शिक्षासेवी चतुरमान श्रेष्ठ

चार दशकभन्दा लामो समयसम्म शिक्षा क्षेत्रमा निरन्तर र सक्रिय योगदान दिएका शिक्षासेवी हुन्—चतुरमान श्रेष्ठ । वि. सं. १९९३ कार्तिक २० गतेको जन्म हो उनको । उमेरले ८३ बर्ष नाघिसक्दा पनि जाँगरि
ला छन्, अझै लेखपढमा गहिरो रुचि राख्छन् । शैक्षिक क्षत्रमै जीवन समर्पण गरेका उनी सन्तुष्ट देखिन्छन्— लाग्छ जीवनमा कुनै पश्चाताप छैन । ईश्वरका कृपाले उनको जन्मथलो हुन गयो पोखराको लामाचौर गाउँ, पुरुषार्थको लागि उनको कर्मथलो बन्यो पोखराको हेमजा गाउँ, अठतीस बर्ष लामो दीर्घसेवा वित्यो जीवन ती क्षणहरु उपल्लो हेमजास्थित गौरीशङ्कर माध्यमिक विद्यालयमा ।

सुन्दर गाउँ हेमजा । जहाँबाट माछापुच्छ्रे हिमाल छर्लङ्ग अगाडि देखिन्छ । माछापुच्छ्रेको फेदीबाट बगेर आएको सेती नदी हेमजासँगैका छिमेकी गाउँहरू पुरञ्चौर र लामाचौरसँगको साँध भएर बगेको छ । सीमावर्ती गाउँहरू रिभान, धिताल, लाहाचोक, घाचोक, पुरञ्चौर, लामाचौर र कास्कीकोटबाट घेरिएर केन्द्रमा बसेको छ हेमजा गाउँ । यसको दक्षिणतर्फ पोखरा बजार अवस्थित । छिमेकका गाउँहरूभन्दा तुलनात्मक रुपमा ठूलो क्षेत्रमा फैलिएको हेमजाले शहरीकरणको छनक भेट्याइकेको छ । देशभरि नै स्थानीय तहसम्मै सङ्घीय पुनर्संरचना लागु भए यता हेमजाले आफूलाई पोखरा महानगरपालिकाको अन्तरगत वडा नं. २५को रूपमा पाएकोछ । यस्तै गरी हेमजाबाट सेती नदीपारि दक्षिणपूर्वमा रहेको लामाचौर गाउँलाई पोखरा महानगरपालिकाको वडा नं. १९ बनाइएको छ । अहिलेपोखरा नगरपालिकाको अंश बनाइए पनि शिक्षासेवी चतुरमानलाई आफ्नो जन्मथलो लामाचौर होस् या कर्मथलो हेमजा, दुबैलाई गाउँ नै भनेर सम्बोधन र आत्मसात गर्न मन पराउँछन् ।

नेपाल खाल्डो (काठमाण्डू उपत्यका) बाट बसाइँ–सराइ गरी अन्यत्र हिडेका नेवार समुदायका कैयौँ मानिस विभिन्न ठाउँहरूमा साना–ठूला बस्ती–समुहहरू बनाएर बसेका भेटिन्छन् । यही क्रममा भक्तपुरबाट काका र भतिजा जयनरसिंह र बिन्द्रासिैह नामका दुुई परिवार कास्की जिल्लाको पोखरा उपत्यकामा स्थित लामाचौर गाउँमा आई बसे । जयनरसिैह पट्टिका चौँथो पुस्ताका हुन् चतुरमान । पिता कुलमान श्रेष्ठ र माता पद्मकुमारी श्रेष्ठका कनिष्ठ पुत्र । दाइ दिलबहादुर श्रेष्ठ सात बर्षको र उनी एक बर्षको हुँदा उनका पिताको देहान्त भएको थियो । अत्यन्त दयनीय, सामाजिक र आर्थिक अवस्थाले घेरिएको तात्कालीन ग्रामीण परिवेशमा उनकी सोझी सुधी माताको काँधमा दुई नावालक सन्तानको लालन–पालनको जिम्मेबारी कठोरतम हुन गएको थियो । यसरी एउटी एकल महिलाको धैर्यता, सहनशीलता, सङ्घर्ष र तपको कथा–व्यथासँगै गाँसिएर अभाव र अवहेलना सहित अघि बढ्न थाल्यो– चतुरमानको शैशवकाल र युवावस्था ।

