कृष्णबहादुर जोशी
स्वतन्त्रता सेनानी कृष्णबहादुर जोशी (कुश्मा पर्वत) जिउँदा शहिद हुन् । हाल उनी पोखरा–१५ रामबजारमा बसोबास गर्दछन् । जसले ००७ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका खेले । २००७ साल फागुन ७ गते पूर्व (प्रजातन्त्र उदय नभइन्जेल) नेपालमा १०४ वर्षसम्म राणाशासन कायम थियो । राणाहरूका सन्तान, दरसन्तान जन्मनासाथ जर्नेल, कर्णेल पद पाउँथे भने अन्य नेपाली जनता शोषित पीडित भई अज्ञान, अन्धकारमा बस्न बाध्य थिए । प्रजातान्त्रिक हक र अधिकारका बारे कुनै ज्ञान थिएन । केही पढेलेखेकाले जनताका हक–अधिकारका बारे बोल्न खोज्दा जेलनेल खानुपर्दथ्यो । एउटा बधुँवा जनावर सरह जीवन निर्वाह गर्नुपर्दा नेपाली जनता राणाशासनबाट भित्रभित्रै छटपटिएका थिए ।
वि.सं. १९९७ सालमा चार सपूत गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज जोशीलाई राणाशासक जुद्ध शम्शेरले मृत्युदण्ड दिइएको खबरले नेपालका सहरी क्षेत्रमा तहल्का नै ल्यायो । विभिन्न राजनैतिक दल खोल्ने काम नेपालमा हुँदै थियो । यही क्रममा वीपी र सुवर्णशमशेरको पहलमा भिन्न दुई राजनैतिक पार्टी २००६ साल चैत २७ गते एकीकरण भई नेपाली काँग्रेस गठन भएपछि नेपालमा पार्टीको संगठन विस्तार अभियान अघि बढ्दै जान्छ ।
छिमेकी मित्रराष्ट्र भारतमा अंग्रेज शासनविरुद्ध आन्दोलन चर्किरहँदा नेपालका केही नेताहरू सहभागी हुने गर्दथे । छिमेकी मुलुकको प्रभाव नेपालमा पर्नु स्वभाबिकै थियो । धेरै नेपाली अध्ययनका क्रममा वनारस जाने गर्दथे । व्यापारी वर्ग सामान लिन जान्थे भने औषधि उपचार गर्न भारतका विभिन्न शहरमा । भूतपूर्व सैनिकहरू पेन्सन बुझ्न भारतमै जानुपर्दथ्यो ।
यही क्रममा पर्वत कुश्माका अतिप्रसाद गौचन औषधोपचार गर्न भारतको गोरखपुरमा जाने गर्दथे । त्यहाँबाट नेपाल पुकार, युगवाणी जस्ता पत्रिका प्रकाशित हुन्थे । गौचनले ती पत्रिका र राणाशासन विरोधी पर्चा ल्याई कुश्माका कृष्णबहादुर जोशी लगायतका युवा साथीलाई पढ्न दिन्थे । उक्त पत्रपत्रिकामा नेपाली कांग्रेसका नेता वीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरूका लेख प्रकाशित हुन्थ्यो । पत्रपत्रिका पढेर कुश्माका कालीभक्त पन्त, कृष्णबहादुर जोशी, अमृतप्रसाद, नारायणप्रसाद जोशी संगठित भई नेपाली कांग्रेस कुश्मा एकाई खोलिएको स्वतन्त्रता सेनानी कृष्णबहादुर जोशी बताउँछन् ।
२००७ साल फागुन ७ पूर्व नेपाली कांग्रेस जस्ता राजनैतिक संगठन खोल्नु राणाशासकका दृष्टिमा ठूलो अपराध थियो । पार्टी गतिविधिमा आफूलाई संलग्न गर्नु एक प्रकारले ज्यान हत्केलामा राखी हिँड्नु जस्तै थियो । २००६ सालमा कृष्णबहादुर जोशीको नेतृत्वमा नेपाली कांग्रेस कुश्मा गठन हुनु अत्यन्त चूनौतिपूर्ण कार्य थियो । जोशी सभापति र कालीभक्त पन्त पार्टीका मन्त्री थिए । उनीहरू मिलेर ठाउँ–ठाउँमा पार्टीको शाखा खोल्ने कार्य भए । कुश्मा बाहेकका अन्य धुवाकोट, लिमिठाना, फलेबास जस्ता ठाउँहरू पार्टी गतिविधिका कारण विशेष चर्चित थिए ।
