स्वतन्त्रता सेनानी केदारप्रसाद बजिमय : व्यक्ति र व्यक्तित्व



पोखरा नालामुख निवासी केदारप्रसाद बजिमय पोखरामा एक अग्रज समाजसेवी, स्वतन्त्रता सेनानी र समाज सुधारक व्यक्तित्वका रूपमा चिर–परिचित छन् । उनको जन्म वि.सं. १९९१ वैशाख अक्षयतृतियाका दिन पिता कृष्णलाल र माता गजेन्द्रकुमारी बजिमयका माइला सुपुत्रका रुपमा भएको थियो । पोखराको धार्मिक, सांस्कृतिक, शैक्षिक एवं राजनीतिक आन्दोलनमा उनको महत्वपूर्ण भूमिका रहेको छ । बाल्यावस्था नै तीक्ष्ण बुद्धिका कारण उनले विन्दवासिनीस्थित संस्कृत पाठशालामा अमरकोष, लघुकौमुदी आदि शिक्षा हासिल गरे । विशेष गरेर राजाराम रेग्मीले संस्कृत पाठशालामा पढाएको बजिमय अहिले पनि सम्झिरहन्छन् ।
वि.सं. २००७ सालमा नेपालमा राणाशासन विरोधी आन्दोलनका लागि नेपाली कांग्रेसका नेता श्रीभद्र शर्मा, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल श्रेष्ठ २००४ देखि संगठनका लागि पोखरा आउँदा बजिमयको घरमा पनि बस्ने गर्दथे । संगठन विस्तारका लागि पोखरा बाहिर बन्दिपुर, स्याङ्जा, बाग्लुङ, कुस्मा आदि ठाउँमा जानुपर्दथ्यो । त्यसबेला यातायातको सुविधा थिएन, पैदल जानुपर्दथ्यो । हल गोरु नछिर्ने, गोरेटो बाटो, डहर, खोला खोल्ची, नदी तरेर जानु पर्दथ्यो । साथमा लगेको भुटेको मकै र चिउरा खाई खोलाबाट लोटामा पानी भरेर खाइवरी गन्तव्य तिर लाग्नुपर्दथ्यो । श्रीभद्र शर्मा, पुष्पलाल श्रेष्ठका पछि लागेर दिनरात संगठन विस्तारमा लागि परेका थिए स्वतन्त्रता सेनानी केदारप्रसाद बजिमय । 
श्रीभद्र शर्मा, पुष्पलाल श्रेष्ठ यी दुई नेता भूमिगत रुपमा पोखरा आउने प्रोगाम तीन महिना अगावै बनारसबाट सर्कुलर भै आउँथ्यो । कुनकुन ठाउँमा राजनितिक प्रशिक्षण दिने हो त्यसको पूर्व जानकारी गरिन्थ्यो । शर्माले प्रजातान्त्रिक समाजबादको व्याख्या गर्दथे भने पुष्पलालले माक्सबाद, साम्यबाद र जनबादका बारेमा । कृष्णप्रसाद भट्टराई बनारस बस्दथे भने वि.पी. कोेइराला, सुर्वण शमशेर, गणेशमान सिंहहरु कहिले कलकत्ता त कहिले बनारस । तर मुख्य राजनितिक केन्द्र थियो बनारस । २००७ सालमा नेपालमा जनक्रान्ति शुरु भयो । दाजु मथुराप्रसाद बजिमय र म लगायतका पोखराका धेरै साथीहरु राणा शासन विरुद्ध सक्रिय भएर लाग्यौँ– उनले ती पुराना दिनको सम्झना गरे । 
पोखरामा वि.सं. २००६ सालमा स्थापित आदर्श पुस्तकालयको संस्थापक सदस्य हुन्– केदार बजिमय । उनलाई त्यसबेला साथ दिनेहरुमा मथुराप्रसाद बजिमय, गोविन्दहरि पालिखे, बीरेन्द्रकुमार बाटाजू, झपटबहादुर भट्टचन आदि थिए । २००५ सालदेखि नै बजिमयको किनारा पसल थियो नालामुखमा । भरिया र खच्चरलाई भारी बोकाएर बुटवलदेखि सामान ढुवानी गर्नुपर्दथ्यो । तर ००६ सालदेखि राजनितीमा लागेको कारण व्यवसायलाई उनले वेवास्ता गर्न पुगे ।
वि.सं. २०१४ सालमा पं. ऋषिकेशव पराजुली, बुद्ध विहारका भिक्षुणी धर्मशीला, यशोमती, अमृतशीला केदार बजियम लगायतका व्यक्तित्वहरू मिलेर कन्या स्कूलको स्थापना गरेको इतिहास उनले बताए । नारीहरूले पढ्न हुँदैन भन्ने रुढीवादी विचारधारा भएको बेला पोखरामा ११ जना कन्या बटुलेर कन्या स्कुल शुभारम्भ गरिएको बजिमयको स्मृति अहिले पनि ताजै छ । त्यसबेला अंग्रेजी भाषालाई गाई खाने विद्या भनेर तिरस्कार गरिन्थ्यो । अझै नारीहरुलाई पढेलेखे पत्राचार गरेर पोइला जान्छन् भन्ने रुढीबाढी मान्यता व्याप्त थियो । राणाहरुले भने आफ्ना सन्तानलाई रानीपोखरी स्थित दरबार हाइ स्कुलमा पढाउँथे । 
