आध्यात्मिक जगत्को एक सुन्दर फूल राजयोगिनी परिणीता

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र पोखराले करीब २१ करोड लागतमा पोखराको फूलबारीमा दिव्यशान्ति अनुभूति केन्द्र निर्माण कार्यको शिलान्यास गरेको छ । वास्तवमा यो केन्द्र निर्माण पश्चात पर्यटकीय नगरी पोखराका लागि थप आकार्षक गहना बन्न जाने विचार व्यक्त गर्दछन्– राजयोगीनी ब्रह्मकुमारी परिणीता । यसका लागि उनी अहोरात्र खटिएकि छिन् । अहिले धेरैका लागि जिज्ञासाको विषय बनेको छ, आखिर को हुन् ? ब्रह्मकुमारी राजयोगीनी परिणीता ।

पश्चिमाञ्चल क्षेत्रका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीतालाई आजभन्दा ४० वर्ष अगाडि पोखरामा देखेको हुँ । उनीहरूको लगन, अथक प्रयास र सेवाका कारण आज यो संस्थाले विश्वविद्यालयको साकार रूप लिएको छ । हजारौंका संख्यामा ब्रह्माकुमार र ब्रह्माकुमारी जन्मिएका छन् । राजयोगिनी ब्रह्माकुमारी कमला, सावित्री, अप्सरा लगायतले ईश्वरीय सेवा पु¥याइरहेका छन् समाजमा । जसको श्रेय म आदरणीय परिणीता दिदी, सुरेन्द्र दिदी र शैलेषराज बराल आदिलाई दिन चाहन्छु ।

शुरूदेखिनै मैले उनीहरूको निकट रहेर सनातन धर्म सेवा समिति मार्फत धेरै काम गर्ने अवसर पाएँ । उनीहरुका मीठा बोलीबचन, आत्मीय व्यवहारले सधैं म प्रभावित हुने गरेको छु । राजयोगिनी ब्रह्माकुमारी परिणीताको वतृत्वकलाबाट प्रभावित नहुने कोही हुँदैनन् । सायद उनकै प्रभावका कारण धेरैले आफूलाई रूपान्तरित गरेको हुनुपर्छ । राजयोगिनी ब्रह्माकुमार्री परिणीतालाई देख्नेबित्तिकै धेरै भाइबहिनी आफूलाई ब्रह्माकुमारी परिणीताको रूपमा देख्न र हेर्न चाहन्छन् । अर्थात उनको व्यक्तित्वलाई अनुकरण गर्न चाहन्छन् । अर्को शब्दमा भन्नुपर्दा उनी विश्वविद्यालयको एउटा सेम्पल प्रडक्ट हुन् । उनीमा मानवीय मूल्य र मान्यताका साथ अनेकौं दिव्य गुण समाहित भएको आभाष मिल्छ । धेरै भाइबहिनीको भनाई अनुसार परिणीता दिदी आध्यात्मिक फूलबारीको एउटा यस्तो फूल हुन् जसबाट संयम, धैर्य, त्याग, दया र करूणाको सुगन्ध फैलिरहन्छ । उनीलाई एकपटक भेट्नेहरू जीवनभर प्रभावित हुन्छन् । सधैं सकारात्मक धारणा बोक्ने हुनाले हर समस्यालाई सहजतापूर्वक समाधान गर्ने व्यक्तित्वको रुपमा चिनिन्छन् ।

ईश्वरीय सेवामा सँधै समर्पित राजयोगीनी परिणीता कार्यक्रममा समयमै पुग्ने, समयको महत्व बुझ्ने, कथम्कदाचित् समयमा पुग्न नसके त्यसको पूर्व जानकारी गराउने बेग्लै स्वभाव छ । सरलता, सादगी, विनम्रता, उत्साह र उमंग जस्ता दिव्य गुणहरु विद्यमान छन् । हरेक समस्यालाई सहज ढंगले समाधान गर्न सक्ने वेग्लै खुबी छ परिणीतामा । संधै चरित्र बललाई प्रधानता दिने छुट्टै विशेषता छ । एउटा छुट्टै पावरफुल र हेल्पफुल व्यक्तित्व लाग्छ– परिणीता । वास्तवमा सबैका लागि प्रेरणाका श्रोत, अध्यात्म जगत्का लागि चुम्बकिय व्यक्तित्व हुन राजयोगिनी परिणीता ।

