संधै चित्र कोर्नमा नै व्यस्त । लाग्छ जीवन भनेकै व्यस्तता हो । कलाकारितालाइ एक प्रकारको मिठो आनन्द ठान्छन्– वरीष्ठ चित्रकार गोपाल श्रेष्ठ । पोखराको तेर्सापट्टीमा विगत ५० बर्षदेखि चित्र तथा साइनबोर्ड लेख्नमा व्यस्त वरिष्ठ पोखरेली कलाकार गोपाल श्रेष्ठ, जसले १५ हजार भन्दा बढी सुन्दर चित्र कोरेर देश, विदेशमा ख्याति कमाए । चित्र कोर्नु अघि वरीष्ठ कलाकार गोपाल श्रेष्ठले अध्यापन गर्नुको अलवा कार्यालयमा कर्मचारीको रुपमा पनि सेवा पु¥याए । उनका विचारमा परमात्माको कृपाले मानव शरीर पाइयो । शरीरको रुप धारण गरेपछि भोक, प्यास, रोगव्याधि सवै पाइँदो रहेछ । अनि लोभ, लालच, अहंकार पनि थपिँदो रहेछ । तर जे होस् अहिले आफैसँग सन्तुष्ट छन् । विहान वेलुकी ओशो ध्यान केन्द्रमा साधना गर्दछन् । उनी सबैलाई ध्यान साधनामा लागेर जीवन रुपान्तरण गर्न आग्रह पनि गर्दछन् ।
वि.सं. २००५ साल असार ५ गते पोखराको साँघुमुखमा जन्मिएका कलाकार श्रेष्ठका वावु बोधमान र माता हुन्– लालमायाँ । परिवार बगरबाट साँघुमुख सरे । अली ठूलो भएपछि गोपाल श्रेष्ठ नारायणस्थानको पोखरा पब्लिक स्कुलमा (हाल राष्ट्रिय उच्च मा.वि.) भर्ना भए । एस.एल.सी. प्राइभेट दिए । आई.ए. पढ्न पृथ्वीनारायण कलेजमा भर्ना भए । त्यसबेला उनका सहपाठी राधवलाल बैद्य, रामराज रेग्मी, वद्रिजंग गुरुङ, कृष्ण थापा, सुब्वालाल श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, ज्ञानबहादुर शेरचन, गणेशबहादुर श्रेष्ठ, टंकमान नापित, मदन गौचन लगायतका धेरै साथी थिए । उनी अंग्रेजी भाषामा निकै टाठा भएकाले दश कक्षा पढ्दै गर्दा अरु साथीलाई ट्युसन पढाउँथे ।
क्याम्पस पढ्दै गर्दा उनलाई शिक्षक हुन अफर आयो । हाल पोखरा महानगरपालिकाको कार्यालय भएको ठाउँमा प्राइमरी स्कुल थियो । त्यहाँ उनी मासिक ६०÷– रुपैयाँ तलब पाउने गरी माष्टर भए । त्यसबेला प्रदेशसभाका सदस्य विन्दुकुमार थापा दुई कक्षामा पढ्दथे । समयमा तलब पाईदैनथ्यो । त्यसबेला शिक्षक, कर्मचारीले हडताल गरेपछि ५÷६ महिनाको तलब पनि एकमुष्ठ प्राप्त भयो र तलव ६० को ठाउँमा ८० पाउँदा झनै खुशीको सिमा नै भएन ।