छिमेकका अग्रज कृष्णमान श्रेष्ठ (भगतमान श्रेष्ठका पिता) बाट अनौपचारिक रूपमा कखराको प्रारम्भिक शिक्षा पाए उनले । २००४ सालतिर आधार शिक्षाको पाठ्यक्रम बमोजिम पोखराको विन्ध्यबासिनीमा पाठशाला खोली पढाउँनका लागि काठमाण्डूबाट ज्ञानमान डङ्गोल नामका शिक्षकलाई खटाइएको रहेछ, तर पोखरामा आएपछि विन्ध्यबासिनीमा स्थानीयहरूको सहयोग नपाउँदा उनलाई अन्ततः लामाचौरतर्फ लगिएछ र लामाचौरका स्थानीय सुब्बा रणबहादुर केसीको घरमाबसी वरपरका बच्चाहरूलाई पढाउँनका लागि व्यवस्था मिलाइएछ । लहैलहैमा चतुरमान पनि त्यहाँ पढ्न पुगे । २००५ सालमा आधार पाठशालालाई केही व्यवस्थित गरेर बाटुलेचौरमा सारिएपछि उनी त्यहाँ पनि पढ्न गए । ज्ञानमान डङ्गोल काठमाण्डू फर्किए, त्यसपछि सो आधार पाठशालामा पढाउँने कार्यलाई निरन्तरता दिने काम भयो पण्डित मुक्तिनाथ तिम्सिना र तश्रीकान्त अधिकारी जस्ता गुरुहरूबाट । सोही आधार पाठशालाको विस्तारित र विकसित रूप नै बाटुलेचौरस्थित हालको विन्ध्यबासिनी माध्यमिक विद्यालय हो । विन्ध्यबासिनी आधार पाठशालामा त्यस बेलाका उनका सहपाठीहरू कृष्णप्रसाद श्रेष्ठ, टुकबहादुर कार्की, लिप्तबहादुर पाण्डे, देवबहादुर श्रेष्ठ,कृष्णलाल तिम्सिना, चोमनाथ तिम्सिना, लोकनाथ तिम्सिना, सोमनाथ तिम्सिना, यमनाथ देवकोटा लगायतका थिए ।

बाटुलेचौरको आधार पाठशालाबाट पाँच कक्षा उत्तीर्ण भएपछि थप शिक्षा हासिल गर्न उनी पोखराको नदीपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालय–पछि टुँडिखेलमा सारिएको) मा भर्ना भए । २०१४ सालमा एस. एल. सी. को परीक्षा दिन काठमाण्डू जानु पर्ने भयो । त्यस ताका एस. एल. सी. को परीक्षा केन्द्र पोखरामा थिएन, परीक्षा दिन काठमाण्डू नै जानुपथ्र्यो । पोखरा–काठमाण्डूको सडक बाटो बनिसकेको थिएन, तर हवाई यातायात भने थियो । काठमाण्डू जाँदा कि पैदल यात्रा गरेर जानु पथ्र्यो कि हवाई मार्गबाट । ६ दिन लगाएर काठमाण्डू पुग्दा चार रूपैयाँ पचास पैसा खर्च भएको उनलाई अझै सम्झना आउँछ । परीक्षा दिएर काठमाण्डूबाट फर्किने बेला भने उनलाई पहिलो पटक हवाईजहाज यात्राको अनुभव गर्ने मौका मिल्यो । त्यस बखत काठमाण्डूबाट पोखरा आएको हवाईजहाज यात्राको भाडा दर बाउन्न रूपैयाँ थियो, विद्यार्थी सहुलियत एक चौथाइ कटाएर उनन्चालीस रूपैयाँ को खर्चमा उनी पोखरा फर्किएका थिए ।

