व्यक्तित्व चर्चा
वरीष्ठ समाजसेवी लेखतमान लाभाजू
–रवीन्द्र माकाजू
व्यक्तिगत स्वार्थ त्यागेर समाजका लागि लागिपर्ने व्यक्तित्वहरु समाजमा थोरै हुन्छन् । ती थोरै व्यक्तित्वहरु मध्येका एक हुन्– लेखतमान लाभाजू । उनको जन्म आजभन्दा ७८ वर्ष अगाडि पोखराको साँघुमुखमा भएको थियो । पृथ्वीनारायण कलेजमा बि.ए. सम्म अध्ययन गर्नु भएका लाभाजूले धेरै वर्ष सरकारी सेवामा जीवन बिताएपछि कन्या क्याम्पसको संस्थापक अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका अध्यक्ष जस्ता महत्वपूर्ण पदमा रहेर पोखरेलीहरुको सेवा गरे । उनले गरेका सेवा अमूल्य छन् । उनको योगदान प्रसंशनीय छ, वन्दनीय छ ।
वि.सं. २०४६ सालको जनआन्दोलन पछि देशमा परिवर्तनको लहर देखा प¥यो । वि. सं.२०४८ सालमा नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयमा वर्षेनी बढ्दै गएको विद्यार्थीको चाप र खस्कदो शैक्षिकस्तरको बाध्यात्मक परिस्थितिलाई मध्यनजर गरेर निजी क्षेत्रलाई क्याम्पस संचालन गर्न दिने नीति सार्वजनिक ग¥यो । जसको प्रभाव नेपालको शैक्षिक राजधानी पोखरामा पनि पर्नु स्वभाविकै थियो ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा बढ्दो विद्यार्थी चाप, राजनीतिक अस्तव्यवस्तताका कारण नारीहरूका लागि उच्च शिक्षा दिन छुट्टै क्याम्पस स्थापना गर्नुपर्ने आवश्यकता महशुस गरी वि.सं. २०४८ साल कात्तिक १० गते स्थानीय शिक्षाप्रेमी एवं समाजसेवीहरुको बृहत्त भेलाले पोखरामा कन्या क्याम्पस संचालन गर्ने निर्णय गयो । सो प्रयोजनका लागि १४ सदस्यीय संचालक समिति र क्याम्पस प्रमुखमा उप–प्राध्यापक सुरेन्द्रबहादुर भारीलाई चयन ग¥यो । भोलिपल्ट अर्थात् कार्तिक । ११ गते. १४ सदस्यीय संचालन समितिको बैठक बस्यो । कवि तेजनाथ घिमिरेको अध्यक्षतामा बसेको बैठकले क्याम्पस संचालक समितिको अध्यक्षमा लेखतमान लाभाजू, उपाध्यक्षमा लालकाजि बजिमय र सचिवमा क्याम्पस प्रमुख सुरेन्द्र भारीलाई चयन ग¥यो । अन्य सदस्यमा आनन्दराज मुल्मी, तिलकमान गुभाजू, जयराम हमाल, तीर्थ श्रेष्ठ, तेजनाथ घिमिरे, मेजरमान बज्राचार्य, ज्योति भट्टचन, राधवलाल बैद्य, सुन्दर गुरुङ र पोखरा उद्योग गणिज्य संघ र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि सदस्य चयन गरियो ।
कन्या क्याम्पस संचालक समितिले सबैभन्दा पहिला क्याम्पस स्थापना गर्न आवश्यक पहल ग¥या । सरकारको तत्कालीन नीति अनुसार निजी क्षेत्रबाट क्याम्पस स्थापना र संचालन गर्न न्यूनतम ६ लाख बैंक धरौटी वा १० जना त्रिभुवन विश्वविद्यालयका स्थाई प्राध्यापकहरुले संस्थामा आर्थिक संकट आइपरेको खण्डमा निःशुल्क सेवा गरी संस्था बचाउने छु भनी कबुलियतनामा पेश गर्नुपर्ने शर्त थियो । सो शर्त पालना गर्न सुरेन्द्र भारी लगायत अमृतलाल श्रेष्ठ, मेजरमान बज्राचार्य, सविता बैद्य, ज्योति भट्टचन, विष्णुराज पराजुली, पद्मशरण रेग्मी, रश्मी देवाजू र इन्द्रप्रसाद सापकोटा तयार भए । शिक्षाप्रेमी लाभाजूका अनुसार उहाँहरुको नाम कन्या क्याम्पसको इतिहासमा स्वर्ण अक्षरले सजिएको छ ।