४० बर्षमा ईश्वरीय संस्थाको संख्यामात्र बृद्धि नभएर भौतिक विकास र आचरणमा समेत परिवर्तन भएको छ । पश्चिम नेपालमा मात्रै १५० भन्दा बढी सेवा केन्द्र छन् । यत्तिकै संख्यामा गीता पाठशाला । सनातन धर्मलाई सरल, सहज र व्यवहारिक बनाएर एउटा मूल्य, मान्यता स्थापना भएको देखिन्छ । कर्मकाण्ड, रूढीवाद, परम्परागत मूल्य र मान्यतालाई वैज्ञानिक रूपमा रूपान्तरण गर्नुपर्ने आजको परिस्थितिलाई यस संस्थाले सहयोग पु¥याइरहेको भेटिन्छ । सायद यिनै कारणले होला समाजले यो संस्थालाई आत्मसात गरेर सहयोग पु¥याएको छ । ब्रह्माकुमारी कुनै धर्म नभई यो जीवन जिउने कला हो भन्ने अवधारणा अहिले सबैका सामु प्रष्ट देखिन्छ । सनातन धर्मका मूल मर्म र भावनालाई आत्मसात गरी चरित्रबल र आत्मशक्तिका माध्यमबाट मानवलाई देवता समान तुल्याउने महान् कार्यमा जुटेका ब्रह्माकुमारी परिणीताको योगदानको राज्य, समाजले पनि उच्च मूल्याङ्कन गर्नुपर्दछ । राजयोगिनी परिणीता व्यक्ति नभई व्यक्तित्व पनि हुन् । जसले सधैँ समाजलाई सकारात्मक सोंच र सही मार्ग निर्देशन दिने गरेका छन् । सामाजिक सद्भाव, सहिष्णुता, आपसी एकता र मेलमिलापका सन्देश दिने गरेकाले उनी जातजाति, वर्ग, सम्प्रदाय, भाषा, धर्मभन्दा माथि उठेका व्यक्ति हुन् । उनको लामो योगदान त्याग र समर्पणका दृष्टिले बन्दनीय छ । उनका असल विचार, पवित्र हृदय पूजायोग्य देखिन्छ । उनी निराशावादीहरूका लागि आशाका ज्योति हुन् । शील, सदाचारलाई धारणा गरेका नेपाल आमाको एक सुपुत्री । उनको चित्त शान्त छ । तृष्णा र घृणालाई त्यागेर पवित्र आत्मामा रमाएका छन् । न उनको कसैसँग द्वेष छ न कसैप्रति अनुराग । एउटा अचम्मको व्यक्तित्व लाग्छ– राजयोगिनी परिणीता । सवै भाइबहिनीहरु उहाँलाई बडी दिदी भनेर सम्बोधन गर्ने गर्दछन् ।