एस. एल. सी. परीक्षा उत्तीर्ण भएपछि २०१५ सालमा पोखराको कास्कीकोट स्थित रजस्थल प्राथमिक विद्यालय (हालको मातृभूमि प्राथमिक विद्यालय) का प्रधानाध्यापक नियुक्त भए शिक्षाप्रेमी चतुरमान । विद्यालय थियो नाम मात्रको, न भवन, न कुनै भौतिक सुविधा । उनी बाहेक अरू शिक्षक थिएनन् । त्यहाँ एउटा पौवा थियो, त्यसमै उनले बाँसका साटाबाट बेञ्चहरू बनाउँन लगाएर विद्यार्थीहरूलाई पढाउन थाले । विद्यार्थीहरूको सङ्ख्या बिस्तारै बढ्न थाल्यो । त्यसै क्रममा उनले नर्मल शिक्षक तालिममा सहभागी हुने अवसर पाए । नर्मल शिक्षक तालिमको अभ्यास शिक्षण (प्राक्टिस टिचिङ्) गर्न उनी आफैँ पढेको बाटुलेचौरस्थित विन्ध्यबासिनी विद्यालयमा पुगे । त्यहाँ उनका विद्यार्थीहरू लामाचौरका चिनबहादुर बस्नेत, बाटुलेचौरका नरहरि शर्मा भट्टराई, शालिग्राम अधिकारी, भलामका माधव शर्मा, बलराज पौडेल, घार्मीका तोयनाथ पौडेल आदि भएको उनी अहिले पनि सम्झिन्छन् ।

नर्मल शिक्षक तालिम लिएपछि २०१७ सालमा उनी जोमसोम मार्फा स्थित जनबाल मिडिल स्कूलका प्रधानाध्यापक नियुक्त भएर त्यसतर्फ गए । हिमाली क्षेत्रको मार्फा जस्तो ठाउँमा हिउँ र ठण्डीका कारण अन्यत्र सुगम ठाउँमा जस्तो पूरा बर्षभरि पठन–पाठन हुदैनथ्यो । छ महिनापछि उनी मार्फाबाट पोखरा फर्किए । त्यसपछि हेम्जास्थित गौरीशङ्कर मिडिल स्कूलका प्रधानाध्यापकका रूपमा आफ्नो शिक्षण पेशालाई निरन्तरता दिन थाले ।