पछि उनलाई कास्कीको भोटेपोखरीको स्कुलमा सरुवा गरिदिए । कहिले घर नछोडेका मान्छे ! उनी हिँडेर भण्डारढिक, चिरगाढीको पुल तर्दै भोटेपोखरीमा पढाउन थाले । त्यसबेला तलबको अलवा छात्र–छात्राहरुले चामल, दाल, तरकारी हालेर सिधा दिने गर्दथे । शुक्रबार हाफ छुट्टीमा घर फर्कन्थे भने आइतबार एकविहानै उठेर हिडेर भोटेपोखरीमा खाना पकाई स्कुल पढाउन पुग्दथे । उनलाई साह्रै अप्ठेरो महशुस भयो । होम सिकनेस भएको महशुस गर्नुप¥यो । त्यहाँ ६÷७ महिना सेवा गरेपछि लोकसेवामा जाँच दिएर मुखिया पदमा । उनलाई जिल्ला सहकारी कार्यालयमा खटाइयो । यो प्रसंग २०२४ साल तिरको हो । त्यसबेला सहकारीले गाउँघरमा सस्तो पसल चलाउँथ्यो । यस्ता सस्तो पसल दर्ता गर्ने र अडिट गर्ने गरिन्थ्यो । सँगै अञ्चल सहकारी कार्यालय थियो जहाँ स्व. डा. चन्द्रप्रसाद गुरुङ खरदार थिए । हामी दुई बुटवलमा भएको एकाउन्टेन्ट ट्रेनिङ्गमा भाग लिन अफिसको रसियन जीवबाट सँग पुगेका थियौं– पुराना दिन सम्झदै कलाकार श्रेष्ठले भने ।
२०२६ सालमा वैंकको लोन सुपरभाइजरको पदका लागि दरखास्त हाल्दा खैरेनीटारको कृषि विकास बैंकमा जागिरे भए । त्यहाँ कृषकहरुसँग ऋण उठाउनका लागि लमजुङ्ग, तनहूँ, कास्की र स्याङ्जाका गाउँघरमा पुग्नु पर्दथ्यो । उनले लेखा सम्बन्धि तालिम प्राप्त गरेकाले बढी समय कार्यालयमा नै व्यतित गर्नुपर्दथ्यो । उनलाई कार्यालयमा केन्द्रित गरिएकाले सँगै काम गर्ने साथीहरु भने चित्त दुःखाउँथे ।
कलाकार श्रेष्ठले वाल्यकालमा बुवाआमा सँग देशका विभिन्न भागमा मेला, पर्वमा जाने गरेको स्मरण गर्दै भन्छन्– त्यसबेला ढुँगेसाँघुमा माघे सक्रान्ति, शिवरात्रीमा कर्पुटारमा मेला लाग्दथ्यो । हामी पनि बाबुआमासँग चिनी, पिठो आदि सामान बोकेर ती ठाउँमा पुग्ने गर्दथ्यौं ।
पछि त्यो जागिर सँग पनि सन्तुष्ट भएनन् कलाकार गोपाल । उनले निधो गरे– म पोखरामा आर्ट पसल खोल्छु । नभन्दै उनले २०२८ सालमा पोखराको तेर्सापट्टीमा गोपाल आर्ट खोले । शुरुमा साइनबोर्ड लेख्न सुरु गरे । त्यसबेला पोखराका व्यापारीहरु पसलमा साइनबोर्ड झुण्ड्याउन चाहदैनँथे । किनभने बोर्ड राखे बढी कर तिर्नुपर्छ भन्ने सोच्थे । तरपनि होटल व्यवसायी र सरकारी कार्यालयहरुले उनलाई बोर्ड लेख्न अर्डर दिन्थे । साइनबोर्ड लेख्दा चित्र कोर्नु पर्दथ्यो । जस्तो कि कपडा पसलको साइनबोर्डमा सुटेड, बुटेड पुरुष र सारी लगाएको महिलाको चित्र हाल्नुपर्दथ्यो । यसरी चित्र लेख्दै जाँदा उनमा कलात्मक चित्र कोर्ने रहर जाग्यो । हुन त उनी सानै उमेर देखि चित्र कोर्ने गर्दथे । छिमेकी खेमनारायण श्रेष्ठबाट कोरेका चित्रबाट अत्यन्त प्रभावित थिए ।