वजिमय हरेक दिन बुद्ध विहारमा गई गुरुमा धर्मशीला अनागारिकासंग बुद्ध धर्मका बारे जानकारी लिन्थे । केदार बजिमयले एक बैठकमा पोखरामा नारी शिक्षाको लागि छट्टै नारी स्कुल खोल्नुपर्छ भन्ने विचार व्यक्त गरे । यो भनाईलाई सबैले एक मतमा समर्थन जनाए । बजिमय व्यापारी भएको नाताले साहू महाजन र सर्वसाधारण सँग उनको हेलमेल थियो । वि.सं. २०१४ साल असार ११ गते विधिवत कन्या स्कुलको शुभारम्भ भयो बुद्ध विहारमा । बजिमयका अनुसार त्यसबेला विद्यालय सञ्चालक समितिको अध्यक्षमा धर्मशीला गुरुमा थिए भने शिवविलास तुलाचन कोषाध्यक्ष, सचिवमा अमृतप्रसाद शेरचन र सह–सचिवको जिम्मेवारी केदारप्रसाद बजिमयले पाए ।
त्यसबेला शिक्षिका धर्मशीला, यशोमती, अमृतशीला, किशोरीदेवी श्रेष्ठ लगायतले नारीहरुलाई पढाउने जिम्मेवारी लिए । पोखरा कन्या स्कूललाई पछि श्री ५ रत्न राज्यलक्ष्मी कन्या स्कूल नामाकरण गरियो । बजिमयले २०१६ सालमा सचिव पद रिक्त भएपछि समितिको कार्यवाहक सचिव भएर अहोरात्र सेवा पु¥याए । त्यस बेला विद्यालयको चौतर्फी विकास अर्थात भौतिक निर्माणमा उनको दीर्घकालीन योगदान रहेको छ । तत्कालीन महारानी श्री ५ रत्नराज्यलक्ष्मी देवी शाह स्कुल निरिक्षणमा आउँदा वजिमयले विद्यालयलाई मा.वि. स्तरमा पु¥याउनुपर्ने र विद्यालयलाई आर्थिक संकट परेको जाहेर गरे । त्यसबेला महारानीले तत्काल आर्थिक सहायता गरे भने मा.वि. सम्म स्तरोन्नति गर्न सवारी मन्त्रीलाई निर्देशन दिएका थिए । वि.सं. २०६३ साल भाद्र ४ गते कन्या मा.वि.ले विद्यालयको स्वर्ण जयन्ती समारोह मनाउँदा बजिमयलाई उनको योगदानको कदर स्वरुप सम्मान ग¥यो । 
बजिमयले २०१६ सालमा नारी हकहित एवं उन्नयनका लागि नारी विकास पुस्तकालय स्थापना गरेका थिए । शशीकुमारी, पानुदेवी, तुलसीमाया, गंगा, पार्वती आदिले नारी विकास पुस्तकालय खोल्न सहयोग गरे तर चेलीवेटीहरुको विवाह भएपछि उक्त पुस्तकालय शिथिल हुन गयो । केही समयपछि नारी विकास पुस्तकालय र चेतनशील पुस्तकालय सम्मिलित गरार्ई आदर्श पुस्तकालयमा समर्पित गरिएको बजिमयको स्मृतिमा अझै ताजा छ ।
बजिमयले ०१० सालदेखि मामा ललितकुमार बाटाजूसंग मिलेर भैरहवा र पोखरामा कपडा र किनारा पसल सञ्चालन गरेका थिए । ०२२ सालमा झलकलाल कायस्थ, कृष्णप्रसाद कर्मचार्यसँग मिलेर ३ अञ्चलका लागि जनकपुर चुरोट कारखानाको डिलरसीप लिए । पछि उनीहरुले नेशनल ट्रेडिङको पनि डिलरसिप प्राप्त ग¥यो । ०२३ सालतिर बजिमयले फरेन्स गुड्को थोक तथा खुद्रा ब्यापार संचालन गरे । भारतको बर्मा तेल कम्पनिको सहायक डिलर्स वेस्ट ब्रदर्स मार्फत डिलरसिप लिइ पोखरामा जाहाज चार्टड गरेर डिजेल, पेट्रोलहरु पोखरा ल्याएर बिक्री गर्ने गरे  । बजिमयले पोखरामा आउने पर्यटकहरुलाई सेवा पु्¥याउन कोल्ड ड्रिङ्क्सको व्यापार पनि शुरु गरे ।