पोखरामा २०१७ साल भदौबाट पृथ्वीनारायण क्याम्पसमा कलेज स्तरको पढाइ हुन शुरु भएको थियो । मार्फाबाट फर्किएपछि उनी त्यहाँ आइ.ए. मा भर्ना हुन पुगे । लामाचौर खत्रीडहर स्थित घरबाट पोखराको बगरस्थित भीमकाली पाटनमा रहेको पृथ्वीनारायण क्याम्पसमा गई बिहान आइ. ए. को पढाइ गर्न हतार–हतार खाना खाई हेम्जास्थित विद्यालयमा पढाउँनका लागि जानुपथ्र्यो । साँझपख हेम्जाबाट लामाचौर घरमा फर्किनु—यस किसिमको हुन्थ्यो उनको दैनिक जीवनचर्या । त्यस बेला पृथ्वीनारायण कलेजको पहिलो विद्यार्थी समूह (प्रथम ब्याच) का उनका सहपाठीहरू डिल्लीरमण आचार्य, श्यामबहादुर केसी, सूर्यरत्न शाक्य, घनश्याम मर्सानी, केशवराज राजभण्डारी, झपटबहादुर शेरचन, निलबहादुर केसी, बासुदेव पौडेल आदि भएको उनी सम्झिन्छन् । पृथ्वीनारायण क्याम्पसका शुरुआती दिनहरूमा गुरु जोर्ज जोनले दिएको योगदानको उनी कदर गर्छन् । २०१८ सालको चैत्रमा काठमाण्डू गई आइ.ए. को परीक्षा दिएर फर्किए पछि उनले २०१९ सालमा काजमा ६ महिनासम्म पुनः जोमसोमको मार्फास्थित जनबाल मिडिल स्कूलमा प्रधानाध्यापक भएर सेवा गरे । त्यसपछि पुनः गौरीशङ्कर मिडिल स्कूल हेम्जामै फर्किए । पृथ्वीनारायण कलेजमा २०२० सालबाट बि. ए. को पढाइ शुरु भएपछि मात्र उनले स्नातक तहको पढाइ गर्ने अवसर पाए । आई.ए. पढ्दा जस्तै बिहान पृथ्वीनारायण कलेजमा बि.ए. को पढाइ हुन्थ्यो भने दिउँसो हेमजाको विद्यालयमा पढाउँन पुग्नुपथ्र्याे ।

२०२२÷२३ सालतिर भूमिसुधारमा जागिर खुल्दा धेरै शिक्षक सरकारी जागिर खान तर्फ लोभिए । साथीहरूको लहैलहैमा उनले पनि दरखास्त फारम लिएर आए तर आफूले विद्यालय छोड्दा विद्यार्थीहरूको बिचल्ली हुने देखेर दरखास्त फारम नै च्यातिदिए । त्यसपछि लोक सेवामा जागिर खुल्दा पनि कति शिक्षकहरू शिक्षण पेशा छोडेर हाकिम हुन पुगे, तर चतुरमानले आफूले विद्यालय छाडे विद्यालय नै लथालिङ्ग हुने अवस्था देखेर लोक सेवाको जागिरतर्फ लोभिएनन् । शुरुमा गौरीशङ्कर विद्यालयमा आठ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । २०२२ सालमा विद्यालयलाई माध्यमिक तहको बनाइयो र उनकै पालामा २०२४ सालमा गौरीशङ्कर माध्यमिक विद्यालयबाट एस.एल.सी. दिने विद्यार्थीहरू धेरै तयार भए । 

उति बेला विद्यालयमा शिक्षकलाई समयमा तलब दिन सकिदैनथ्यो । गाउलेहरूसँग चन्दा सङ्कलन गर्नु पर्दथ्यो । सरकारी अनुदान साह्रै थोरै आउथ्यो । २०१८ सालमा पौडेल परिवारबाट ३५ रोपनी जग्गा विद्यालयको नाममा दानस्वरुप हस्तान्तरण गरिएको थियो । यो कार्यमा हेम्जाका तत्कालीन प्रधानपञ्च गुञ्जबहादुर सापकोटा र मुखिया मनपति पौडेलको ठूलो योगदान रहेको श्रेष्ठ बताउँछन् । यो जग्गाबाट फलफूल (सुन्तला) तथा अन्य कृषि उपज मार्फत् विद्यालय सञ्चालनका लागि आर्थिक रूपले टेवा मिलेको थियो ।