उनको जन्म वि.सं. २०१५ साल अर्थात् सन् १९६० अगष्ट २२ मा भारतको गोरखपुर जिल्लामा भएको थियो । उनको पुर्खौली घर लमजुङ र मामाघर कास्कीको धान्द्रुक थियो । पिता भारतीय सेनामा गोरखपुरमा कार्यरत भएकोले उनको पढाई गोरखपुरको कार्मल इ्न्टर कलेजमा भयो । उनी चार दिदीबहिनीमा तेस्रो थिइन् । स्कूल पढ्दा उनी नन्स सिस्टर डोरेन्डाको सम्पर्कमा पुगिन् । जसले मोरल साइन्स प्रेरणादायी तवरबाट शिक्षा प्रदान गर्दथिन् । धेरैजसो मदर टेरेसा, स्वामी विवेकानन्द आदि महात्माहरुको उदाहरण दिन्थिन् । त्यहीँबाट उनको जीवनमा आध्यात्मिकताको दियो बल्न थाल्यो । १३ बर्षको सानै उमेरमा परिणीता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको सम्पर्कमा पुग्दा राजयोगीनी सुरेन्द्र दिदीलाई देखिन् । उनको अनुहारमा तेज, आँखामा दिव्यता, मधुर मुस्कान देखेर परिणीतालाई गहिरो प्रभाव प¥यो । उनको प्रवचन सुनेर मख्ख परिन् । अनि घरिघरि आश्रम आउन निम्तो पनि पाइन् तर पिताको कडा अनुशासनमा बस्नु पर्दा उनी बेलाबखत मात्रै आश्रम पुग्ने गर्थिन् । एकदिन बनारसमा कुमारीहरुको लागी योगभट्टी (तपस्या) कार्यक्रम हुँदैछ भन्ने खबर पाईन् । सुरेन्द्र दिदीले परिणीतालाई निम्तो दिइन् । बनारसको निम्तो पाएपछि उनी त्यहाँ जान आतुर भइन् तर हजुरबुवा र बुवाको डरका कारण आमाले अनुमति दिन सकेनन् तर परिणीताको जिद्दीले गर्दा माताले विवश भएर अनुमति दिइन् । सन् १९७३ को घटना हो । उनी जीवनमा पहिलो पटक आमासँग र परिवारसँग टाढा भएर जीवनको बेग्लै अध्याय सुरु गरिन् ।

१५ दिनको तपस्या भट्टीपछि उनले घर नफर्कने निधो गरिन् । त्यहाँ आउँदा पिंजडाको पंक्षी स्वतन्त्र भए जस्तो लाग्यो परिणीतालाई । उनले यो समाचार घर पठाइन् । घरमा हल्लाखल्ला भयो । जताततै यो खबर सुनेर सबैले चर्को विरोध जनाए । यो खबर सुनेर उनका बुवा विदा लिएर घर आई  । आमालाई बेस्करी गाली गरे । छोरीलाई मेरो अगाडि ल्याएर देखाऊ भने । प्रेम माताजीसँग आक्रोस पोख्दै उनका बुवाले भने– मेरो नबुझ्ने छोरीलाई ललाई फकाई कतिमा बेचिदियौ ? तिमीलाई मुद्दा हालम् ?

परिवारको चर्को विरोध सुनेर सुरेन्द्र दिदीले एकपटक जसरी भएपनि घर जाने सल्लाह दिइन् तर परिणीताले स्वीकार गरिनन् । उनलाई थाहा थियो घर गएपछि म फर्कन पाउन्न । उनी निश्चिन्त भएर शिव वावाको कोठामा गई बाबाको निर्णय मागिन् । 

त्यसबेलाको घटना र प्रसंग उल्लेख गर्दै प्ररिणीताले भनिन्– मैले पितालाई तिन पानाको पत्र लेख्न सुरु गरेँ । जुन पत्र मेरो पहिलो र आखिरी पत्र थियो । पत्रमा मैले लेखेको थिएँ– बुवा ! म तपाईंकी प्यारी छोरी मात्र होइन पुत्र पनि हुँ । म तपाईको नामलाई रोशनी गर्नेछु । म यस्तो काम गर्नेछैन जसले तपाईको शिर झुकोस् । मैले यस्तो बाटो रोजेँ जो तपाईले सुन्दा नमिठो लाग्ला, कठोर लाग्ला तर मेरो लागि यो सुवर्ण अवसर हो । मैले परिवार, समाज, विश्व उद्धारको लागि जीवन वलिदान दिन चाहन्छु ।

सायद यो पत्रले मेरो बुवाको हृदयलाई छोयो या छोएन, तर जहाँसम्म मलाई लाग्छ छोएको हुनुपर्छ । 

शौभाग्यवश केही दिनपछि आदरणीय गुल्जार दादीजीको अंग संगमा रहेर एक महिना दिल्लीको पाण्डव भवनमा आशा दिदीजी र अन्य दिदीसँग ट्रेनिङ्ग लिने अवसर पाइन् र त्यसपछि माउण्ट आबू जाने मौका मिल्यो ।