त्यस बेला कुश्मा पश्चिम ४ नं. स्याङ्जा (नुवाकोट) जिल्लाको प्रशासनिक क्षेत्रभित्र पर्दथ्यो । उत्तरमा थाकखोला मुस्ताङ, पूर्वमा मोदी खोला, पश्चिममा कालीगण्डकी क्षेत्र स्याङ्जाका बडाहाकिमले पाल्पा गौंडाको मातहतमा रहेर काम गर्नुपर्दथ्यो । नुवाकोट, भिरकोट, गह्रौं, सतौं, पैयुँ र पर्वत गरी ६ क्षेत्र मिलेर स्याङ्जा जिल्ला बनेको थियो । नुवाकोट त्यसबेला स्याङ्जा जिल्लाको सदरमुकाम थियो । कुश्माको सम्बन्ध नुवाकोट स्याङ्जासँग हुने हुँदा त्यसको राजनैतिक प्रभाव कुश्मामा पर्नु स्वभाविकै थियो । जमानसिंह गुरुङ नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति थिए भने कालीभक्त पन्त, कृष्णबहादुर जोशी आदि जिल्ला सदस्य । उनीहरूले थानबहादुर खाँण, क्या. धनप्रसाद गुरुङ, होवीर आलेको नेतृत्वमा भारतीय सेनाका पूर्व सैनिकहरूलाई संगठित गराई राणाशासन विरुद्ध लड्न सिकाउँथे ।
नेपाली कांग्रेस संगठन विस्तारका लागि श्रीभद्र शर्मा, श्रीकान्त अधिकारी आदि केन्द्रीय नेताहरू पोखरा, स्याङ्जा, कुश्मा आई नेता तथा कार्यकर्तालाई भेट्ने गर्दथे । जोशी पोखरा जाँदा प्रेमचैतन्य ब्रह्मचारी, धर्मशीला अनगारिका, पं. ऋषिकेशव पराजुली, अमृतप्रसाद शेरचन आदि नेतालाई भेटी प्रजातान्त्रिक आन्दोलनका बारेमा चर्चा–परिचर्चा गर्ने गर्दथे । कुश्मामा छोटी जंगी परेड बाहेक अन्य सरकारी कार्यालय नभएका कारण राणाविरोधी कार्य गर्नु असहज थिएन । कृष्णबहादुर जोशी प्रतिष्ठित जिमुवाल हुँदा समाजमा राम्रो प्रभाव थियो । पन्त, जोशीका साथै मोहनबहादुर मल्लले नेपाली कांग्रेस संगठन विस्तारको कार्य थालेकाले कार्यकर्ताहरूमा जोश र जाँगर भरिएको अवस्था थियो ।
वि.सं. २००६ साल भाद्र २६ गते नेपाली कांग्रेसको वैरगनिया अधिवेशनले नेपालमा राणाविरोधि सशस्त्र क्रान्ति गर्ने निर्णय ग¥यो । वि.सं. २००७ साल कार्तिक महिनामा राजा त्रिभुवनले भारतीय राजदूतावासमा सपरिवार शरण लिएपछि नेपालमा आन्दोलन ह्वात्तै बढ्यो । प्रधानमन्त्री मोहन समशेर राणाले नावालक ज्ञानेन्द्रलाई राज्यभिषेक गरी राजा त्रिभुवनलाई पदच्यूत गराए । कुश्मामा पनि ०७ साल पौष २२ गते बसेको नेपाली कांग्रेसको भेलाले सशक्त आन्दोलन गर्ने निर्णय ग¥यो । भेलामा कृष्णबहादुर जोशी, कालीभक्त पन्त, अतिप्रसाद गौचन, अमृतप्रसाद जोशी लगायतका थुप्रै नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
पौष २३ गतेबाट आन्दोलन शुरु गर्न कुश्मेली जनतालाई संगठित गर्दै मुक्ति सेनालाई सक्रिय पार्ने काम शुरु भयो । हवल्दार लक्ष्मण पुरी, दण्डपाणि जैशी, ढाकादत्त, हर्कबहादुर कुँवर क्षेत्री, टीकाराम जैशी, नरसिंहबहादुर मगर, लालबहादुर नगरकोटी, बुद्धिबहादुर गुरुङ, शिलबहादुर क्षेत्री, दामोदर लम्साललाई मुक्ति सेनाको व्यापक परिचालन गर्ने जिम्मेवारी दिइयो । त्यस्तै तेजमान श्रेष्ठ (चिना) लाई कृष्णबहादुर जोशी र कालीभक्त पन्तको अंगरक्षक बनाइयो । पौष २४ गते टोलटोल, गाउँ–गाउँबाट जनसमूह भेला भै कुश्माको गणेश मन्दिर प्राङ्गणबाट जुलुस प्रदर्शन गरिन्छ । जुलुसले राणाविरोधी चर्काचर्का नारा घन्काई कुश्मास्थित छोटी जंगी अड्डा घेर्न पुग्छ । नेपाली कांग्रेसका चारतारे झण्डा बोकेका करिब ३०० जनाको जुलुस देखेर जंगी अड्डाका सैनिकहरू हतासिन्छन् । जुलुसको नेतृत्व गरेका जोशी र पन्तले मिलिसियाका सैनिकहरूलाई