चतुरमान स्वयं कर्तव्यनिष्ठर अनुशासित हुँदा विद्यालयमा शिक्षकहरू पनि अनुशासनमा रहन्थे । अनुशासित शैक्षिक वातावरणमा विद्यालयले क्रमिक प्रगति गर्दै गयो । विद्यालयले आजपर्यन्त पनि निरन्तरता पाइनैरहेकोमा खुशी व्यक्त गर्छन् शिक्षासेवी श्रेष्ठ । २०२१ सालमा हेमजाका स्थानीय मुकुन्दशरण उपाध्याय (कवि तथा ब्याकरणकार) बनारसबाट शास्त्री उत्तीर्ण गरेर गाउँ फर्किए पछि गौरीशङ्करमा पढाउँन आए । कतिले उनलाई विद्यालयको प्रधानाध्यापक बनाउँनु पर्ने तर्क पेश गरे भने कतिले चतुरमान नै प्रधानाध्यापक हुनुपर्छ भन्ने तर्क राखे । मान्छेहरूमा मतभिन्नता सिर्जना भएको थियो । समस्याको समाधानका लागि चतुरमानले स्थितिलाई सहजतापूर्वक लिई मुकुन्दशरणलाई तपाईँ प्रधानाध्यापक बन्न चाहनुहुन्छ भने बन्नुहोस् म छोडिदिन्छु भन्दा मुकुन्दशरणले चतुरमानलाई नै प्रधानाध्यापक बनाउँनु पर्छ म बन्दिनँ भने । यो समस्या सहजै समाधान भयो, चर्किन पाएन ।

२०२५ सालमा अङ्ग्रजी भाषाको तालिममा भाग लिन चतुरमान काठमाण्डूको ताहाचलमा पुगे । त्यसबेला उक्त तालिममा सहभागी हुन जाने अन्य शिक्षकहरूमा पोखराबाट दुर्गादत्त गौतम र सूर्यरत्न शाक्य पनि थिए । प्रख्यात शिक्षाविद् केदारभक्त माथेमा पनि उक्त तालिममा सहभागी हुनेहरू मध्ये एक थिए ।

२०२९÷३० सालमा बि एड तालिममा सहभागी हुन उनी त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर पुगे । २०२५ सालमा भएको अङ्ग्रजी भाषाको तालिमका उनका सहपाठी मित्र केदारभक्त माथेमा भने बि एड तालिमको बेला पढाउँने शिक्षक भएर आएका थिए । केदारभक्त माथेमाको प्रखरता, सादगीपन र मिलनशारिताको स्मरण र सम्मान अहिलेपनि गरिरहन्छन् चतुरमान ।

बि एड तालिम पछि दोस्रो दर्जा (सेकेण्ड क्लास) को शिक्षकमा उनको पदोन्नति समेत भयो तर त्यस पछि यता उनको पदोन्नति हुन सकेन । उनमा सरलता, सादगी र सोझोपन थियो, शैक्षिक अुनशासनको दृढता थियो र शिक्षाक्षेत्र राजनीति र राजनैतिक प्रपञ्चहरूबाट मुक्त हुनु पर्छ भन्ने अटल धारणा थियो । पञ्चायत कालमा दलगत राजनीतिक प्रतिबन्ध नै थियो, यद्दपि प्रत्यक्ष र परोक्ष दलगत झुकाव राख्ने शिक्षक तथा कर्मचारीहरू हुन्थे नै । २०४६ सालपछि भने सबै क्षेत्रमा राजनीतिका दलका गुट–उपगुटगत क्रियाकलापहरूको बिगबिगी खुल्ला र छाडा रूपमै बढ्दै गएको र यस किसिमको चरम राजनैतिक ध्रुवीकरण, गुट–उपगुटबादमा व्यक्तिगत र गुटगत स्वार्थको खेती फस्टाउँदै गएको दुरावस्थामा चतुरमान सधैँभरि तटस्थ रहन रुचाए । शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमा कास्की जिल्लाको वरिष्ठतम स्थानमा उनको नाम थियो, तर उनको पेशागत वृत्तिविकास या पदोन्नतिले न्यायोचित निकास भने पाउन सकेन । उनलाई सन्तोष नै लाग्यो– आफू एक सफल शैक्षिक कार्यकाल ब्यतित गरेर उमेरको हदबन्दीका कारण निवृत्त हुँदा । उनी निवृत्त भएको २÷३ महिना पछि कास्की जिल्लाका शिक्षकहरूको लामो समयदेखि अघि बढ्न नसकेको पदोन्नतिको फाइल अन्ततः अघि बढ्यो र उनीभन्दा कनिष्ठ कतिपय शिक्षकले आफूलाई प्रथम दर्जाको भनेर भनाउँन सक्ने भए ।

