बरिष्ठ समाजसेवी लायन प्रेमबहादुर श्रेष्ठ–रवीन्द्र माकाजू

 


लायन प्रेमबहादुर श्रेष्ठलाई सबैले श्रद्धापूर्वक प्रेम दाइ भनेर सम्बोधन गर्ने गर्दछन् । उनी अत्यन्त मिलनसार र सहयोगी व्यक्तित्वका रुपमा यस क्षेत्रमा परिचित छन् । तत्कालीन धवलागिरी अञ्चल, पर्वत जिल्लाको लिमी थापाठानामा पिता शिवलाल श्रेष्ठ र माता जयकुमारी श्रेष्ठबाट सन् १९४८ मा जन्मनु भएका श्रेष्ठ पढाईको सिलसिलामा सन् १९५८ मा पोखरा आई बसोबास गर्न थाले । श्रेष्ठ अहिले वुवा, मुमा, दिदी र भाइ सहितको परिवार पोखरा पार्दीमा (स्याउलेबजार) बसोबास गर्नुहुन्छ । उनको प्रारम्भिक शिक्षा मालेपाटन स्थित बाराही स्कूलबाट ज्ञान हाँसिल गर्दै तत्कालीन सोल्जर्स बोर्ड स्कुल (हालको अमरसिंह मा.वि.) बाट अध्ययन पूरा गरी पृथ्वीनारायण क्याम्पसबाट स्नातक तह सम्मको अध्ययन गर्न भ्याए । पढाई पुरा गरेपछि श्रेष्ठले केही महिना आफ्नै जन्मस्थल कार्कीनेटामा शिक्षकको रुपमा रही सेवा पु¥याए । २०२४ सालमा जिल्ला सहकारी संघमा मेनेजरको रुपमा प्रवेश गरी स्वदेश र विदेशबाट तालिम लिँदै प्रमुख व्यवस्थापक भई १० बर्ष सेवा गरे पश्चात् आफ्नै व्यवसाय संचालन गर्ने क्रममा “विन्ध्येश्वरी स्टोर्स एण्ड सप्लायर्स” व्यापारिक प्रतिष्ठान स्थापना गरे । निरन्तर ४० बर्ष उनले पुस्तक, स्टेशनरी, खेलकुद एवं अन्य शैक्षिक सामाग्री बिक्री वितरण गर्दै आएका छन् ।

आफ्नै जन्मस्थल लिमी थापाठानाका लिलाकुमारी सँग समाजसेवी प्रेमबहादुरको वैवाहिक सम्बन्ध हुन गयो । श्रेष्ठ दम्पत्तीका ४ छोरी र ३ छोरा छन् । जागिरमा सेवारत रहेकै अवस्था देखिनै विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै सोही विच सन् १९७६ मा लायन्स क्लव मार्फत संस्थापक सदस्यको रुपमा प्रवेश गरी नेपालीले पाउने उच्च पदमा श्रेष्ठ पुग्न सफल भए ।

जागिरमा रहेकै बखत तत्कालीन पार्दी प्राथमिक विद्यालयको अध्यक्ष भएका श्रेष्ठ स्याउलेबजार विच बाटो निर्माण समितिको सदस्य सचिव पनि थिए । नेपाल रेडक्रस सोसाईटी, वाल मन्दिरको (नेपाल वाल संगठन) आजीवन सदस्य श्रेष्ठ काहुँ भ्यू टावर निर्माण समितिको सदस्य (नन्दबहादुर मल्ल अं. संयोजक) भएर निर्माण कार्यमा लागे । काहुँ खानेपानी योजनाको सदस्य सचिव श्रेष्ठ सेभ द चिल्ड्रेन नेपालबाट गोरखामा संचालित एकिकृत विकास कार्यक्रमको कार्यकारिणी सदस्य पनि थिए । 

लायन श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्यमा निर्वाचित भई शुरुमा नै कोषाध्यक्ष को कार्यभार सम्हालेका थिए । तत्कालीन पुस्तक व्यवसायी संघ कास्कीको संस्थापक सदस्य सचिव, केही बर्ष पश्चात् कास्की शाखाको अध्यक्ष र पछि निर्माण भएकोे “नेपाल पुस्तक तथा स्टेशनरी महासंघ केन्द्रिय कार्यालय” को सल्लाहकार मण्डलको सभापति र धेरै बर्षसम्म सोही प्रकारको भूमिका निर्वाह गर्दै आएका समाजसेवी श्रेष्ठ । सन् १९७६ मा लायन बादमा प्रवेश पश्चात धेरै सामाजिक र सेवा कार्यहरुमा संलग्नरत हुने अवसर प्राप्त गरेको जसमध्ये सयौं आँखा शिविर र स्वास्थ्य शिविरमा पूर्ण रुपमा उनले आफ्नै नेतृत्वमा सेवा कार्यहरु सम्पन्न गर्न सफल भए ।

