसर पाए । उनी ललितकला क्याम्पसका प्रमुख कालिदास श्रेष्ठको सहयोगलाई जीवनमा कहिल्यै विर्सन सक्दैनन् । उनले त्यसबेला मासिक २० रुपैया ँ छात्रवृत्रि पाउँथे । पछि छात्रवृति ७५ हुँदा उनमा खुशीको सिमा नै रहेन । कतिपय कलाकारको नजरमा आफूलाई फुच्चे ठान्ने गरेकोमा कुनै दुःखेसो गर्दैनन् । वंगलादेशमा आयोजित उनका चित्र प्रदर्शनीमा बंगलादेशका राष्ट्रपतिले मन पराएर बुक दिएका थिए । उनको चित्रले सबैको मन लोभ्याउँछ । यस्तो लाग्छ– उनी सरस्वतीबाट वरदान प्राप्त नामुद कलाकार हुन् । उनले हालसालै विराटनगरमा स्थापित चेतना संरक्षण केन्द्र बाट रु. ५१००० को भूपेन्द्र रिजाल, शोभा रिजाल स्मृति पुरस्कार प्राप्त गरेका छन् । राष्ट्रिय प्रतिभा पुरस्कार लगायत थुप्रै थुप्रै मान सम्मान र पुरस्कारबाट सम्मानित छन् कलाकार भुर्तेल । कमर्सियल आर्टिस्ट संघले उनलाई अभिनन्दन नै ग¥यो ।
नागढुङ्गामा आफ्नो ग्यालरी सञ्चालन गरेपछि उनका पहिलो कलाका विद्यार्थी थिए हरेराम जोजिजु र बुद्धि गुरुङ । उनले दुवैलाई कलाकारिता सिकाए । हाल उनका कला क्षेत्रका चेलाचेली पर्याप्त छन् । कुनै–कुनै चेलाचेलीले आफूलाई निकै ठूलो ठान्ने गरेको र भुर्तेलको चेला हुँ भन्न लाज मानेको देख्दा दुःख लागेको बताउँछन् । आफ्नो कलाकारिताका विषयमा भुर्तेल भन्छन्, ‘म एक मैनबत्ती हुँ । मसँग भएको गुण म अरूलाई दिन्छु । यसै कारण मैले जानेका कुरा मेरा चेलाचेलीलाई सिकाउँदा ममा कुनै कमी हुँदैन । तसर्थ मैले सिकाउँदै आएको छु । आफूसँग भएका गुण सिकाउनुपर्छ भनेर मैले सिकाएको छु । मैले टेक्सचरमा काम गर्न सबैलाई सिकाएको छु । कलाकारिताका आफ्ना ब्रिलियन्ट उदाहरणका रूपमा उनले केही नाम लिए तापनि डी.राम पाल्पाली उत्कृष्ठ कलाकार हुन् । उनलाई आफ्ना चेला भन्न पाउँदा भुर्तेल गर्व गर्दछन् । कुनै समय डी.राम पाल्पालीले भनेका थिए, ’स्वअध्ययनले जुन ख्याति उपलब्ध गराएको छ त्यसको पछाडि कलाकार भुर्तेलको प्रोत्साहन ठूलो सहयोगी भएको छ’ मेरा लागि । त्यस्तै पोखराका सुनिल सिग्देल र ढाका भट्टराईलाई कृतज्ञता व्यक्त गर्न विर्सदैनन् भुर्तेल । यी शिक्षार्थीहरुले आफूलाई गुरु भनेर निकै सहयोग र सद्भाव छर्ने गरेको बताउँछन् भुर्तेल ।
पोखरा साहित्यिक आन्दोलनका लागि क्रियाशील भूमि हो । २०३५ सालदेखि नै विभिन्न साहित्यिक आन्दोलन सुरु भए । संरक्षण कविता यात्रा, संरक्षण कविता आन्दोलन, अक्षर यात्रा, सडक सिर्जना, गजल यात्रा, सुगम सङ्गीत जस्ता आन्दोलन पोखरेली साहित्यिक आन्दोलन हुन् । पोखरामा हुने विभिन्न कला कार्यशालामा उनको सहभागिता रहेको छ । कलम र कुर्चीको सहायताले जीवनयापन गर्नेहरू अहिले निकै बढेका छन् । नव कलाकारलाई प्रेरणा दिनकै लागि भुर्तेल आफ्ना तमाम व्यस्तता छाडेर निस्कन्छन् । समय–समयमा एकल कला प्रर्दशनी पोखरामा सञ्चालन हुँदा उनले सबैलाई सक्दो सहयोग गर्दछन् । भुर्तेलले नेपाल र नेपाली बाहिर एक दर्जनभन्दा बढी एकल प्रदर्शनी र झन्डै एक डेढ सय संयुक्त कला प्रदर्शनी गरिसकेका छन् ।