समयक्रममा हेम्जा क्षेत्रबाटै एस.एल.सी. पास हुनेहरूको सङ्ख्या बढ्दै जान थालेकोले त्यस भेकका विद्यार्थीहरूको सुविधाको दृष्टिकोणबाट हेम्जामा एउटा कलेजको आवश्यकता महसुस भयो । यसर्थ विद्यालयमै गौरीशङ्कर क्याम्पस सञ्चालन गर्ने कार्यमा चतुरमानले सस्थापक सदस्यका रूपमा महत्वपूर्ण भूमिका खेले । चार बर्षसम्म विद्यालय प्राङ्गणमै क्याम्पस सञ्चालन भएको थियो । उनले त्यसबेला विद्यालय हातामा क्याम्पस भवन बनाउँनु भन्दा अन्यत्र बनाउँदा भविष्यका लागि उपयुक्त र सुविधासम्पन्न क्याम्पस हुने विचार व्यक्त गरेका थिए । हाल गौरीशङ्कर क्याम्पसको भवन विद्यालय हाताभन्दा अलग्गै स्थानमा निर्माण भई सञ्चालन भइरहेको पनि छ ।

२०२८ सालदेखि नेपालमा नयाँ शिक्षा योजना लागु भएको हो । शिक्षकको तलब जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराउँदा विद्यालय सञ्चालन गर्न धेरै सजिलो भएको अनुभव चतुरमान बताउँछन् । २०२९÷३० सालपछि त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह (डिग्री) मा पढ्ने विद्यार्थीहरूले पाठ्यक्रम बमोजिम अनिवार्य रूपमा दुर्गम स्थानका गाउँहरूमा गएर एक बर्षसम्म सेवा गर्नु पर्ने राष्ट्रिय विकास सेवा (राविसे) को कार्यक्रम शुरु भएको थियो । २०३०÷३१ सालबाट २०३५÷३६ सम्म त्रिभुवन विश्वविद्यालयका केही विद्यार्थी गौरीशङ्कर माध्यमिक विद्यालय हेम्जामा पनि आए । विद्यालयमा पानी र बत्तीको सुविधा नदेखेपछि उनीहरूकै पहलमा पानीको पाइप र बिजुलीको लाइन जोड्ने काम भयो । पछि पोखरा लेडी जेसिस नामको संस्थाको सहयोगबाट विद्यालयमा व्यवस्थित शौचालयको निर्माण भयो । समयक्रममा रेयुकाई लगायत अन्य सङ्घसंस्था र स्रोतहरूको सहयोगमा विद्यालयमा थप भवनहरु निर्माण कार्य हुँदै गए, विद्यालयमा विद्यार्थीहरूको संख्या बढ्न थाल्यो । निवृत्त भइसकेपछि पनि चतुरमान आफूले लामो समय सेवा गरेर बिताएको विद्यालयमा बेला–बेलामा गइरहन्छन् । विद्यालयको प्रगतिलाई निकै अभिरुचिका साथ नजिकैबाट बुझिरहेका छन् । विद्यालयको बार्षिक उत्सवमा यथासम्भव उपस्थिति जनाउँन उनी भुल्दैनन् पनि ।

२०३६ सालमा भएको शैक्षिक आन्दोलनमा चतुरमान पनि संलग्न भएका थिए । यो आन्दोलनले शिक्षकहरूका लागि निवृत्तिभरण (पेन्सन), सञ्चय कोष, उपदानको व्यवस्था र औषधि उपचार खर्चको पक्कापक्की व्यवस्था गरेको थियो ।