सन् १९७६ मा लायनवादमा प्रवेश गर्दा श्रेष्ठका कथा रमाईला छन् । उनी सहकारीमा जागिरे थिए । सहकारी व्यापारी संस्था भएको र (सरकारी कोटा का केही सामानको) जिम्मेवारी सहकारी संस्थाले लिएको र व्यवस्थापक भएको हैसियतले उनको सरकारी, गैर सरकारी, राजनैतिक र सामाजिक व्यक्तित्वहरु सँग सिधा सम्पर्क हुन्थ्यो । त्यसै क्रममा श्रेष्ठ पोखराको एअरपोर्ट स्थित होटल क्रिष्टलमा बेलाबखत जाने गर्दथे । त्यहाँ मेनेजर आर.के. मजुमदार भन्ने बंगाली बाबु थिए । त्यहाँ उत्तम पुन पनि आईरहने भएकाले श्रेष्ठको मजुमदार संग भेट भईरहन्थ्यो । 

एकपटक बम्बईबाट नवराज पटेल लगायत केही व्यक्ति त्यसै होटलमा आएका बेला पोखरामा लायन्स क्लब खोल्न सुझाव दिए । श्रेष्ठ कर्मचारी भएका कारण सम्पूर्ण जिम्मेवारी उत्तम पुनले लिने गरी २० जना सदस्य पु¥याउने र तत्कालीन होटल मन्दार मा पोखरा लायन्स क्लबको उद्घाटन गर्नको लागि तत्कालीन गण्डकी अञ्चलाधीश रामचन्द्रबहादुर सिंह लाई निम्तो गरियो । सिँहले शंका, उपशंका गरी आउन ईन्कार गरेपछि एक वयोबृद्धबाट उद्घाटन गरियो । अन्तर्राष्ट्रिय रजिष्टर्ड गर्न पठाउने क्रममा कुनै न कुनै एउटा लायन्स क्लबले स्पोन्सर गर्ने बाध्यात्मक नियम अनुसार काठमाण्डौको लायन्स क्लबले सो जिम्मा लियो र डा. अञ्जनिकुमार शर्मा, ठाकुर हिरासिंह लगायतले सहयोग गरेकाले पोखरा लायन्स क्लब अगाडि बढ्यो ।

प्रस्तावित अध्यक्ष उत्तम पुन सक्रिय राजनिति तर्फ उन्मुख रहेको कारण सामाजिक संस्थामा समावेश गरी राख्नु उपयुक्त नदेखि तत्कालीन पृथ्वीनारायण क्याम्पस प्रमुख जर्ज जोन सरलाई निम्तो गरी संस्थापक अध्यक्षको रुपमा स्थापित गरी क्लबलाई अन्तर्राष्ट्रिय मा विधिवत रजिष्टर्ड गरिएका पुराना दिन श्रेष्ठले स्मरण गरे ।

भलाम डाँडाखोर खानेपानी योजना र भलाम स्कुल निर्माण समितिको सचिव, तनहुँ क्याविन धरमपानी खानेपानी योजना र स्कुल भवन निर्माण समितिको कार्यकारिणी सदस्य, पोखरा पार्दी विरौटा स्थित राम मन्दिरको आजीवन सदस्य एवं सल्लाहकार छन् श्रेष्ठ । पर्वत जिल्ला थापाठाना खानेपानी योजनाको संयोजक श्रेष्ठ सराङ्कोट सामुदायिक परियोजनाको सदस्य सचिवको भूमिका निर्वाह गरेका थिए । लायनवादको विभिन्न पद र हैसियतमा कार्यरत रहँदै सन् १९९८ मा गर्भनरमा उनी निर्वाचित भए । सन् १९९९ मा स्वदेशमा लायन्सको सर्वोच्च पद काउन्सिल चियरमेनमा निर्वाचित श्रेष्ठ सन् १९९८ मा संसार भरका ७४२ जना गर्भनरहरु भध्ये सवै भन्दा बढी क्लब खोलने गर्भनर नेपाल को प्रेमबहादुर श्रेष्ठ भएको अन्तर्राष्ट्रिय स्तरमा घोषणा गरियो । लायन्स अन्तर्राष्ट्रिय नेपालमा लायनवाद को तर्फबाट सप्रमाण ठोस र दह्रो पहिचान दिन सफल, सोही बर्षको प्रभावले हालसम्म नै निरन्तरता पाएकोमा श्रेष्ठ अत्यन्त खुशी छन् । सोही काममा नेपाल बाट हटाउने विश्वव्यापी कार्यक्रममा सन् २००० मा नेपालको लागि लायन अन्तर्राष्ट्रिय बाट ग्राण्ट एडमिनिष्ट्रेटरमा श्रेष्ठ नियुक्ति भए ।

