मेरो सम्झनामा पिताश्री डम्बर लाल माकाजूलाई चिनेको जानेको ४÷५ कक्षा पढ्दा देखि हुनुपर्छ । त्यस भन्दा अगाडि मेरो स्मृतिमा मातापिताको बानि व्यहोरा बारे केही हेक्का छैन । बुबाले जहिले पनि म खेलिरहेको ठाउँबाट मलाई कान समातेर घरमा ल्याएर भन्नुहुन्थ्यो– खुरुक्क पढ ! म पढ्न तिर भन्दा जैले पनि कान छिन्यो कि छिनेन भनेर कान तिर हेर्ने गर्दथेँ । सोच्थेँ– कानको भाग केही छिनेको हुनुपर्छ । रिसको झोकमा पढ्न मन जाँदैनथ्यो । चलनै छ, रिसाएको बेलामा बाहुनले त बेद पढ्दैन । म मात्र किन पढ्थे र ? तैपनि बुबा कोठाबाट ननिस्कुन्जेल किताबमा आँखा लगाउँथे । बुवा बाहिर जाना साथ फेरी कुलेलाम ठोकेर खेल्न जाने गर्दथ्ये । यो क्रम धेरै बर्ष चल्यो । सायद एस.एल.सी. परिक्षा नदिइन्जेसम्म चल्यो । तर अहिले आएर त्यो घटना सम्झँदा मलाई यस्तो लाग्छ– यदि मैले त्यसबेला बुबाको कुरा मानेको भए अहिले म विद्वान र शिक्षित बन्न पुग्थें । र समाजमा मेरो महिमा हुन्थ्यो ।
मेरा पिताजी अर्थात् डम्बरलाल माकाजूको जन्म वि.सं. १९८७ साल माघ २१ गते भएको चिना हेरेर थाहा पाएँ । उहाँले धेरै वर्षसम्म पढ्न पाउनु भएको थिएन । पोखरामा स्कुल खोलेपछि मात्रै अक्षर चिन्नु भयो र २०१० साल सम्ममा १० कक्षा पास गर्नुभयो । १० पढेपछि गाउँमा मास्टर हुन जानुभयो । सबैभन्दा पहिला लाहाचोक, घाचोकमा पढाउनु भयो । पोखराका पुराना समाजसेवी नारायणप्रसाद द्वा का भनाई अनुसार पिता डम्बरलाल लाहाचोक स्कुलका हेडमास्टर हुँदा उहाँका आग्रह अनुरुप पोखराबाट नाटक टोली गई सत्य हरिश्चन्द नाटक मञ्चन गरेका थियौँ । त्यसपछि उहाँ अर्मलाको सीताराम स्कुलमा हेडमास्टर भएर जानुभयो । त्यसबेला सीताराम प्राथमिक विद्यालयमा पढाउने गर्नुभएको त्यसै विद्यालयका पूर्व विद्यार्थी दिलप्रसाद गुरुङ बताउँछन् । पिताजी वरपाण्डेथुम भरतपोखरीको शान्तिउदय माध्यमिक विद्यालयमा पुग्नुभयो । विद्यालयद्वारा प्रकाशित स्वर्ण जयन्ती स्मारिकामा पूर्व शिक्षकको लिस्टमा पोखरा साँघुमुखका डम्बरलाल माकाजूले २०१७ सालमा पढाएको त्यहाँ उल्लेख गरिएको छ । उहाँले अर्मलाको स्कुलमा पूर्व मन्त्री एवं अन्चलाधीश लक्ष्यबहादुर गुरुङलाई पढाएको बारम्बार घर आएका साथीहरुलाई सुनाउने गर्नुहुन्थ्यो ।
पुराना फुटबल खेलाडीहरूका भनाई अनुसार पिताज ि२०१३ साल तिर विजय टिमको क्याप्टेन हुनुहुन्थ्यो । त्यसबेला विजय टिम निकै लोकप्रिय थियो । संधै विजय प्राप्त गर्ने हुनाले त्यो टिमको नाम नै विजय टिम हुन पुग्यो । पोखरामा फुटबल खेल कहिलेदेखि शुरु भयो भन्ने कुराको कुनै ऐतिहासिक दस्ताबेज नभएपनि उहाँका अनुसार २००९ सालदेखि पोखरामा विधिवत फुटबल प्रतियोगिता हुने गरेको थियो । मेजर घनविक्रम राणाको विशेष पहलमा २०१३ सालमा गण्डकी कप भएको थियो भने २०२४ सालमा थकाली च्यालेन्ज शिल्ड प्रतियोगिता भएको थियो । त्यस लगतै पोखरामा अनेक नाममा फुटबल प्रतियोगिता सुरु हुन थाल्यो । फुटबलका पुराना खेलाडी एवं शिक्षाविद् केदारनाथ कायस्थका भनाइ अनुसार पोखराको टुँडिखेल र रानीपौवाको सैनिक क्याम्पमा फुटबल प्रतियोगीता हुन्थ्यो । प्रहरी टिम र मिलिट्री टिम जुत्ता लगाएर खेल्थे भने विजय टिम, धौलागिरी टिमका खेलाडीहरु नाङ्गो खुट्टा फुटबल खेल्थे । सैनिक एवं प्रहरीहरुको बुटबाट अन्य टोलीहरु निकै पिडित थिए ।