सन् १९९५ पनि १५ जनामा संयुक्त प्रदर्शनीमा उनका सबै नग्न चित्र बिक्री भए । यस्तै सन् २००० मा पनि नग्न चित्रकला नै प्रदर्शन गरे । धेरै गाली खाए तर प्रदर्शनीमा राखिएका सबै तस्बिर बिक्री भए । सोलुखुम्बुबाट फर्कन लाग्दा धेरै वर्ष अघि किराँती छाप भन्ने ठाउँमा वास बस्न पुग्दा त्यस घरकी नवविवाहिता युवतीलाई उसको जँड्याहा लोग्नेले जाँडका तालमा अर्धनग्न हुने गरी कुटेर बाहिर निकालेपछि जुनेली रातको मधुरो प्रकाशमा सुँक्कसुँक्क गरी शारीरिक मानसिक पीडा खपिरहेकी नारीको पीडाबाट प्रभावित भएर उनले सर्वप्रथम अर्धनग्न चित्र तयार गरेका थिए ।
२०७६ सालसम्म आइपुग्दा उनले करिब ५० हजार चित्र बनाए । यतिका समयसम्म कलाकारितामा जीवन बिताउँदा पनि आफूलाई अझै पारङ्गत मान्दैनन् र भन्छन्– ‘म अझै कला पाठशालामा पढिरहेको छु ।’ भनिन्छ, कलाकारको जन्म मात्र हुन्छ मृत्यु कदापि हुँदैन ।
भुर्तेल साहित्यिक कार्यक्रमको निम्तो पाउनासाथ त्यहाँ पुग्छन् । आफूले तयार गर्दै गरेको कलाकारिता छोडेर साइकल चढेर कार्यक्रमस्थल पुगेर परा समय साहित्यलाई दिएका थुप्रै उदाहरण उनीसँग छन् । उनका कला धेरै स्रष्टा साधकका पुस्तकका आवरणमा सजिएका छन् । भूर्तेलको कलाकारितामा पाइने कलात्मक सौन्दर्यको मिठासले कोही पनि अघाउँदैनन् जस्तो लाग्छ । प्रकृति, मातृत्व, देशप्रेम, भातृत्व र मायाप्रेमजस्ता पक्षलाई नजिकबाट नियालेर सरल तरिकाले प्रस्तुत गर्न सफल छन् । सामाजिक यथार्थता, सहरिया कुटिलता र जटिलतालाई पाखा पार्दै ग्रामीण प्राकृतिक सरलता, स्वच्छ वातावरणलाई माया गर्ने स्वाभिमानी कलाकार भुर्तेल व्यङग्य भाव, विकृति र विसङ्गतिमा विरोधको चर्को स्वरलाई कलाको माध्यमबाट अग्रगमनमा लैजान चाहने व्यक्तित्व हुन् । आफ्नो कलम र कुचीका माध्यमले दीनहीनप्रति दया, माया, सद्भाव र मानवतावादी चित्र कोर्दछन् । समसामयिक यथार्थपरक भाव अङ्गीकार गर्न सक्ने यथार्थवादी चित्र कोर्दछन् । जीवनका विसङ्गति, विकृतिप्रतिको व्यङ्ग्यमा पनि सालिनता र भद्रतापूर्ण प्रहार उनको कलाकारितामा पाइन्छ ।
२०५५ सालतिर दुई जना नेपाली र एक दार्जिलिङकी शिक्षिका विदेशीलाई गिफ्ट दिन भुर्तेलको ग्यालरीमा बडो इज्जतका साथ आए । भुर्तेलले अभिवादन गरे । एक जना शिक्षिकाले यहाँ त छाडा चित्र रहेछन्’ छिः हिँड’ भनिन् । भुर्तेललाई म अपराधी नै रहेछु कि जस्तो पनि लाग्यो । त्यही बेला अर्की शिक्षिकाले कलामा जे पनि हुन्छ । विदेशी कला सबै नाङ्गो हुन्छ ।
त्यसपछि भुर्तेलले जवाफ दिए– मिस ! मेरो ग्यालरीमा बस्नुभयो त्यसको लागि आभारी छु । तर मेरो चित्र हेरेर मलाई प्रहार गरेको महसुस गरें । भन्नुस् मेरो कुन कला अश्लील छ ? रङ्ग र कागज कहिल्यै अश्लील हुँदैन । मन्दिर जानुहुन्छ, जुलुसमा जानुहुन्छ । तपाईंका जनेन्द्रिय साथमा लिएर जानुहुन्छ कि घरमा राखेर । मैले त कागजमा बनाएको हुँ । हजुर कपडा लगाएर आउनुभएको छ । म कलाकार हुँ, मैले सबै नाङ्गो देखेको छु कपडा ढाक्नका लागि बनाएको हो । मैले कुनै घृणित चित्र बनाएको छैन मेरा चित्र गनाउँदैनन् । बरु सुगन्ध छर्छन् ।
भुर्तेलले आफ्नै सुरमा काम गरिरहेका थिए । उनको ग्यालरीमा भित्र–बाहिर केही सेमिनग्न तस्बिरहरू थिए नै । एक जना भलाद्मी व्यक्ति भित्र पसेर सोधे, ग्यालरीको भित्र बाहिर रहेको सबै चित्र तपाईंले नै बनाएको हो ? हो, मैले नै बनाएको हो भने । व्यक्ति सबै गुणले परिपूर्ण हुँदैन । कलाकार यादवचन्द्र भुर्तेलका पनि केही तिक्तता र अहमता छन् । उनले आफूले पाएको एक पुरस्कारका सन्दर्भमा मान्छे नपाएपछि आफूलाई दिएको र पुरस्कारको रकम संस्थालाई दिनुपर्ने अध्यक्षको भनाइप्रति गुनासो पोख्छन् र भन्छन्– म धनी बाबुको गरिब छोरो हुँ । मलाई यस्तो पुरस्कार चाहिन्न ।