भैरहवा, परासी, पाल्पा र धनगढी मा आँखा अस्पताल भवन निर्माण कमिटिमा सदस्य एवं सल्लाहकार बनेका श्रेष्ठ लायन्स सर्भिस सेण्टर नारायणगढ को भवन निर्माण समितिमा सल्लाहकार, तनहुँको भानुभक्त क्याम्पस भवन निर्माणमा प्रमुख भूमिका खेले उनी तुलसीपुरमा सम्पन्न दाहसंसकार गृह निर्माणको सल्लाहकार थिए । दाङको तुलसीपुरमा अत्याधुनिक एम्बुलेन्स उपलब्ध गराउन प्रमुख भूमिका खेले श्रेष्ठले । महेन्द्रनगरमा सम्पन्न भव्य वस प्रतिक्षालय निर्माण कार्यमा सल्लाहकार श्रेष्ठ लेखनाथ सामुदायिक भवन निर्माण कार्यमा प्रमुख भूमिका एवं पोखरा माटेपानीमा सम्पन्न लायन्स सर्भिस सेन्टर भवन निर्माणमा प्रमुख भूमिका खेले । सोही भवन मा कम्प्युटर तालिम पनि संचालन गरे । लायन्स अन्तर्राष्ट्रिय बाट प्राप्त सहयोगको ग्राण्ट एडमिनिष्ट्रेटर श्रेष्ठ वीरगञ्ज घण्टाघर नजिक निर्माण सम्पन्न भव्य यात्रु प्रतिक्षालयको प्रमुख सल्लाहकार थिए । पोखरा एअरपोर्ट हाता भित्र सम्पन्न लायन्स चौतारी निर्माणमा प्रमुख भूमिका अन्तर्राष्ट्रिय डाईरेक्टरलाई आमन्त्रण गरी एकै पटक ३ वटा लायन्स क्लबको उद्घाटन नेपालमा प्रथम पटक ऐतिहासिक रुपमा सम्पन्न गर्न उनी पछि परेनन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीको पछिल्तिर स्थित जिल्ला सहकारी संघको भवन अमेरिकी सहयोग पि एल ४०० अन्तर्गत श्रेष्ठ प्रमुख व्यवस्थापक हुँदा निर्माण कार्य सम्पन्न भएको हो । यी र यस्तै धेरै विकास निर्माण एवं सेवाका कार्यहरुमा संलग्न हुँदै आफूले सकेको योगदान गर्दै आईरहेको परिप्रेक्षमा थप अन्य संघ संस्थामा पनि सहभागी श्रेष्ठ नौलो घुम्ती नेपालको संस्थापक अध्यक्ष, चिल्ड्रेन नेपालको सल्लाहकार, पोखरा पर्वत थापाठाना मिलन समाजको सल्लाहार, अर्वुद रोग निवारण संस्थाको आजीवन सदस्य, हिमालय आँखा अस्पतालको आजीवन सदस्य, कोपिला नेपालको अध्यक्ष पदमा सक्रिय बन्न पुगे ।

जीवनको ७२ बर्षमा प्रवेश गरी रहँदा अतित का यादगार र खुसी, विष्माद, दुख सुखका अनेकन स्मरण मानस पटलमा आएतापनि स्वेच्छाले गरिएको, लागिएको हुनाले परिवार बाट सकारात्मक सहयोग र समाजका मित्रहरका समर्थन, हौसला प्राप्त भएको कारण कुनै पश्चताप छैन । जे जति सेवा गर्न सफल भए त्यसको श्रेय आफ्नो परिवार समाजका मित्रहरुलाई दिन चाहन्छन् । समाजसेवी श्रेष्ठ यसैमा उनी आनन्द भेट्दछन् । समाजसेवामा ख्याती प्राप्त गरेकाले उनकोमा सहयोग माग्न आउनेहरुको कुनै कमी छैन । श्रेष्ठ पनि आफूले गर्न सक्ने सहयोग गर्दछन् ।

श्रेष्ठ अतितका राम्रा, सुख, खुसी र रमाईला क्षणहरुको स्मरण गर्दा आफ्नो मन प्रशन्न हुने बताउँछन् । व्यापार व्यवसाय तर्फका मित्रहरुबाट “बुबा” र लायन्स क्षेत्रका बा “प्रेम दाइ” भनी गरिएको सम्बोधन उनका लागि ठूलो सम्मान तथा पदवी हो । 

यसरी सामाजिक सेवा कार्यमा आफूलाई समर्पित गर्दा पनि उनमा कत्ति अहंकार छैन । सबैसँग मिठो बोल्ने र कसैसँग नरिसाउने उनको मिठो स्वभाव छ । धेरैले उनलाई घ्यु जस्तै नरम भनेर संज्ञा दिने गर्दछन् ।

समाजसेवी प्रेमबहादुर श्रेष्ठ राष्ट्रिय र अन्तर्राष्ट्रि व्यक्तित्वका रुपमा परिचित छन् । अधिकांश लायन्स क्लबहरुले उनलाई नै प्रमुख अतिथि बनाएर उनको हातबाट समुद््घाटन गर्ने गराउँछन् । श्रेष्ठले लायन वादको राम्रो व्याख्या गर्न सक्दछन् । श्रेष्ठलाई यस क्षेत्रको गौरव ठान्दछन् पोखराका अधिकांश लायन मित्रहरु ।


Post a Comment

0 Comments