कलाकार श्रेष्ठले टोलबाट नचाइने गाईजात्रा नाचमा सक्रियतापूर्वक भाग लिन्थे । नाचमा भाग लिन भोटेपोखरीबाट घर आइपुग्थे । धेरै बर्ष उनी तायमचा (गाईजात्रा) मा नाचे । बाघजात्रामा पनि भाग लिए । दहीलिलामा सहभागी भए । पछि कलाकार सिगार्ने काम गरे । नृत्य प्रतियोगिता हुँदा मेकअप गर्न उनलाई बोलाइन्थ्यो । उनी सबैलाई सक्दो सहयोग गर्दथे । उनले हालसम्म पनि राम्रा राम्रा चित्र कोर्दैछन् जसका कारण उनलाई कलाकारितामा क्षेत्रिय पुरस्कार ०७२ प्राप्त भयो । त्यस्तै पोख्रली युवा साँस्कृतिक परिवारले ललितकला पुरस्कारद्वारा सम्मान गरेको छ । उनलाई रोटरी क्लव, भैरव साँस्कृतिक संरक्षण समिति, नेवा खल लगायतका संस्थाले कदरपत्र प्रदान गरेको छ । उनको चित्रमा विशेष गरी धर्मदर्शनको आधुनिक व्याख्या, ध्यानसाधनाको महिमा झल्कने खाल्को चित्र बढी मात्रामा भेटिन्छ । उनले बैदाममा धेरै वर्ष ग्यालरी चलाए । साथै उनी फिङ्गर प्रेसरथेरापीका ज्ञाता पनि हुन् । माओवादी द्वन्द चरम अवस्थामा पुगेको बेलामा उनले वैदामको ग्यालरी बन्द गरिदिए । उनले धेरै पटक एकलकला चित्र प्रदर्शनी गरेका छन् । यसै क्रममा उनी दक्षिण कोरिया पुगे । भारतमा भएको अन्तराष्ट्रिय कला प्रदर्शनी १९९७ मा सहभागी भए । देशका हरेक ठाउँमा भएको चित्रकला कार्यशालामा आफूलाई सहभागी गराउँदै आएका छन् कलाकार श्रेष्ठ । पोखरामा हुने सामुहिक कला प्रदर्शनीमा कलाकारहरुले उनलाई सहभागी गराउने गर्दछन् । उनी अग्रज कलाकार स्व. कृष्णप्रसाद श्रेष्ठ, दुर्गा बराल (वात्सायन) लाई प्रेरणाको श्रोतको रुपमा लिने गर्दछन् । उनी क्रियटिभ आर्टिस्ट ग्रुपका संस्थापक सदस्य एवं हाल सल्लाहकार सदस्य हुन् । पोखराको युवा साँस्कृतिक परिवारका आजीवन सदस्य श्रेष्ठ नेपाल कलाकार समाज काठमाण्डौका सदस्य पनि हुन् ।
वि.सं. २०३५ सालतिर ओशोपे्रमी मित्रहरु घर–घरमा आचार्य रजनिशका पुस्तक विक्री गर्दै आए । गोपाल श्रेष्ठले पनि अमृत कि दिशा भन्ने पुस्तक किने । उनले पुस्तक पढेपछि यस्तो लाग्यो– मैले खोजेको मान्छे यही नै हुनुपर्छ । उनले ओशोप्रेमीसँग ओशो रजनिशका बारेमा थप जानकारी लिए । त्यसबेला पोखरा व्यापार संघको हलमा ध्यान केन्द्र थियो । ध्यान गर्दागर्दै भारतको पुनामा गई ओशो रजनिशलाई भेट्ने इच्छा जाग्यो उनलाई । त्यसबेला गोविन्दहरि पालिखे, तेजरत्न शाक्य, गोपाल श्रेष्ठ, अर्जुन श्रेष्ठ र सुवर्ण कायस्थ पुना पुगेर ओशो रजनिशको हातबाट सन्यास लिए । गोपाल श्रेष्ठ स्वामी गोपाल भारती बने । उनले अहिलेपनि ओशो आर्ट ग्यालरी संचालन गरेका छन् पोखराको तेर्सापट्टीमा ।