प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्नुहोस् र राणालाई होइन, राजा त्रिभुवनलाई मान्छौं भन्नुहोस् भनेर सम्झाए । त्यस बेला अड्डा प्रमुख लेफ्टिनेन्ट जितबहादुर घर बिदामा हुँदा उनको काम सुवेदार शिवप्रसाद सुवेदीले सम्हालेका थिए । केही क्षण उनी अकमकिए । ठूलो जुलुस देखेर आत्मसमर्पण गरी अड्डामा कांग्रेसको चारतारे झण्डा राख्न सुवेदी सहमत हुँदा कांग्रेसले सजिलै जंगी अड्डा कब्जा गरी त्यहाँ भएका हातहतियार आफ्नो नियन्त्रणमा लियो । हातहतियारको फाँट भरपाई पार्टी सभापति कृष्णबहादुर जोशीले लिई त्यहाँ ५० जना मुक्ति सेनाको व्यवस्था गरे । उक्त आन्दोलन सफल पार्न विशेष गरी कुश्मा, ज्ञादी, लिमिठाना, श्रीकाङ, घान्द्रुक, पाङ, दुर्लुङ, मल्लाज, बाँसखर्कका जनताको विशेष योगदान रहेको थियो । स्वतन्त्रता सेनानी जोशीका अनुसार त्यस बेला उक्त जंगी अड्डामा नख्खु राइफल ११८ थान लगायत धेरै हातहतियारका सामान कब्जा गरिएको थियो ।
२००७ सालमा बागलुङमा गठित जन सरकार
यता बागलुङमा पनि आन्दोलनकारीहरूले छोटी गौंडा कब्जामा लिए । पौष मसान्ततिर सेनाले पुनः कब्जामा लिएकाले बागलुङका नेताहरू भागभाग भई सहयोग माग गरेकाले कृष्णबहादुर जोशी, कालीभक्त पन्त, अतिप्रसाद गौचनहरूले मुक्तिसेनाको नेतृत्व गर्दै बागलुङ छोटी गौंडा कब्जा गर्न पुगे । सैनिक कर्मचारीहरू रातारात भागी गएकाले त्यहाँ अप्रिय र दुःखद घटना हुन पाएन । त्यस्तै पोखरामा आन्दोलन दबाउन बडाहाकिम मेजर जनरल धनशमशेरले प्रयास गरेकोमा कुश्मा र स्याङ्जाबाट ठूलो संख्यामा मुक्तिसेना पोखरा गई बडाहाकीम कार्यालय नाकावन्दी गरिएको जोशी बताउनुहुन्छ ।
२००७ सालको चैत्र महिनाको तेस्रो हप्ता दुर्लुङका चन्द्रबहादुर गुरुङको नेतृत्वमा ५०÷६० जनाको जत्थाले छोटी जंगीपरेड पुनः कब्जामा लिएका थिए । जसको जानकारी नेपाली काँग्रेस कुश्मा शाखाबाट तत्कालै स्याङ्जाको प्रान्तीय सरकारलाई गराउँदा मुक्तिसेनाका सुवेदार रोकबहादुरको नेतृत्वमा करिब २५ जनासहित काँग्रेस कार्यकर्ताको टोलीले जंगी अड्डालाई चारैतिरबाट घेरा हाले । विना रक्तपात जंगीअड्डा पुनः कब्जामा लिन पन्त र जोशी लगायतका आन्दोलनकारी सफल भए । त्यसबखत चन्द्रबहादुर पहिल्यै भागिसकेका थिए भने हर्कमान गुरुङ, दुर्गाबहादुर, आइतसिंह गुरुङलाई पक्राउ गरी नुवाकोटमा थुनामा राखिएको थियो ।
जनसरकारमा सामेल
दोस्रो पटक बागलुङ कब्जा गरिएपछि आन्दोलनकारीहरूले २००७ साल माघ १५ गते नेपाली काँग्रेसका कमाण्डर लक्ष्मण बम मल्लको उपस्थितिमा ओमप्रसाद गौचनको प्रधानमन्त्रीत्वमा बागलुङ जनसरकार गठन गरियो । उक्त मन्त्रिमण्डलमा कृष्णबहादुर जोशीले यातायात एवं आपूर्ति मन्त्रालयको जिम्मेवारी पाए । गभर्नरका रूपमा दीर्घबहादुर मल्ल थिए भने अन्य मन्त्रीहरूमा उपप्रधानमन्त्री कालीभक्त पन्त, वन तथा प्रचारमन्त्री मोहनबहादुर मल्ल, अर्थमन्त्री चन्द्रमान शेरचन, गृहमन्त्री हेमलाल राजभण्डारी, स्वास्थ्यमन्त्री गोपाल बैद्य, खाद्यमन्त्री टेकनारायण भारी, शिक्षामन्त्री नन्दबहादुर मल्ल, रक्षामन्त्री नरसिंहबहादुर मल्ल र जनसम्पर्क मन्त्री हीराबहादुर खड्का क्षेत्री थिए । यातायातमन्त्री जोशीले कुश्माका मुक्तिसेनालाई आवश्यक खाद्यान्न व्यवस्था गरेका थिए ।