सन् १९७४ मा अव्यक्त बापदादा (परमात्मा) सँग मिलन हुन पाउनु उनको जीवनको अविस्मरणीय क्षण बन्यो । उनलाई लाग्यो– त्यस घडीमा बाबाले मलाई वरदान दिइराख्नु भएको छ । त्यही वरदान नै उहाँको जीवनमा गीताको सार बन्न पुग्यो ।

३÷४ वर्षसम्म भारतका विभिन्न स्थानहरूमा सेवा गरेपछि नेपालमा सर्वप्रथम भैरहवामा सुरेन्द्र दिदीको साथमा रहेर सेवा शुरू गर्ने अवसर पाईन् । पछि गएर ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको शाखा भैरहवामा सिफ्ट भयो, पछि त्यही घर उनका हजुरबुवा क्याप्टेन मनवीर गुरूङ्गले आश्रमलाई दान दिए । परिणीता भन्दछिन्– नेपालको हकमा भन्नुपर्दा पहिला ईश्वरिय सेवामा समर्पित हुने परिवार बलबहादुर बाजेको परिवार हो । बाजेबज्यै, जमुना र छोरी सिमा नेपाल र भारतको विभिन्न स्थानमा सेवा गर्दै हाल बुटवलमा सेवारत छिन् । त्यस्तै ठूलो छोरी मधु बहिनी र छोरा मोहन भाइ बनारसमा सेवारत छन् । 

बुटवल, पोखरा, पाल्पा, नेपालगञ्ज, धनगढी, दाङ शाखाहरूको विस्तारसँगै साथै अनेक बहिनीहरू र भाइहरू त्यहाँ समर्पित हुँदै गए । त्यतिबेला नेपालको भूमिमा सेवा गर्नु कम गाह्रो काम थिएन । कर्मकाण्डमा डुबेका र अन्धविश्वास, अन्धश्रद्धाले देवीदेवताको नाममा पशुवलि दिने, तामसिक आहारविहार मासमदिराको सेवन गर्ने चलन प्रचुर मात्रामा थियो । आध्यात्मिक क्रान्तिको चेतना जगाउन पवित्रताको सन्देश दिन र सात्विक आहार विहारको धारणा गराउन परमात्माको दिव्य सन्देश दिने कार्य फलामे चिउरा चवाए जस्तो भएको अनुभव सुनाउँछिन्– परिणीता ।

उनी सम्झन्छन्– सेवाको क्षेत्रमा सबैभन्दा कठोर संघर्ष गर्नुप¥यो पोखरामा, समय थियो सन् १९७८ । पोखरामा ईश्वरिय विश्वविद्यालयलाई निम्ता गरी तन, मन, धनले सेवा गर्ने, स्वर्गीय क्याप्टेन जोगबहादुर गुरूङ (बृटिश लाहुरे) थिए । उनका श्रीमती प्रेमकुमारी जसलाई हामीले क्ष्यामा भन्ने गर्दथ्यौं । हाल उनी अमेरिकामा छिन् । अर्को व्यक्तित्व थिए– स्व.मेयर हर्कबहादुर गुरूङ । वि.सं. २०३५ सालमा पोखराको महेन्द्रपुलको मिज्यू होटेलको सानो दुई कोठा भाडामा लिई सेवा गर्दै गयौं । एक महिनापछि त्यही महेन्द्रपुलमै श्रीकान्त अधिकारीको घर भाडामा लिएर एक वर्षसम्म बसें । भाडा तिर्न गाह्रो भएपछि फेरि नयाँबजारमा भूतपूर्व सैनिकको अगाडि एउटा सानो घर लियौं । त्यतिबेला त्यो समाज जसले सेता वस्त्र लगाएकालाई हेयको दृष्टिले हेर्ने गर्दथ्योे । देखेपछि अशुभ हुने शंका गर्थे । ईशाई धर्म प्रचार गर्न आएको हो कि या भारतको विस्तारवाद हो कि भन्ने ठान्दथे । सबैभन्दा धेरै विरोध वाधा अड्चन आयो अर्घौैमा । धेरै विरोधको सामना गर्नुभयो । गीता पाठशालालाई आगो लगाउने, शिवको झण्डा उखेल्ने र जिल्ला प्रशासनमा उजुरी दिएको सायद मेरो जीवनको सबैभन्दा ठूलो चुनौति थियो । त्यो घडीमा मलाई साथ दिने शुभद्रा माताजी जसले सुदामाले झैैं चामलको मुट्ठी बोकी ल्याएर दिनुहुन्थ्यो । पोखरा आश्रममा छाक टथ्र्यो । आश्चर्यको कुरा, जुन स्थानमा धेरै विरोध भयो, त्यही ठाउँबाट परिवारका परिवार ईश्वरिय सेवामा समर्पित भए । सावित्री बहिनी, दिपेन्द्र भाइजीको परिवार गीता बहिनी एवं अन्य बहिनीहरू लगायतले समाजको विरोधलाई वास्ता नगरी तन, मन, धनसहित ईश्वरीय कार्यमा ठूलो योगदान दिए । 