पोखरामा ओशो कम्युन बनेको थियो छिनेडाँडामा । जहाँ स्वामी योगचिन्मय रहनुहुन्थ्यो । पछि सन् १९८६ मा ओशो अमेरिकाबाट पुना फर्किएपछि पोखरामा कम्युनको औचित्य रहेन र बन्द गरियो ।
स्वामी गोपाल भारती ध्यान गर्नुहुन्छ प्रत्येक दिन विहान, बेलुका । ओशोका पुस्तक ध्यान शिविरको विज्ञान अनुवाद गरेका श्रेष्ठले । उनले ओशोका साहित्य र प्रवचन क्यासेट विक्री वितरण पनि गर्दथे ।
अहिले श्रेष्ठलाई धेरैले वरिष्ठ कलाकारका रुपमा चिन्ने गर्दछन् । उनका चित्रहरु अहिले स्वदेशी तथा विदेशी पाहुनालाई उपहारको रुपमा दिने गरिन्छ । हरेक सम्पन्न र कलाप्रेमीका घरमा उनले कोरेका चित्रहरु देख्न पाइन्छ । कला सौन्दर्यताको प्रतीक हो । चित्रकला दृष्यकला पनि हो । जो स्वयंमा सत्यं, शिवं, सुन्दरम् हुनै पर्छ । कलालाई मनको उपजका रुपमा हेर्ने गर्दछन् वरिष्ठ कलाकार श्रेष्ठ । कलाकारिता कोर्दै गर्दा उनी आफैलाई पनि विर्सन्छन् । नयाँ कलाकारमा टेक्निकल पक्ष बढी भएता पनि कलाकारिताको दृष्टिकोणले कमजोर भएको ठान्छन् कलाकार श्रेष्ठ । उनले कसैलाई गुरु थापेर कलाकारिता गरेनन् । जीवनलाई, अनुभवलाई साक्षी राखेर अघि बढे र सफलता हासिल गरे । वरिष्ठ कलाकार दुर्गा बराल श्रेष्ठलाई यथार्थवादी कलाकार भन्न मन पराउँछन् ।
शान्त स्वभावका वरिष्ठ कलाकार श्रेष्ठ कसैसँग झै झगडा गर्दैनन् । आफ्नै साधनामा, कलाकारितामा रमाएका छन् । लाग्छ– उनका कोही शत्रु छैनन् । उनी भन्दछन्– पोखरामा माछापुच्छ्रे हिमाल नभएको भए फेवातालले जोडी पाउँदैनथ्यो । त्यस्तै फेवाताल नभएको भए माछापुच्छ्रे एक्लै उभिनु पथ्र्यो । वरिष्ठ कलाकार श्रेष्ठलाई २०७६ फागुन महिनामा चेतना संरक्षण प्रतिष्ठान विराटनगरले रु. ५१००० को थैली सहितको कलाकारीता सम्मान प्रदान ग¥यो ।
वि.सं. २०३१ सालमा उनले भैरहवा निवासी निता कार्कीसँग प्रेमविवाह गरे । उनीहरुका २ सुपुत्री र एक सुपुत्र छन् । बडो आनन्दमय तवरबाट जीवन गुजार्दै भन्छन्– चित्रकलामा सिक्ने क्रम कहिलै सकिंँदैन । जीवन अविरल यात्रा हो । म बुद्धत्वको खोजीमा छु । विश्व प्रसिद्ध कलाकार कुनै कलेजका उत्पादन होइनन् । जव कि कलाकारहरुबाट नै कलाकारिताको विकास भएको हो । म सबैलाई सम्मान गर्छु । मलाई सवै कलाकार मन पर्छ र उनीहरुका कलाकृति पनि ।
पुस्तकको नामः व्यक्ति र व्यक्तित्व
लेखकको नामः रवीन्द्र माकाजू
ठेगानाः मालेपाटन, पोखरा
फोनः ९८१७१०७६२५
प्रकाशनः २०७७ आषाढ
पुस्तक डिजाइनः कृष्ण कम्प्युटर
(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।)
धन्यवाद !!!






0 Comments