विद्यालय प्रधानाध्यापकका रूपमा शैक्षिक सेवामा सेवारत हुँदाहुँदै बि. ए., बि. एड. सम्मको औपचारिक शिक्षाको अध्ययन गरेका चतुरमानले आफूलाई थप समयानुकुल बनाउने क्रममा लामो अन्तरालपछि २०४८ सालमा निजी अध्ययनका आधारमा (प्राइभेट विद्यार्थीका रूपमा) राजनीति शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट एम. ए. को शैक्षिक योग्यता हासिल गरेको प्रसङ्ग उनका सहकर्मी शिक्षक साथीहरू र विद्यार्थीहरूको लागि समेत प्रेरणा स्रोत बनेको थियो । औपचारिक या अनौपचारिक जुन सुकै रूपमा किन नहोस, शिक्षा र सिकाइ कार्य जीवनपर्यन्त चलिरहने प्रक्रिया हो भन्छन्– चतुरमान । आजको समय बिन्दुबाट पछाडि फर्किएर सिंहावलोकन गर्दा आधुनिकता र विश्व मापदण्डका नाममा देशले अवलम्बन गरेका शैक्षिक नीति तथा कार्यक्रमहरू कति सकारात्मक कति नकारात्मक सावित भएको सामान्य टिप्पणी गर्ने चतुरमान नैतिकवान,चरित्रवान र संस्कारवान, समाजमुखी, राष्ट्रभक्त र कर्तव्यनिष्ठ,एवं नेपाली माटो, मन र मौलिकता अनुरुपको जनशक्तिको विकास र विस्तारका लागि शिक्षालयमा अङ्ग्रेजी  माध्यम भाषा र शैलीतर्फको अन्धझुकाव र अन्धदौड प्रत्युत्पादक हुँदै गएको तर्क राख्छन् ।

उमेरको हदबन्दीका कारण विद्यालयबाट अवकाश लिनु परेता पनि शैक्षिक क्षेत्रप्रतिको लगावका कारण उनी निजी विद्यालय सञ्चालनमा संलग्न भएका थिए । तर उनलाई शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण, अस्वस्थ प्रवृत्ति तथा बाह्य प्रभाव र दबाबसहितका नीतिगत विचलनका कारण देखापरेको विकृत परिस्थितिले निरुत्साहित बनायो र निजी विद्यालयमा उनको संलग्नताले निरन्तरता पाउन सकेन । समग्र शिक्षा क्षेत्रलाई राजनीति र व्यापारबाट मुक्त गर्दै सरकारी तथा सामुदायिक विद्यालयहरूलाई नै सुधार र सबलीकृत गरिँदै लगिनु पर्ने धारणालाई समर्थन गर्छन् शिक्षाप्रेमी श्रेष्ठ ।

यसरी जीवनभर शिक्षा क्षेत्रमै रमाएका चतुरमान श्रेष्ठको शैक्षिक योगदानको कदरस्वरूप पोखरास्थित जोर्ज जोन प्रतिष्ठान लगायत विभिन्न सङ्घ संस्थाहरूले उनलाई सम्मान पत्र, दोसल्ला र अभिनन्दनपत्र प्रदान गरेका छन् । निवृत्त जीवनकालमा उनको सक्रिय संलग्नता जन्मथलो लामाचौर र कर्मथलो हेमजाका विभिन्न शैक्षिक, धार्मिक एवं सामाजिक संस्थाहरू रहदै आइरहेको छ ।

२०१८ सालमा चतुरमानको विवाह गमनकुमारी श्रेष्ठसँग भएको थियो । श्रेष्ठ दम्पत्तिका चार सुपुत्री र एक सुपुत्र छन् ।