कलाकारितामा निरन्तर क्रियाशील भुर्तेललाई राजनीतिप्रति वितृष्णा छ । आज उनलाई कुनै पार्टीप्रति विश्वास नभए तापनि स्वर्गीय मदन भण्डारीलाई आफ्ना प्रिय पात्र ठान्छन् । कुनै समय माटेपानीमा बस्दै आएका मदन भण्डारी पुरानो साइकल चलाउँथे । भुर्तेलको ग्यालरीको बाटो हुँदै साइकलमा भण्डारी हिँड्दा चप्पल चुंडिएर १५ पैसाले चप्पल सलाएर पठाएको उनको अविस्मरणीय क्षण अझै मानसपलटमा छ ।
कलात्मक दृश्यचित्रले धेरैलाई प्रभावित पार्ने गर्दछ । राज्य पक्षबाट उनको कलाकारिताको मुल्याङ्कन नभएको देख्दा पनि उनलाई चिन्ता लाग्छ । सरकारले योगदानको कदर नगरेकोमा उनको ठुलै गुनासो छ । पार्टीका नेता, कार्यकर्ता सामान्य बिरामी हुँदा लाखौँ खर्चने सरकारले उनी बिरामी हुँदा नहेरेकोमा दुःखेसो पोख्छन् । कलाकारिताबाट राष्ट्रका लागि योगदान गरेकोले उपचारका लागि सहयोग माग्दा प्रज्ञा प्रतिष्ठानबाट उनले २५ हजार सहयोग पाए । जवकि उनी विमारी हुँदा उपचारमा १४ लाख खर्च भएको थियो ।
२०१६ सालबाट साइकल चढेर हिँड्न थालेका भुर्तेल प्रथम व्यक्ति हुँदाहुँदै अर्कोलाई पहिलो भनेर भ्रम छरिएकोमा उनको गुनासो छ । किनकि उमेरले ७० पुग्दा पनि उनी साइकल यात्री हुन् । आफू पहिलो साइकल यात्री हँदाहँदै साइकल सिटी पोखराले पहिलो साइकलयात्री भनेर अर्कैलाई अभिनन्दन गरेकोमा पनि उनको तीव्र आक्रोश छ ।
आज पोखरेली धर्तीमा सुगन्धित फूल बनेर विश्वसमुदाय माझ उनी चम्किरहेका छन् । भुर्तेल एक नामुद कलाकार हुन् । आज उनले जुन ख्याति कमाएका छन् त्यो नै उनको अक्षय पुँजी हो तर उनको सम्मानका लागि हामी उनको नागढुङ्गामा अवस्थित फाइन आर्ट ग्यालरीमा एकै पटक मात्र प्रवेश गरेर अवलोकन गर्ने हो भने हामीले त्यहाँ नेपाली जनजीवनका रमाइला पक्षका साथै आम नेपालीका पीडालाई उनले नजिकैबाट नियालेका तस्वीर पाउँछौँ । उनले कोरेका स्केच र पूर्ण चित्रले आम नेपालीले कति दुःख, पीडा, विरह, वेदना र करुणामा बाँच्नुपरेको छ भन्ने अनुभूत गर्न उनको ग्यालरीमा पस्नै पर्छ । मानिसका व्यक्त र अव्यक्त दुवै पीडालाई कलाकारितामा पोख्न सफल छन् भुर्तेल । उनलाई आफूले पढाएका छात्रहरुमा डा. बुद्धिबहादुर थापा, डा. तीर्थराज खनिया लगायतका केही विद्यार्थीहरु उच्च पदमा पुगेर मुलुकको लागि केही गर्न सफल भएकोमा आफू गौरवान्वित भएको महशुस गर्दछन् । अर्को जन्ममा पनि कलाकार नै भएर जन्मन चाहन्छन् भुर्तेल । उनका विचारमा जीवन अमूल्य छ । मान्छे कुनै न कुनै प्रतिभा लिएर जन्मिएको हुन्छ । उनी विश्वका चर्चित कलाकार लियो नार्दाेडा भिन्ची, राफेल, माकेलाङ्गलेल प्रति गौरव गर्दछन् । उनका विचारमा कला सृजनाको पराकाष्ठा हो । उनको विचारमा आफूले जीवनमा केही गुमाएको पनि छैन, न त केही उपलब्ध भएको छ । जुन दिन नेपाल युरोपसंग दाँजिन्छ त्यस दिन म अत्यन्त खुशी हुनेछु । म मरेपनि मेरो आत्माले शान्ति पाउनेछ ।



0 Comments