२००७ सालको क्रान्तिमा होमिने एक जिवित योद्धा हुन् – कृष्णबहादुर जोशी । स्वतन्त्रता सेनानी जोशी – एक जीवित शहीद हुन्, जसले प्रजातन्त्र र नेपाली जनताको मुक्तिका लागि आफ्नो प्राण हत्केलामा राखी राणाशासकसँग विरुद्ध लडे । जसका नेतृत्वमा पर्वत कुश्मामा छोटी जंगी परेडमा नेपाली कांग्रेसको चारतारे झण्डा गाड्न आन्दोलनकारी सफल भए । सशस्त्र भीडन्त भएको भए के हुन्थ्यो, भन्न सकिन्नथ्यो । ०७ सालको क्रान्तिमा धेरैले ज्यान गुमाए । बागलुङ जनसरकारमा यातायात मन्त्रीको भूमिका निर्वाह गर्नुभएका जोशी ९० वसन्त पार गरिसकेता पनि प्रजातन्त्रका लागि अझै क्रियाशील देखिनु हामी सबैका लागि खुशीको विषय हुनुपर्दछ । मानिस कति बाँच्यो भन्ने प्रश्नले होइन, किन र के का लागि बाँच्यो भन्ने प्रश्नले बढी महत्व राख्दछ । अरुका खुसीका निम्ति अरुका उमङ्गका निम्ति मात्र मान्छे बाँच्नुपर्दछ । ती वीर सहिदहरू जो अरुका निम्ति प्राण उत्सर्ग (त्याग) गरेकाले कहिल्यै मर्दैनन् । इतिहासमा सधैं अमर भए । इतिहास यसको साक्षी छ । तसर्थ इतिहास स्वयं अमर हुन्छ । वीरहरूको इतिहास लेखिन्छ । जोशी को जीवन स्वयं एक गाथा जस्तै लाग्छ । वीरताका कथा समाजमा सुनाइन्छ र सुनाइनु पनि पर्दछ । जसले धेरैलाई ऊर्जा दिन्छ । कवि भूपि शेरचनले सहिद कवितामा त्यसै लेखेनन्–
हुँदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ।
२००६ सालमा नेपाली काँग्रेस कुश्मा एकाईको गठन र त्यसपछि जोशीले सामाजिक, धार्मिक, राजनैतिक क्षेत्रमा जुन सत्कार्य गरे त्यो प्रशंसनीय छ । जोशीले २००७ साल मंसिर ९ बाट २०१७ साल मार्गसम्म पार्टी सभापतिको रूपमा नेतृत्व लिए । जोशी आफ्ना निजी स्वार्थका निमित्त बाँचेनन् । अरुका निम्ति सधैं केही न केही गरुँ भन्ने भावना बोके । सायद यी र यस्तै सत्कार्यले जोशीलाई महान बनाएको छ । पश्चिम नेपाल तथा पर्वतको इतिहासमा मात्र नभएर नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा सदा अमर छन्– कृष्णबहादुर जोशी ।
जोशीको जन्म वि.सं. १९८६ साल आषाढ २१ गते बिहीबार धवलागिरी अञ्चलको पर्वत–कुश्मामा भएको थियो । पिता जि.मु. हरिकुमार र माता पद्मकुमारीको जेष्ठ सन्तान कृष्णबहादुर सानै उमेरदेखि नै जिज्ञासुका साथै हक्की र निडर स्वभावका हुँदा अनुशासन मन पर्दथ्यो । स्थानीय भाषा पाठशालामा पढ्ने सुअवशर पाएका जोशीका परिवार सामान्यतया कृषि पेशामा आधारित थिए । बुबा हरिकुमार र हजुरबुबा जि.मु. भीमलालले गाउँमा तालुकदारीको भूमिका निभाउने गर्दथे । यसले गर्दा गाउँलेका सुख–दुःखमा हेलमेल गर्ने भावना कृष्णबहादुरको बाल्यकालदेखि नै बस्यो । ११ वर्षको हुँदा उनले मातृवियोग सहनुप¥यो । बुबा हरिकुमार प्रायः अस्वस्थ हुने हुँदा घरको जिम्मेवारी कृष्णबहादुरले सम्हाल्नु पर्दथ्यो । त्यस बेला बुबा हरिकुमार गाउँमा प्रतिष्ठित व्यक्तित्वका रूपमा परिचित हुँदा गाउँका भलाद्मीहरू घरमा आई राणाविरोधि गतिविधि जानकारी गराउँथे । कृष्णबहादुर १२÷१३ वर्षको हुँदा मुखिया केशनारायण कर्माचार्यबाट राणाशासकले गरेको अन्याय, अत्याचार सुनेर किशोरको मन भतभत पोल्दथ्यो र के गरुँ ? कसो गरुँ भनेर छटपटिएका जोशी बाल्यकालमै राणाविरोधी भई प्रजातन्त्रका लागि होमिए ।