फुटबल प्रतियोगिता भैसकेपछि हार्नेहरु रिसाउँथे र अवसरका खोजीमा बस्थे । एक पटक पाल्पाको टोली हारेपछि पाल्पाको वडा हाकिमले फुटबल प्रतियोगिता नै क्यान्सिल गरिदिए । डम्बरलाल दाइ फुटबल खेल्ने भनेपछि हुरुक्कै हुन्थे । पसल बन्द गरेर भएपनि खेल्न जान्थे– पुराना ती दिन सम्झदै शिक्षाविद् कायस्थले भने । ०१३ सालमा भएको गण्डकी कप प्रतियोगितामा विजय टिमले सफलता हात पा¥यो तर त्यो प्रतियोगितालाई उल्ट्याएर हार्नेहरुले शिल्ड बोकेर हिंडे । पछि पुनः प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा विजय टिमले नै सफलता हात पा¥यो । त्यसपछि पोखरामा धेरै फुटबल टोली निस्किए । जसमध्ये अमरसिंह स्कुलको टिम, रामकृष्ण टोलको जागृति क्लब, भैरवटोलको बालमन्दिर क्लव, पृथ्वीनारायण कलेजको टिम, नेश्नल हाई स्कुलको टिम त्यसबेला निकै चर्चामा थियो ।
बिजय टिमबाट फुटबल खेल्नेहरुमा यज्ञमान साई, लोकबहादुर रन्जित लगायतका केही खेलाडी अहिले पनि जिवितै छन् । पिताजीका भनाई अनुसार पहिलापहिला पोखरामा भकुण्डो (बल) किन्न पाइँदैनथ्यो । कपडा पोको पारेर भकुण्डो बनाएर खेलिन्थ्यो । नाङ्गो खुट्टाले बल खेल्नुपथ्र्यो जब कि मेल्ट्रीहरु बुट लगाएर फुटबल खेल्थे ।
२०२३।२४ सालतिर उहाँले गण्डकी अञ्चल अस्पतालमा विरामीहरुलाई विस्कुट बाँड्ने ठेक्का लिनुभएको थियो । सानै छँदा उहाँ सँग अस्पताल पुगेको सम्झना मेरो स्मृतिमा अझै ताजै छ । त्यसबेला उहाँले मेजर विरसिंह भन्ने महापुरुषले यो अस्पताल बनाएको भन्ने सन्देशले मेरो मनमा गहिरो प्रभाव पारेको थियो ।
मैले जान्दाखेरी नै उहाँ भजन गाउने गर्नुहुन्थ्यो । नयाँबजारको राममन्दिरमा ०२५।२६ साल बाटै भजन गाएको जस्तो लाग्छ । पछि उहाँले नदीपुरका एकजना गुरुजी सँग गुरुस्थापना गरेर हार्विन सिक्नु भएको थियो । उहाँले धेरै बर्ष राममन्दिरमा भजन गाउनुभयो । लाग्छ उहाँको करिब ५ दशक सम्म उहाँले सेवा गर्नुभयो । उहाँलाई भजनमा साथ दिनेहरुमा म सम्झन्छु अग्निकुमार श्रेष्ठ, गणेशलाल रञ्जित, कृष्णकुमार श्रेष्ठ, स्व. द्वारिकानाथ कायस्थ, प्रेमनारायण मानन्धर आदि हुनुहुन्थ्यो ।
पिताजी प्रायः पढेलेखेको मान्छेसँग अंग्रेजीमा बोल्न रुचाउनुहुन्छ । मैले गणेशमान पालिखे, डा.राधेश्याम कायस्थ, दयाप्रसाद मर्मानीहरुसँग संधै अंग्रेजीमा कुरा गर्ने गरेको देखेको छु । समाजसेवी युवराज श्रेष्ठका अनुसार बुवाले उहाँहरुलाई अंग्रेजी भाषा सिकाउने गरेको बताउनुहुन्छ । त्यसैगरी शिक्षासेवी केदारनाथ कायस्थका अनुसार पिताजीले छिमेकी बच्चाहरुलाई निशुल्क अंग्रेजी भाषा पढाउने गर्नुहुन्थ्यो । २००८ साल तिर उहाँ आफू र आफ्ना भाइ डा. बद्रिनाथ कायस्थ र युवराज श्रेष्ठलाई संयुक्त रुपमा अंग्रेजी भाषा पढाएको स्मरण गर्दछन् केदार कायस्थ ।
शिक्षासेवी डा. राधेश्याम कायस्थका अनुसार डम्बरलाल इमान्दार र सञ्जन व्यक्ति हुन् । कसैको अहित नचाहने एउटा बेग्लै स्वभावको मान्छे भन्न रुचाउँछन् उनी । निकै विनोदप्रिय र सबैलाई हसाउने र ख्यालठट्टा गर्नुपर्ने डम्बरलाल दाइ । कायस्थ सरका अनुसार त्यस बेला निकै चर्चामा रहेको भार्गवको अंग्रजी, नेपाली शब्दकोष उहाँ सँधै पढ्ने गर्नुहुन्थ्यो ।