ती  पुराना दिन सम्झँदे परिणीता भन्दछिन्– आज ४० वर्षको सेवाको अन्तरालमा धेरै अनुभव बटुल्ने अवसर पाएँ । तर आज यो अलौकिक यात्रामा म एक्लै छैन । मै तो अकेला ही चला था जानिवे मञ्जिल, मगर लोग साथ आते गये, कारवा बनता गया । त्यतिबेला पोखरामा त्यो व्यक्तित्व रवीन्द्र माकाजू (सनातन धर्म सेवा समतिका अध्यक्ष), लाई भुल्न सक्दिन जसले मलाई हरेक सेवामा साथ र प्रोत्साहन दिए ।

थापा निवासमा हुने बेलामा शिक्षाविद् स्व. गणेश गुरूङको आमा हरिप्रिया गुरूङ र बाबा स्व.शेर बहादुर गुरूङ र यस ईश्वरीय विश्वविद्यालयको सदस्य बने (हाल हङ्गकङ्गमा) जसले नयाँबजारमा जमिन दान दिए । जहाँ आज संस्थाको विशाल भवन छ । त्यहींबाट खासगरी गण्डकी प्रदेशमा सेवा भयो र अनेकौं शाखा खुल्दै गयो । 

मानवताकै सेवामा समर्पित उहाँको जीवन, चरित्र देख्दा मलाई कहिलेकाहीँ यस्तो लाग्छ– मानवताको पूजाभन्दा अर्को कुनै पुण्यकार्य छ जस्तो लाग्दैन । मानवताकै सेवाले नै मान्छे महान् बन्दछ । व्यक्तिगत स्वार्थ र खुशी त्याग्न सक्नेले नै मानवताको सेवा गर्न सक्दछ । राजयोगिनी परिणीताबाट समाजले सिक्नुपर्ने पाठ धेरै छन् । सबैलाई सुख दिन खोज्ने, अरूलाई सहायता गर्न पाए हुन्थ्यो भन्ने आन्तरिक चाहना र ईच्छाले उनी सबैका प्रिय हुनुहुन्छ । सधैं अन्तर्मनबाट हाँस्ने स्वभावले उहाँका कोही पराई छैनन् ।