वि.सं. १९२६ सालको सनत बमोजिम वि.सं. १९५६ सालदेखि जि.मु. भीमलाल जोशी र जि.मु. हरिकुमार जोशीले सञ्चालन गरेको कुश्मा छमरकाई कालीबन चुवा गाउँको ३ कोशे लामो जंगलको रेखदेख एवं संरक्षणका लागि चिताइदार पदमा कृष्णबहादुर जोशीले वि.सं. २००० सालदेखि २०१८ सालसम्म सेवा गरे । कुश्मा छमरमाई कालीवन २०००, सालबाट जनताहलाई घर, कटेरा बनाउन, सुके ढलेका रुखहरू काट्ने पूर्जी जोशी स्वयम्ले दिने गर्दथे । कुश्मा आँगेटारी सिंचाई गर्ने करिव ४ किलोमिटर लामो कुलो २२ वर्षसम्म बन्द भएको अवस्थामा जोशीले स्थानीय जनताको सहयोग लिई २००८ सालमा आँगेटारी सिंचाई योजना निर्माणकार्य सम्पन्न गरे ।
कुश्मामा आधुनिक विद्यालय नहुँदा जोशीले २००८ सालमा स्थानीय समाजसेवी नुरबहादुर जोशी, पद्मकुमार जोशी, नरबहादुर श्रेष्ठ सँग सल्लाह गरी विद्यालय खुलाउन सहमत गराए । तनहूँका उमाभद्र खनाललाई शिक्षकमा नियुक्त गरी विद्यालय सञ्चालन गरियो । तत्कालीन पश्चिम ४ नं. स्याङ्जाका बडाहाकिम लक्ष्मण बम मल्ल कुश्मा भ्रमणमा आउँदा प्राइमरी स्कुल र आदर्श त्रिभुवन कन्या विद्या मन्दिरका लागि अस्थायी स्वीकृति लिन जोशी सफल भए । कुश्मामा हुलाक कार्यालय नभएका हुँदा बडाहाकिमसँग माग गरेर सो कार्यालय स्थापना गराउन पनि जोशी सफल देखिए । २००८ सालमा जोशीले प्राइभेट प्राइमरी स्कूल तथा आदर्श कन्या विद्या मन्दिरको स्थापना एवं जनता पुस्तकालय स्थापनामा उहाँको महत्वपूर्ण भूमिका खेल्नुभएको देखिन्छ ।
कुश्मा बडागाउँचौरका कप्तान धनप्रसाद समेतका व्यक्तिहरूले खुल्लाचौर आफ्नो नाममा दर्ता गरेको थाहा पाएर भगवान गिरी समेतका गाउँलेहरूले सो दर्ता बदर गर्न तत्कालीन सरकारसमक्ष निवेदन गरे । त्यस बखत जोशी र कालीभक्त पन्तले दुवै पक्षलाई सामन्जस्यमा ल्याई व्यक्तिका नाममा भएको दर्ता बदर होस् भन्ने मुचुल्का बनाई नेपाल सरकार समक्ष पठाए । कृष्णबहादुर जोशीको विशेष पहलमा उक्त चौरमा हाल नेपाल सरकारका जिल्ला कार्यालयहरू रहेका छन् । सो कार्य अत्यन्त प्रशंसायोग्य भएको स्थानीय समाजसेवीहरू बताउँछन् ।
वि.सं. २०१६ सालमा तत्कालीन राजा महेन्द्र कुश्मा आगमन हुँदा कुश्मालाई छुट्टै जिल्ला सदरमुकाम कायम गरियोस् भन्ने माग राखे । कुश्मा नारायण मिडिल स्कूलको भवन शिलान्यास तत्कालीन राजा महेन्द्रको बाहुलीबाट गराउन जोशी सफल भए । जोशी स्वागत समितिका सचिव थिए भने रामप्रसाद जोशी अध्यक्ष । जोशीले वि.सं. २००९ सालबाट २०१२ सालसम्म स्याङ्जाको पुतलीखेतबजारमा कपडा पसल सञ्चालन गरेका थिए ।
वि.सं. २०१३ सालमा चितवनमा बस्ती बसाउन तत्कालीन सरकारबाट राप्ती दून विकास कार्यालय स्थापना गरिएको थियो । सो खबर थाहा पाएर जोशीले २०१५ सालमा चितवन गई २० बिघा जमिन खरिद गरे । जोशीले धेरै कुश्मेलीलाई सरकारले प्रदान गरेको उक्त सुपथ मूल्यको जग्गा खरिद गर्न उकास्थे र जग्गा प्राप्त गर्नका लागि आवश्यक सहयोग गर्ने पछि पर्दैनथे ।
