स्काउटका गुरु हेरम्बप्रसाद कोइरालाः व्यक्ति र व्यक्तित्व

पोखरा–५ प्रस्याङ्ग निवासी हेरम्बप्रसाद कोइरालालाई सबैले वरिष्ठ समाजसेवी, स्काउट गुरुका रुपमा सम्मान गर्ने गर्दछन् । पोखरामा स्काउटलाई भि†याउने, चिनाउने र फैलाउने पहिलो व्यक्ति हुन्– हेरम्ब सर । स्काउटका कारण एक इमान्दार, कर्तव्यनिष्ठ, लगनशील र बिनम्र व्यक्तित्व हेरम्ब सरको अधिकांश समय स्काउट, विद्यालय र सामाजिक सेवा कार्यमा नै बित्छ । अग्रज समाजसेवी हेरम्ब सर सँग समाजले सिक्नु पर्ने गुण धेरै र अनुकरण गर्नु पर्ने पक्ष अनेक छन् । स्काउट सिद्धान्तलाई जीवनमा परिशीलन गरेकाले उनी एक भद्र भलाद्मी, मिलनसार व्यक्तित्वका रूपमा स्थापित छन् ।

वि.सं. १९९६ साल चैत्र ७ गते पिता गंगाप्रसाद र माता धनेश्वरी देवीका द्वितीय पुत्र रत्नका रुपमा जन्मिएका हेरम्बप्रसाद सानै उमेरदेखि नै मेहनती थिए । हुने विरुवाको चिल्लो पात भनेझे पठन–पाठनमा उनको मन जान्थ्यो । मातापिताले उनलाई ठूलो मान्छे बनाउन चाहन्थे । उनले पोखरामा भर्खरै मात्र खुलेको नेशनल हाईस्कुल र अमरसिंह हाईस्कुलमा पढ्ने मौका पाए । साथै उच्च शिक्षाका लागि उनले पृथ्वीनारायण कलेजमा २०१९ सालमा भर्ना भई बाराही स्कूलमा पढाउन थाले । जहाँ जीवनका धेरै बर्ष हेडमाष्टर भएर विताए । उनी हेडमाष्टर हुँदा तत्कालीन सराङ्गकोट गा.वि.स. (हाल पोखरा–१८) को कित्ता नं. ३४१ को ३२ रोपनी ४ आना जग्गा विद्यालयको नाममा दर्ता गराउन सफल भए । पछि उनले गण्डकी बोर्डिङ्ग स्कुलमा प्राचार्य भएर समेत सेवा पु¥याए ।

विस २००८ सालमा हेरम्ब सरको विवाह पार्वतीसँग हुन्छ । पार्वतीले सुखदुःखमा कहिल्यै साथ छोडिनन् । 

२०२० साल जेष्ठ महिनामा पोखरामा स्काउट शिक्षक तालिममा उनी सहभागी हुन्छन् । तालिममा शिक्षाविद् डा. राधेश्याम कायस्थ, विन्दुवासिनीका पूजारी रूद्रनाथ पौडेल आदि थिए तर सहभागी मध्ये हेरम्ब सरले मात्र स्काउटलाई जीवनभर निरन्तरता दिए । तालिम पश्चात अरूलाई तालिम दिन मिल्ने इजाजतपत्र प्राप्त गरी स्काउटका विधिवत गुरु बन्न पुगे । विस्तारै कास्की जिल्लाभरी स्काउटलाई फैलाए ।

हेरम्ब सरको भनाइमा सबैको मित्र स्काउटले संधै परस्परमा भातृत्व तथा भगिनित्व सम्बन्ध कायम राख्न सिकाउँछ । स्काउटमा लागेपछि बिनम्र हुनुपर्छ । स्काउटको आदर्श बारे उनको भनाइ छ– सबै प्राणीप्रति दयालु हुनु स्काउट हुनुको विशेषता हो । स्काउट टोली, सधै अनुशासित र आज्ञाकारी हुन्छ । सधैं प्रसन्न रहनुका साथै बहादुर पनि हुन्छन् । स्काउटले मितव्ययी हुन सिकाउँछ । साथै मन, बचन र कर्ममा पवित्र हुनु स्काउटको अर्को महत्वपूर्ण नियम हो ।