शिक्षासेवी केदारनाथ कायस्थका भनाई अनुसार पिताजी चङ्गा खेल्न र बनाउन निकै सिपालु । साथीहरु सँग उहाँ भाले लडाउने, अण्डा लडाउने, बट्टाई लडाएर मनोरञ्जन लिने गर्नुहुन्थ्यो । नदीपुरमा मथुरा भन्ने संगीतका गुरुसँग हार्मोनियम सिक्नुभयो । पोखरा–९, नयाँबजारमा अवस्थित राममन्दिर २०२४।२५ सालतिरबाट भजनमा आउन थाल्नुभयो । डम्बरलालको खुलेको स्वर, शिक्षाप्रद भजन सुनेर भक्तहरु मख्ख पर्दथे । उनले प्रायः बोलिरहने हृदयको चरीलाई कुन्नी के भयो ? र हद बाँचे साठी सत्तरी, जानु छ एक दिन लत्तरी र मेरो मेरो भन्दै जानु छ सबै छाडी भन्ने भजन सधैं गाउने गरेको बताउँछन् कायस्थ ।
समाजसेवी लेखतमान लाभाजूका भनाई अनुसार पोखराको साँघुमुखमा काठमाडौंबाट आएका शिक्षकहरु सुवर्णमान जोशी, कृष्णबहादुर श्रेष्ठ, शिवहरि सिंह पागल, दमयन्ती प्रधान केदारनाथ कायस्थको घरमा डेरा लिएर बस्दथे । उनीहरुसँग मामा डम्बरलालको हिमचिम बढ्यो । मामाले उनीहरुसँग अंग्रेजीमा कुरा गर्ने गर्नुहुन्थ्यो । शिवहरि सिंह पागलले विजय टिमलाई निकै प्रोत्साहन दिने गर्दथे । उनी त्यसबेलाका नामुक रेफ्री मानिन्थ्यो ।
अर्का शिक्षासेवी तारानाथ पाखेका भनाई अनुसार नयाँबजारमा एकजनाले सार्वजनिक जग्गा मिचेको देखेर पिताजीले निकै विरोध गरेका थिए । पछि ती मान्छेले सार्वजनिक जग्गा मिच्न नसकेर आफ्नो हक भोगको जग्गामा मात्र घर बनाउन पाए । यसरी सार्वजनिक जग्गाको संरक्षण गर्ने कार्यमा उहाँको महत्वपूर्ण योगदान रहेको छ ।
मेरा पिताजी सहयोगी हृदयको मान्छे रुचाउँछन् काका श्री जबाहरलाल श्रेष्ठ । उहाँका अनुसार आफ्नो विवाह उहाँकै सहयोगबाट सम्पन्न भएको थियो ।
विन्दुवासिनी मन्दिरका मूल पूजारी एवं फूटबल खेलाडी रुद्रनाथ पौडेलका अनुसार डम्बरलाल माकाजू फुटबलका एक कुशल खेलाडी हुन् । सधैं फुटबल प्राक्टिस गर्ने गर्दथे । पोखरामा २०१३ सालतिर मोहोरिया टोल र रानीपौवा, साँघुमुखको विजय टिम निकै फेमस मानिन्थ्यो । उहाँहरुको विशेष प्रतिष्पर्धा धौलागिरी टिम सँग हुने गर्दथ्यो । डम्बरलालले पाल्पाको फुटबल टोली सँग मैत्रीपूर्ण खेल हुँदा पोखराका तर्फबाट भाग लिएका थिए ।
पिताजी गाईजात्रा नाचमा परी भएर नाच्नुभएको क्षण शिक्षाविद् केदारनाथ कायस्थ बताउँछन् । पिताजीको धार्मिक क्षेत्रमा दिर्घकालसम्म पु¥याएको योगदानको कदरस्वरुप श्री राममन्दिर सेवा समितिले सम्मानपत्र प्रदान गरेको छ । मेरा पिताजीलाई पुराना व्यापारीको रुपमा पोखरा उद्योग वाणिज्य संघले सम्मान गरेको छ भने शान्ति उदय मा.वि. र सिताराम प्रा.वि. अर्मलाले पूर्व शिक्षकका रुपमा सम्मानपत्र प्रदान गरेको छ । गत २०७६ माघ १७ गते मात्रै भक्ति संगीत प्रतिष्ठानले पिताजीले धार्मिक क्षेत्रमा पु¥याएको दीर्घ सेवाको कदरस्वरुप भक्ति संगीत पुरस्कार २०७६ द्वारा सम्मानित गरिएको थियो ।
वि.सं. २००८ सालमा उहाँको विवाह कुश्माका चुनुदेवीसँग भएको थियो भने हाल उहाँका ३ सुपुत्र र २ सुपुत्री छन् । हाल उहाँ पोखरा ३ नदीपुर बुद्ध विहार मार्गमा बस्नुहुन्छ ।

0 Comments