उनले भने– म लगायत मेरा परिवार चितवन गएको होइन केही सदस्य कुश्मामानै बसे । केही समय चितवन जाने आउने क्रम चलिरह्यो । पहाडबाट तराई बसाई सर्नुको उद्देश्य अर्कै थियो । विक्रम सम्वत् १९९० सालमा कुश्मा बजारमा भीषण आगलागी भयो । करिव ५० घर र घरभित्रका खाद्यान्न, लत्ताकपडा र पसलका सामान जलेर नष्ट भए । सोही समयमा मधुवेनीबाट कालीगण्डकीको किनारैकिनार बाटो खुल्यो । त्यसपछि कुश्मा बजारको व्यापारमा ¥हास आयो । हाम्रो जोशी परिवारको सदस्य बढ्दै जाँदा आर्थिक संकट देखाप¥यो । हामी दाजुभाइ मिलेर यो संकटलाई कसरी निवारण गर्न सकिन्छ भनेर व्यापक छलफल ग¥यौं । त्यही समय चितवनको प्रति जग्गाहरू विक्री गर्न राप्ती दून कार्यालय खोलिएको गोर्खापत्रमा सूचना प्रकाशित हुँदा हामीहरू बीच खुल्दुलु भयो र दाजु नुरबहादर सँग चितवन पुग्यौं । डाइरेक्टर कृष्णबम मल्लले चितवनको बिकासका लागि अमेरिकी सहयोग आएको र यसले भविष्यमा कृषि, स्वास्थ्य, शिक्षा, यातायात क्षेत्रमा सहायता गर्ने बताए । चितवन फराकिलो र उब्जनी हुने ठाउँ हुँदा हामीलाई जग्गा मन प¥यो । हामीले बडो मिहिनेतका साथ खेती (किशानी) ग¥यौं । जसको फलस्वरुप हाम्रो आर्थिक अवस्थामा सुधार भयो तर मैले आफ्ना पुर्खाको थलो, आफू जन्मी हुर्केको स्थान छोड्न सकिनँ । हाल म पोखरा बसेर पनि कुश्माको बिकास निर्माणमा दत्तचित्त भएर लागिरहेको छु ।
२००७ सालको प्रजातन्त्र प्राप्तिपछि जिमु कृष्णबहादुर जोशी लगायतका व्यक्ति हरुले पश्चिम ४ नं. गोश्वारामा निवेदन जाहेर गरी बन्द भएको भाषा पाठशाला पुनः सुचारु गर्न माग गरे । सो माग निवेदन अनुरुप भाषा पाठशाला सन्चालन भयो र पण्डित खगराज आचार्यलाई विद्यालय चलाउने जिम्मा दिइयो । जोशीका अनुसार देशमा प्रजातन्त्र भएको हुँदा शिक्षाको विकासमा अभिरुचि राखी स्थानीय बासिन्दाहरु जि.मु. हरिकुमार जोशी, डि. मिनबहादुर जाशी भु. केशनारायण कर्माचार्य ज.मु. प्रेमबहादुर जोशी, पद्यमकुमार जोशी, नरबहादुर श्रेष्ठ, नुरबहादुर जोशी, रत्नबहादुर जोशी, रुपनारायण श्रेष्ठ, डम्बरकुमार जोशी, जि.मु. कृष्णबहादुर जोशीहरु समेतबाट तनहूँ निवासी श्री उमाभद्रजीलाई झिकाई २००७ सालमा प्राइभेट स्कूल खुलाई पर्वतमा सर्वप्रथम अंग्रेजी पढाई शुरु भयो ।
२०१८ सालमा चितवनको दिव्यनगरमा पुगेका जोशीले समाजसेवाको क्षेत्रलाई नै रोज्छन् । दिव्यनगर प्राइमरी स्कूलका सचिव भएर विद्यालयको भवन निर्माण र सञ्चालन कार्यमा जोशी सक्रिय भए । त्यस्तै चितवन खदौली घोलमार्ग निर्माणका लागि अध्यक्ष भएर सेवा पु¥याए । मेघौलीको पर्साढाप बजार बसाउनका निम्ति सक्रिय जोशीले ढेबौलीस्थित कालिकादेवी मन्दिर सञ्चालक समितिको अध्यक्ष भई मन्दिर हातामा सत्तल निर्माण गराए ।
वि.सं. २०३५ सालमा पुनः कुश्मा आई सामाजिक कार्यमा सक्रिय जोशीले २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा खुलेरै लागे । २०३९ सालमा किसान संगठनको अध्यक्ष भई किसानका हक अधिकारबारे आवाज उठाए ।