ईश्वर प्रतिको आस्थाले व्यक्तिलाई शक्तिशाली र सरल बनाउँछ । व्यक्तिलाई चरित्रशील, नैतिकवान पनि बनाउँछ । ईश्वर प्रति विश्वास भएन भने ऊ कसैसँग डराउँदैन र छाडा हुन्छ । छाडा व्यक्तिबाट गलत कार्य हुन सक्छ समाजमा । स्काउटका सिद्धान्तहरू समाज उपयोगी छन, । व्यक्ति उपयोगी र सहयोगी बन्नुपर्छ समाजका लागि । मान्छेलाई महान बनाउने उच्च विचार र कुशल व्यवहारले हो । अरूलाई काम नलाग्ने, गुण नभएको, असहयोगी व्यक्तिको समाजमा कुनै मूल्य हुँदैन । व्यक्ति समाजका लागि उपयोगी हुनुपर्दछ । उनले जीवनमा सिकेको असल पक्ष यही हो ।

हेरम्बप्रसाद कोइराला

स्काउटको आदर्श र सिद्धान्तले भरिएका हेरम्ब सर सधै खुशी देखिन्छन् । सबैसँग हाँस्ने, बोल्ने स्वभाव कसैसँग नरिसाउने हुँदा उनको जीवन खुला आकाश जस्तै र पुस्तकका पाना जस्तै सेतो र सफा छ । आत्मा निर्मल, हृदय सरलता र सहजताले भरिएको छ । कर्तव्य परायणता र इमान्दारिताले गर्दा उनी प्रशंसायोग्य छन् । चरित्रमा कुनै दाग लागेको छैन । हेरम्ब सर चरित्रलाई जीवनको सर्वस्व मान्छन् । उनीभित्र सेवाभाव कत्ति पनि कम भएको छैन । कुनै पनि समाज या राष्ट्रलाई उठाउने हो भने मुलुकमा अनेकौं हेरम्बप्रसाद जन्मनु पर्छ ।

हेरम्बप्रसाद सरले प्रजातान्त्रिक विचार समाजको केन्द्रिय सदस्य भएर पनि सेवा गरेका छन् । श्रीपति कोइराला गुठी पोखराका पूर्व अध्यक्ष हेरम्बप्रसाद नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष पनि थिए । उनी उच्च माध्यमिक शिक्षा सभाका सदस्य पनि भए । नेपाल स्काउटका राष्ट्रिय सचिव हेरम्ब सर नेशनल टे«डिङ्ग कमिस्नर पनि थिए । उनी महर्षि मुदगल प्रतिष्ठान देवघाटका र रामघाट धार्मिक क्षेत्र विकास समिति पोखराका प्रमुख सल्लाहकार हुन् । एमनेष्टी इन्टरनेश्नल नेपाल समूहमा आवद्ध कोइराला डढेलो विरुद्ध चेतना अभियानका संस्थापक अध्यक्ष पनि थिए ।

 विश्व स्काउटका सम्मेलनहरुमा सहभागिता जनाउन जर्मनी, थाइल्याण्ड, बंगलादेश, मलेसिया, अष्ट्रेलिया आदि राष्ट्रहरुमा सहभागी भएका हेरम्ब सरले धर्मस्थली आधारभूत स्कुल, बाराही मा.वि. र चिसाखोला वेद विद्याश्रममा अक्षयकोष स्थापना गरी गरिब छात्र–छात्राहरुलाई सहयोग पु¥याउँदै आएका छन् । सूर्यचन्द्र समाजद्वारा संचालित पुस्तकालयका लागि आर्थिक सहयोग पु¥याएका हेरम्ब सरले माता मनकामना अंग्रेजी संस्करणको पुस्तक प्रकाशन समेत गरिदिएका छन् ।