धार्मिक कार्यमा सक्रिय बजिमयले करिब २५० वर्षभन्दा पुरानो नालामुख चोकमा जीर्ण भई भत्किएको शिव मन्दिर पुनः निर्माण गर्न महत्वपूर्ण भूमिका खेले । मन्दिर पुरै भत्किएर जग मात्र बाँकी रहेको दृष्यले उनको हृदय छोयो । उनले काठमाण्डौबाट सिपालु कालिगढ मगाए । सहयोगको लागि सम्बन्धित सरकारी कार्यालयमा निवेदन दिए । जिल्ला कार्यालयले पन्ध्र सय रुपैंया मन्दिरका लागि सहयोग छुट्याए तर मन्दिर निर्माण सम्पन्न गर्न करिव ५००० खर्च लाग्यो त्यसबेला । बाँकी रकम उनी आफैले परमात्माको नाउँमा व्यहोरे । सात्विक स्वभावका बजिमय धार्मिक, सामाजिक कार्यमा आस्था र श्रद्धा राख्ने गर्दछन् । पोखरामा आयोजना हुने जन्माष्टमीे शोभायात्रा, भैरवजात्रा, गाईजात्रा, माघेजात्रा आदि सांस्कृतिक, धार्मिक कार्यहरूमा मन खोलेर लाग्दछन् । सक्दो आर्थिक सहयोग गर्न पछि पनि पर्दैनन् । प्राचीन कालका कला, संस्कृति, मठमन्दिर, गुम्बा, विहारहरू सुरक्षित राख्नुपर्ने विचार व्यक्त गर्दछन् बजिमय । शिवमन्दिर संरक्षण समितिको सल्लाहकार, आजीवन सदस्य बजिमयले मन्दिर यस्तो होस् र तालबाराही पुस्तकको हिन्दी अनुवाद प्रकाशन गरेर नेपालको धार्मिक पर्यटनमा टेवा पु¥याएका छन् । उनले विभिन्न पत्र–पत्रिकामा थुप्रै लेख रचना छपाए । विशेषगरी उनकोे पोखरामा १९७६ सालमा स्थापित बाल धाराका बारे र माघेजात्राका बारे छापिएको लेख निकै चर्चामा रह्यो । उनले पर्यटन पूर्वाधार समितिको सदस्यमा रही पोखराको सेवा गरेका छन् । पोखरा नालामुखमा गणेशमान सिंहको प्रतिमा स्थापना गर्न विशेष भूमिका खेलेका बजिमय नेपाल रेडक्रस सोसाइटी कास्की, सनातन धर्म सेवा समिति कास्की लगायत धेरै धार्मिक, सामाजिक संघसंस्थामा आबद्ध छन् । राष्ट्रिय परोपकार महासंघ नेपालका आजीवन सदस्य बजिमयलाई सेवा कार्यमा दान गर्दा निकै हर्ष मिलेको अनुभव हुन्छ । बुढानीलकण्ठ मन्दिर धर्मशाला विकासका लागि उनले स्वेच्छापूर्वक दान दिए । बजिमयको शैक्षिक, धार्मिक, सामाजिक योगदानको कदरस्वरूप धेरै संघसंस्थाले कदरपत्र, सम्मान पत्रहरू प्रदान गरेका छन् ।
वि.सं. २०६५ सालमा राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा उनलाई भाद्र ५ गते सार्वजनिक पुस्तकालय महेन्द्रपुलबाट विशेष सम्मान गरेको थियो । त्यस्तै सनातन धर्म सेवा समिति कास्कीले सनातन श्री सम्मानद्वारा विभूषित ग¥यो ।
वि.सं. २०२२ आषाढ १९ मा छिमेकी मित्रराष्ट्र भारतको सिक्किमका चण्डिका तिमला का साथ बजिमयको शुभ विवाह भएको थियो । बजिमय दम्पतीका हाल सुपुत्र १ सुपुत्री ३ छन् । सुपुत्र कपिल बजिमय, बुहारी लतिका, नाति कौशल, नातिनी कृपा हुन् भने सुपुत्रीहरूमा रूपाश्री, अनुपाश्री र दीपाश्री । ८५ वर्ष पार गरिसक्नुभएका बजिमय सबैको राम्रो हेर्न चाहनुहुन्छ भने जीवनलाई संघर्ष र कर्म र कलाको रुपमा हेर्ने गर्दछन् । उनको परमात्मासँग एउटै प्रार्थना छ– भगवानको कृपाले सबैको भलो होस् । सदा सदा सबैको कल्याण होस् ।

पुस्तकको नामः व्यक्ति र व्यक्तित्व
लेखकको नामः रवीन्द्र माकाजू
ठेगानाः मालेपाटन, पोखरा
फोनः ९८१७१०७६२५
इमेलः  rabindra.makaju@gmail.com
प्रकाशनः २०७७ आषाढ
पुस्तक डिजाइनः कृष्ण कम्प्युटर
(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।) 
धन्यवाद !!!

Post a Comment

0 Comments