वि.सं. २०४१ साल पौषमा नारायण निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई विद्यालयमा थप ६ कोठे भवन बनाउनुका साथै खानेपानी टंकी, शौचालय आदि भौतिक निर्माण कार्य गर्दै लगातार ७ वर्ष जोशीले विद्यालयमा सेवा पु¥याए । नेपाल रेडक्रस सोसाइटी पर्वतका आजीवन सदस्य जोशीले वि.सं. २०४६ सालमा एम्बुलेन्स सेवाका लागि ठूलै रकम सहयोग गरेको देखिन्छ । त्यस्तै वि.सं. २०५३ सालमा नेपाल बाल संगठन पर्वतको अध्यक्ष भई कार्यालय भवन निर्माणमा जोशी सक्रिय भए । २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनमा जोशी सक्रियतापूर्वक लाग्नु भएको स्थानीय सामाजिक कार्यकर्ता सुन्दरप्रसाद जोशी बताउँछन् ।
पर्वत जिल्लाकै पहिलो सार्वजनिक क्याम्पस गुप्तेश्वर बहुमुखी क्याम्पसको संस्थापक सदस्य जोशीले वि.सं. २०५८ साल पौष (१५–२३ गतेसम्म) भएको महायज्ञमा जमिन सहित १ लाख १५ हजार नगद दान गरी शैक्षिक कार्यमा ठूलो गुन लगाए । साथै भीमेश्वर गुठीबाट १० लाख ५१ हजार दान प्रदान गर्न गुठीयारलाई सहमत गराए । श्री गुप्तेश्वर गुफा महायज्ञमा रु. ३१ हजार र तीन लाख मूल्य बराबरको जग्गा अपर्ण गरे जोशीले ।
वि.सं. २०४८ साल असोज २० गते कुश्मा खानेपानी उपभोक्ता समिति गठन गर्न आयोजित भेलाले जोशीलाई संयोजक छान्यो । कुश्मा डाँडरे खोला, रिट्ठे खोला, पातीचौरको पातीखोला, खाने पानी योजनामा सक्रिय भई त्यस बेला कुश्माका १५ धारालाई विवेकतापूर्वक, जनचाहना अनुरूप कुश्मा बजारमा क्रमशः करिब ७५८ निजी धारा वितरण गर्न जोशी सफल भए । वि.सं. २००९ सालमा नेपाल भाषा प्रकाशन समितिका अध्यक्ष महानन्द सापकोटाको सहयोगमा खोलिएको कुश्मा जनता पुस्तकालयका लागि सहयोग गर्ने काम जोशीबाट भयो ।
२०५३ सालमा स्थापित नेवाः सीः गुठीको संयोजक भई गुठीयार भाइखलकभित्र दाहसंस्कार र व्यवस्थित किरियाकर्म गर्न आवश्यक व्यवस्था मिलाए । २०५४ सालमा नेपाल भाषा मंका खल र नेवा दे दवु कुश्माको संयोजक भएर जातीय संस्कार र संस्कृति रक्षाका लागि जोशी क्रियाशील भएको देखिन्छ ।
वि.सं. २०५८ वैशाख २० गते किसानहरूको वृहत्त भेलाद्वारा गठित अर्मादी सानो बगर कृषक सिंचाई संघको अध्यक्ष भई जोशीले २८ हेक्टर जमिनमा सिंचाइ सेवा पु¥याए । वि.सं. २००६ सालदेखि हालसम्म विभिन्न धार्मिक, शैक्षिक, सामाजिक कार्यमा संलग्न छन् स्वतन्त्रता सेनानी कृष्णबहादुर जोशी । एक पुराना, पाका, अनुभवी नेता भएकाले जोशीका मार्ग निर्देशन पार्टी एवं समाजलाई आवश्यक पर्दछ । हुन त जोशीको योगदानको कदर स्वरूप विभिन्न राजनैतिक दल, संघसंगठन, शैक्षिक, धार्मिक संस्थाले कदरपत्र र सम्मानपत्र दिएका छन् । जोशीलाई प्रमाणपत्र, कदरपत्र प्रदान गर्नेहरूमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, जिल्ला विकास समिति पर्वत, नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखा, भीमेश्वर नारायण निजी गुठी, श्री नारायण उच्च माध्यमिक विद्यालय कुश्मा, गुप्तेश्वर बहुमुखी क्याम्पस लगायतका अनगिन्ती संघसंस्था छन् । पछिल्लो पटक वि.सं. २०७१ साल फागुन ७ गते नेपाल प्रजातान्त्रिक सेनानी संघ, काठमाडौंले उहाँको योगदानको कदर स्वरूप सम्मान–पत्र प्रदान गरेको छ ।