हेरम्ब सर चाहन्छन्– सबैले स्काउटको सिद्धान्तलाई आत्मसात गरुन । स्काउट धर्म, वर्ग, जाति, वर्ण, राष्ट्र भन्दा माथि उठेको मानवीय सिद्धान्त हो । यसलाई सबैले धारणा गर्ने हो भने सबैमा मनमुटाब मेटिन्छ । अहिले नेपाली समाजलाई आपसी एकता र सद्भाव चाहिएको छ । सहिष्णुता र समन्वय आवश्यक छ भने एकले अर्कोलाई सहयोग गर्ने परिपाटीको खाँचो छ । स्काउटका १० नियम कण्ठ पार्दै उनी भन्छन्– ईश्वर, धर्म, समाज र देश प्रतिको कर्तव्य पालना गर्नु जरूरी छ । सबैले आफू र परिवार समाज र राष्ट्रपति आफ्नो कर्तव्यको पूर्ण रुपमा पालना गर्नुपर्छ । हरेक व्यक्तिमा स्वयंसेवी भावना हुनुपर्दछ । समाजसेवीहरू राजनैतिक रंग र विचारधाराबाट अलग हुनुपर्छ । मान्छेमा प्रगतिशील विचारधारा हुनुपर्छ । मुलुकमा आपतविपत पर्दा स्काउट टोली घरको खाना खाएर घरकै सामल बोकेर पिडित व्यक्तिका सेवामा समर्पित हुन्छन् ।

 हेरम्ब सरको विचारमा शिक्षा सप्रियो भने मात्र देश र विश्वको समग्र विकास संभव हुन्छ । शिक्षाले मानिसलाई पूर्ण मानव बनाउन मद्दत गर्दछ । हेरम्ब सरले विश्वका धेरै राष्ट्र घुमे तर उनलाई आफ्नै जन्मभूमि नेपाल प्यारो लाग्छ । उनको ठम्याई छ– वास्तवमा पोखरा धर्तीको स्वर्ग भएकोले अनगिन्ती पर्यटक यहाँ घुम्न आउँछन् । वास्तवमा पोखरा विश्वकै अनमोल सम्पत्ती हो, सम्पदा हो । हेरम्ब सरले छात्र–छात्रालाई पिट्ने, तर्साउने गरेनन्, बरु त्यसको बदला स्नेह र आत्मीयपूर्ण व्यवहारले शिक्षा दिन पछि परेनन् । यसकारण उनी सबैका प्रिय बन्न पुगे । हेरम्ब सरको विचारमा शिक्षकलाई पढाउने अधिकार छ तर पिट्ने अधिकार छैन । यदि विद्यार्थीले कक्षामा पढाएको बुझेनन् भने, ठान्नुपर्छ शिक्षकले राम्ररी पढाउन सकेनन् । हेरम्ब सरको भनाईमा हरेक व्यक्तिमा केही न केही विशेषता हुन्छ । चाख लाग्ने विषयमा विद्यार्थीहरु ध्यान केन्द्रीत गरेर पढ्छन् । 

पढाईलाई व्यवास्ता गरेर विदेश जाने धेरैको प्रवृति देख्दा उनको मन छिया–छिया हुन्छ । यसबाट उनी यो निश्कर्षमा पुगेका छन् अझै पनि शिक्षालाई प्राथमिकता दिए जस्तो लाग्दैन समाजले । उनी सोच्छन्– नेपाल गरिब देश हुँदै होइन । यहाँका श्रोत र साधनलाई पूर्ण रुपमा परिचालन गर्न जान्यौं भने प्रगति असंभव छँदै छैन । 

हेरम्बप्रसादका चार भाइ सु्पुत्र रमेशप्रसाद, रामप्रसाद, डा. सुदिप्रसाद र किशोरप्रसाद हुन् । जेष्ठ सुपुत्र रमेशप्रसादका (बुहारी उषा ) हुन् भने उनीहरुका दुई भाइ छोरा ई. रुपेशरञ्जन र रुपकरञ्जन हुन् भने एक सुपुत्रीमा डा. मनिषा । 