सधैं अरूका सेवामा आतुर हुने उहाँको स्वभावको कारण समाजले पनि उहाँका अभियानलाई साथ दिएका छन् । यसर्थ उहाँ शक्तिका श्रोत हुनुहन्छ । सामान्य शिक्षा हासिल गरेता पनि आध्यात्मिक चिन्तन र साधनाका कारण उहाँको प्रशिक्षणले ठूला ठूला पढेलेखेका विद्वान, डाक्टर, प्रशासकलाई पनि मार्ग दर्शन गर्दछन् । उहाँको प्रशिक्षण क्लास लिइसकेपछि कसैले प्रोफसर भन्दा कम आँक्न सक्दैनन् । कतिपयले त प्रोफेसरका पनि प्रोफेसर भन्दछन् । जुन उहाँको अर्को महत्वपूर्ण पक्ष हो । उहाँले जीवनमा धारणा गरेको ज्ञान र तपस्या अहिले धेरैका लागि वरदान सावित भएको छ । ‘एउटा फूल फूले यहाँ सारा धर्ती जगमगाउँछ’ भने जस्तै उहाँले प्राप्त गरेको अनुभूतिले सबैका जीवनमा प्रकाश छरिदिएको छ । सबैलाई सान्त्वना मिलेको छ । परमात्मा शिवको कृपा बर्सिएको यस्तो लाग्छ अर्को शब्दमा सबै सुखी र भाग्यमानी भएका छन् । सबैले आफूलाई अहोभाग्य ठानेका छन् । जीवनमा सकारात्मक सोंच, चिन्तन र धारणा हुनासाथ जीवन बदलिन्छ र अहोभाग्यमा रूपान्तरित हुन्छ । यस अर्थमा उनले पुण्यकर्म गरेका छन् । 

सुरुका दिनका घटना हो महेन्द्रपुलको आश्रममा एकजना कुमारी बस्दथिन् । तीनका आमा ती कुमारी नानीलाई लिन आइन् । आमाले बच्चालाई लछारपछार गर्न थाल्यो । परिणीताले ती मातालाई भनिन्– माताजी यो नानीलाई लछारपछार नगर्नुस् । राम्ररी संझाएर घर लानुस् । त्यो दिन त्यो नानी घर गइनन् । बरु परिणीताले सम्झाएर भनिन्– नानी अहिले तिमी आमासँग घर जाऊ पछि आमाको स्वीकृति लिएर यहाँ आऊ । नभन्दै ती नानी आफ्ना घर गई केही दिन घर बसेर आश्रममा फकिईन् ।

वि.सं. २०७० सालको घटना हो– उहाँको स्वास्थ्मा सामान्य गडवडी देखियो । स्वास्थ्य चेकअप गर्नका लागि काठमाण्डौ जाँदै हुनुहुन्थ्यो । अप्रेशन गर्नुपर्ने भयो । अस्पतालमा अप्रेशन भयो तर अस्पतालको प्रशासनको सामान्य लापारवाहिले हिटरका कारण उहाँको शरीरका केही भाग जल्न पुग्यो । घटना सामान्य थिएन । त्यसबेला उहाँलाई होस थिएन । केही दिनपछि उहाँलाई होश आयो । कतिले यो घटनाको विरुद्धमा अदालतमा मुद्दा हाल्नुपर्ने । प्रहरीमा उजुरी गर्नुपर्ने प्रसंग चलाए । तर उहाँले पूर्वजन्मको कर्मको हिसाब नै होला, मैले भोग्नुपर्ने भएर यो दुःख भोगें । यसमा कसैको पनि दोष छैन । म क्षमा दिन तयार छु भनेर हृदयको विशालता प्रकट गरिन् ।

उनको योगदानको कदर स्वरुप विभिन्न संघ संस्थाले आदरपत्र र कदरपत्र प्रदान गरेका छन् । उनी सनातन धर्म सेवा समितिबाट प्रदान गरिने सनकमान श्रेष्ठ स्मृति पुरस्कारद्वारा सम्मानित भएकी छिन् । ४० बर्षभन्दा बढि समयसम्म निरन्तर ईश्वरीय सेवा प्रदान गरेकोमा वि.सं. २०७४ सालमा भव्य अभिनन्दन समेत गरिएको थियो । 


पुस्तकको नामः व्यक्ति र व्यक्तित्व

लेखकको नामः रवीन्द्र माकाजू

ठेगानाः मालेपाटन, पोखरा

फोनः ९८१७१०७६२५

प्रकाशनः २०७७ आषाढ

पुस्तक डिजाइनः कृष्ण कम्प्युटर

(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।) 

धन्यवाद !!! 

Post a Comment

0 Comments