स्वतन्त्रता सेनानी जोशीलाई पछिल्लो समयमा धेरैले धार्मिक व्यक्तित्वका रूपमा समेत लिने गरेका छन् । जोशीका पुर्खाहरू धार्मिक संस्कारले परिपूर्ण भएकाले उहाँमा धार्मिक संस्कार अविछिन्न रूपमा भएको हुनुपर्छ । उहाँका जिजुबाजे भाजुवीर जोशीले वि.सं. १९६४ मा भीमेश्वर नारायणको मन्दिर स्थापना गरी गुठीको समेत व्यवस्था गरिदिए । पिता हरिकुमार जोशीले कुश्मा बजारमा वि.सं. १९७६ सालमा श्रीगणेशको मन्दिर स्थापना गरेकाले नित्य दर्शन एवं प्रदक्षिणा गर्ने बानी बस्यो । बिहान नित्य पूजाआजा एवं भगवत चिन्तन र स्मरण गर्ने संस्कार छ । सो मन्दिरको वि.सं. २०६१ सालमा उहाँका सन्तती र टोलवासीले पुनः निर्मण गरिदिए । पुर्खाले स्थापना गरेको मठमन्दिर संरक्षण गर्नुपर्छ भन्ने जोशीमा अटल मान्यता रहेको पाइन्छ ।
श्री भीमेश्वर नारायण मन्दिरका पूर्व अध्यक्ष जोशीले धेरै साधुसन्त, महात्मासँग सत्संग गर्ने अवसर पाए । जीव र जगत, आत्मा र परमात्माको अन्तर्सम्बन्धबारे गहिरो जानकारी पाएकोले मन्दिर परिसरमा धेरै पटक धार्मिक प्रवचन सञ्चालन गर्न भ्याए । जोशीलाई बेला–बेलामा आत्म दर्शनका साथै बेलाबखत परमात्माको दिव्य दर्शन मिल्ने गरेको परिवारजन बताउँछन् । भीमेश्वर नारायण गुठीको अध्यक्ष हुँदा गुठी जग्गाको संरक्षण एवं मन्दिर क्षेत्रको विकास र व्यवस्थापनमा निकै चासो देखाए । अहिले साँढे ९ रोपनी क्षेत्रमा अवस्थित यो मन्दिर कुश्मा बजारको अनमोल गहना बन्न पुगेको छ । यसले मुक्तिनाथ जाने आउने साधुसन्तलाई धुनि, खानेपानी, बस्ने तथा निःशुल्क सदावर्त भोजन दान गर्ने गरेको छ । मन्दिर क्षेत्रमा व्यवस्थित धर्मशाला बनाइएको छ । उक्त मन्दिर क्षेत्र र गुठीकै आम्दानीबाट वि.सं. २०५८ सालको महायज्ञमा गुप्तेश्वर बहुमुखी क्याम्पसका लागि १० लाख ७६ हजार आर्थिक सहायता प्रदान गरिएको थियो । उक्त गुठीकै पहलमा नारायण निमावि स्थापना र सञ्चालनमा महत्वपूर्ण भूमिका रहेको जोशी बताउनुहुन्छ । अहिले कुश्मा भ्रमण गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरू यो ठाउँ हर्न नआई छाड्दैनन् । शान्त र शीतल स्वभावका जोशी कसैसँग द्वेष र ईष्र्याभाव राख्नुहुन्न । सत्संग र स्वाध्याय गर्न कहिल्यै नचुक्ने जोशी शान्ति प्राप्तिका लागि स्थितप्रज्ञको स्थितिमा पुग्नुपर्ने स्पष्ट धारणा राख्नुहुन्छ ।
सादगी जीवन विताइ रहेका अग्ला कदका जोशी पछिल्लो समयमा शाकाहारी भोजन रुचाउँछन् । सधैं दौरा–सुरुवाल, ज्वारी–कोट र ढाकाटोपीमा ढल्कने भद्र–भलादमी जोशी समग्रमा आफ्नो जीवन सफल भएकोमा खुशी देखिन्छन् । टोल छिमेकीहरू कुनै समस्या पर्दा उहाँसँग राय माग्न आउने र जोशीले पनि आफुले जाने–बुझेका उपाएहरू बताउने गर्नुहुन्छ । जोशीले देश–विदेशका प्रमुख धार्मिक तीर्थस्थलहरूको दर्शन गर्ने सौभाग्य पाएका छन् । ती तीर्थस्थलहरू मध्ये नेपालका श्रीपशुपतिनाथ, श्री मुक्तिनाथ, जानकी मन्दिर, देवघाटक्षेत्र आदि छन् भने मित्रराष्ट्र भारतका बद्रि, केदार, काशी, विश्वनाथ, जगनाथ, गंगासागर, हरिद्वार, ऋषिकेश आदि । जोशीको विशेष पहलमा कुश्मामा अद्वैत संस्था, सनातन धर्म सेवा समिति, विश्व हिन्दू महासंघको शाखा स्थापना गरी धार्मिक गतिविधि संचालन गर्न सहयोग पु¥याएको देखिन्छ ।
पुस्तकको नामः व्यक्ति र व्यक्तित्व
लेखकको नामः रवीन्द्र माकाजू
ठेगानाः मालेपाटन, पोखरा
फोनः ९८१७१०७६२५
प्रकाशनः २०७७ आषाढ
पुस्तक डिजाइनः कृष्ण कम्प्युटर
(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।)
धन्यवाद !!!

0 Comments