 त्यसैगरी माइला सुपुत्र रामप्रसादका (बुहारी ईश्वरी) दुई सुपुत्र छन्– आकाशप्रसाद र आयुषप्रसाद । आकाशप्रसादका जीवनसंगीनी हुन् जस्मिन । उनीहरुका एक सुपुत्र छन् माईलिन् अर्थात समाजसेवी हेरम्बप्रसादका पनाति । साईला सुपुत्र तर्फ एक सुपुत्री छिन् । साइला सुपुत्र डा.सुदिपप्रसाद (साइली बुहारी डा. भारत)  तर्फका सभाना नातिनी हुन् । कनिष्ठ सुपुत्र किशोरप्रसादका श्रीमती हस्तकला हुन् । जेठो छोरातर्फ डा. मनिषा नातिनी हुन् भने अर्का छोरा ई. रुपेशरञ्जन तर्फका नातिनी बुहारी स्तुती ।

समाजसेवी हेरम्बप्रसाद कोइरालाले थुप्रै मानसम्मान र पदवी पाएका छन् । विशेषगरी उनको स्काउटको योगदान निकै महत्वपूर्ण मानिन्छ । उनलाई नेपाल स्काउटले ०७३ सालमा स्वर्ण सेवा सम्मान द्वारा विभुषित गरेको थियो । विश्व स्काउटले सन् २००४ मा विशिष्ट सेवा पदकले सम्मानित ग¥यो । उनलाई सम्मानपत्र प्रदान गर्नेमा नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले २०५७ चैत्र २९ गते अभिनन्दनपत्र प्रदान गरेको थियो । नेपाल शिक्षक संघ कास्कीले २०५८ बैशाख ३० गते अभिनन्नदन पत्र प्रदान ग¥यो । त्यस्तै २०६० सालमा भद्रकाली मा.वि.ले र २०६२ सालमा अमरसिंह नमुना उच्च मा.वि. ले अभिनन्दनपत्र प्रदान ग¥यो । उनलाई सम्मान पत्र प्रदान गर्नेहरुमा नेपाल टेलिभिजन, माछापुच्छ«े एफ. एम. मनकामना विकास समिति, बाराही उच्च मा.वि., कालिका उच्च मा.वि., ब्राह्मण समाज नेपाल, पोखरा बेद विद्याश्रम (२०६६), श्रीपती कोइराला गुठी २०६८, जोर्ज जोन शिक्षा प्रतिष्ठान २०६९ रहेको छ । त्यस्तै उनलाई सनातन धर्म सेवा समितिले २०६८ सालमा सनातन श्रीसम्मान द्वारा बिभूषित ग¥यो । उनी २०७० सालमा सनकमान श्रेष्ठ स्मृति पुरस्कारद्वारा सम्मानित पनि भए ।

यस्तै समाजसेवी कोइरालालाई ब्राह्मण समाज नेपालले २०६९ सालमा नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले २०७०, राष्ट्रिय परोपकार महासंघले २०७० सालमा, निवृत शिक्षक समुदायले २०७० सालमा, शान्ति निकेतन स्कुलले २०७० सालमा, बुढा निलकण्ठ मन्दिर संरक्षण समितिले २०७१ सालमा, एमनेष्टी इन्टरनेश्नल नेपाल समूहले २०७१ सालमा, गण्डकी आवासिय उच्च मा.वि. ले २०७२ सालमा, कोइराला सेवा समाज कास्कीले २०७३ सालमा, २०७४ सालमा सूर्यचन्द्र विकास समाजले सम्मानपत्र प्रदान गरेको थियो । यो क्रम अझै रोकिएको छैन ।


पुस्तकको नामः व्यक्ति र व्यक्तित्व

लेखकको नामः रवीन्द्र माकाजू

ठेगानाः मालेपाटन, पोखरा

फोनः ९८१७१०७६२५

प्रकाशनः २०७७ आषाढ

पुस्तक डिजाइनः कृष्ण कम्प्युटर

(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।) 

धन्यवाद !!! 

Post a Comment

0 Comments