व्यक्तिगत र सामाजिक जीवनमा सरल, मिलनसार र सहयोगी स्वभावका चतुरमान सामाजिक न्याय र अनुशासित जीवनका पक्षधर हुन् । सरल जीवन र उच्च विचारलाई मूलमन्त्र बनाएका श्रेष्ठको जीवन समग्रमा सफल, सादगीपूर्ण र सार्थक भएको पाईन्छ । जिन्दगी आफैँमा थुप्रै तितामिठा उतारचढावहरूको सङ्घर्षमय, सुन्दर शिलशिला हो । परमात्मासँग सबैको भलो होस् भन्ने कामना राख्ने शिक्षासेवी चतुरमानको आठ दशकभन्दा लामो दीर्घ जीवनवृत्तले सकारात्मक सोच, सत्यनिष्ठा र कर्तव्यपरायणताको पाठ सिकाउँछ । शैक्षिक पेशाबाट परिवारको सामान्य जीविका धान्न सहायक अर्थोपार्जन भएन भन्ने होईन, सामान्य गुजारा चल्यो । जीवन  असहज भएन, तर शिक्षकको निख्खर तलबबाट सम्पत्ति नै जोड्ने भन्ने सवालै भएन । व्यक्तिगत स्वभावले पनि सम्पत्तिप्रतिको मोह र पद लोलुपता या झुकाव बनेन उनको, अन्यथा शैक्षिक पेशा नै छाडेर आर्थिक रूपमा बढी लाभकारी हुन सक्ने अन्य पेशातर्फ लाग्न सकिने अवसरहरू पनि आए । उनका सामु अनेक विकल्प हुँदाहुँदै जसको चुनाव उनीबाट भएन । आज फर्किएर हेर्दा पेशागत र समग्र जीवनबाट उनलाई धेरै  सन्तोष मिलेको उनी स्वीकार्छन् ।

उनी भन्छन्—“पढाएर धन कमाइएन, यसमा कुनै पश्चाताप पनि छैन । किनकि धन कमाइले दिने सन्तुष्टि क्षणिक हुन्छ । म जस्तो शिक्षकले कमाउने भनेको धन होईन, त्यो भन्दा कैयौं गुणा मूल्यवान र महत्वपूर्ण धन कमाएको छु, त्यो हो विद्यार्थीहरुको  माया । हो, मैले माया, सम्मान, सद्भाव जस्ता अमूल्य खजाना कमाएको छु, मेरा विद्यार्थीहरू, उनीहरूका अभिभावकहरू तथा कर्मथलोको बृहत् समुदायबाट।विभिन्न ठाउँहरूमा जाँदा,जब आफूले पढाएका विद्यार्थीहरूलाई प्रत्यक्ष भेट्ने संयोग जुर्छ, या अहिले विश्वभरि विभिन्न देशदेशान्तरमा रहनुपर्दा बर्षौदेखि सम्पर्कै हुन नसकेकाहरूसँग, जब सामाजिक सञ्जाल मार्फत् अकस्मात सम्पर्क हुन्छ, मलाई असीमित हर्ष लाग्छ । उनीहरूका हालखबर जान्न पाउँदा । आफूले पढाएका विद्यार्थीहरूले आ–आफ्नो जीवनमा हासिल गरेका प्रगतिका खबरहरू नै काफी हुँदा रहेछन् एउटा शिक्षकलाई हर्षोत्कर्षमा पु¥याउँनलाई । उनीहरूको हृदयमा शिक्षकप्रति शिष्यभावले सदा फूलिरहने, फक्र्रिरहने, आदर, सम्मान र सद्भावरूपी पुष्पहरूनै हुन् एउटा शिक्षकको सर्वोत्तम कमाइ । 


पुस्तकको नामः व्यक्ति र व्यक्तित्व

लेखकको नामः रवीन्द्र माकाजू

ठेगानाः मालेपाटन, पोखरा

फोनः ९८१७१०७६२५

प्रकाशनः २०७७ आषाढ

पुस्तक डिजाइनः कृष्ण कम्प्युटर

(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।) 

धन्यवाद !!! 

Post a Comment

0 Comments