कन्या क्याम्पस स्थापनाका लागि त्रिभवन विश्वविद्यालय कार्यकारिणी परिषदमा निवेदन दर्ता गराइयो । २०४८ साल कार्तिक १७ गते परिषद्को निर्णय अनुसार कन्या क्याम्पस पोखरालाई मानविकी र व्यवस्थापन संकायतर्फ प्रविणता प्रमाणपत्र तह आई.ए. र आई.कम. कक्षा संचालन गर्न स्वीकृत दियो । क्याम्पस संचालक समितिको अनुरोधमा कन्या मा. वि. नदीपुरले आफ्ना विद्यालयको कोठामा बिहान कक्षा संचालन गर्न सहमति जनायो । त्यसपछि कन्या क्याम्पस पोखराले भर्नाको लागि आहृवान ग¥यो । २०४८ मार्ग २२ गते मानविकी तर्फ ३८ जना र व्यवस्थापन तर्फ १८ जना छात्रा लिएर कक्षा शुभारम्भ ग¥यो । यसरी उपत्यका बाहिर पहिलोपल्ट ५६ जना छात्राहरुलाई लिएर कन्या क्याम्पसले शैक्षिक यात्रा शुरु गरेको थियो । विद्यार्थी संख्या थोरै हुँदा धेरैले टिकाटिप्पणी गरे । कतिले अर्को वर्षदेखि क्याम्पस चल्दैन, सबैले एक–एक गरी क्याम्पस छाड्नेछन् भने तर शिक्षाप्रेमी लाभाजू क्याम्पस संचालनमा दत्तचित्त भई लागिपरे । उनलाई सरहरुले साथ मात्र दिएनन् उर्जा पनि थपिदिए ।
क्याम्पसको कुनै आर्थिक श्रोत थिएन । शैक्षिक शुल्क नै क्याम्पस संचालन गर्ने माध्यम थियो । समाजमा आधा हिस्सा ओगटेको नारीहरुलाई आँखा देखाउने सुपथ शुल्कमा स्तरीय शिक्षा दिने पवित्र लक्ष्य बोकेकोले क्याम्पसलाई आफ्नो साझा सम्पत्ति मानेर स्वदेशी तथा बिदेशी दातृ संस्थाले भौतिक सामग्रीहरु प्रदान गर्न थाल्यो ।
प्रत्येक वर्ष छात्राहरुको संख्यामा बृद्धि हुन थाल्यो । कन्या क्याम्पसको. पढाइ रामो, छात्राहरु अनुशासित र मर्यादित भएको चर्चामा आउन बालेपछि छात्राहरुको ओइरो लाग्न थाल्यो । क्याम्पसको आफ्नै भवन थिएन । न त फर्निचर आदि नै पर्याप्त मात्रामा थिए । उकुसमुकुसको असहज अवस्था । भवन निर्माणका लागि विभिन्न साहू महाजन, राष्ट्रिय अन्तर्राष्ट्रिय दातृ निकायमा पत्राचार गरियो । धेरै ठाउँबाट आश्वासन बाहेक केही हात लागेन तर निरन्तर पत्राचार पछि मित्रराष्ट्र जापानले उत्सुकता देखायो । सन् १९९२ मार्च ४ मा भवन निर्माण सहयोगार्थ विस्तृत नक्सा, डिजाइन, लागत अनुमान सबै कागजात सहित मित्रराष्ट्र जापानको राजदूतावासमा प्रस्ताव पत्र पेश गरियो ।
समाजसेवी लाभाजूका अनुसार जापानका तत्कालीन राजदूत सिगेनोबु योसदाले जनवरी १९९५ मा पोखरा भ्रमणमा आउँदा कन्या क्याम्पस भवन निर्माण गर्न जापान सरकार इच्छुक भएको बताए । त्यसपछि जापान सरकारले १७ मार्च १९९५ मा कन्या क्याम्पस भवन निर्माणका लागि ९४,३३० अमेरिकी डलर सहयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर ग¥यो । समझदारीपछि कन्या क्याम्पस भवन बनाउन लाभाजूकै अध्यक्षतामा भवन निर्माण समिति गठन ग¥यो । लाभाजू यसको लागि अहोरात्र खट्ने गरेको कन्या क्याम्पसका पूर्व क्याम्पस प्रमुख मेजरमान बज्राचार्य बताउँछन् । त्यस्तै पूर्व क्याम्पस प्रमुख सुरेन्द्र भारीका अनुसार लेखतमान लाभाजूले लगातार १७ बर्ष सम्म क्याम्पसको अध्यक्ष बनेर भवन निर्माण गर्न मात्रै सहयोग गरेनन् । क्याम्पसलाई सुनिश्चित र योजनाबद्ध तवरबाट सम्पूर्णता प्रदान गरेर शैक्षिक क्षेत्रमा अतुलनिय योगदान पु¥याएका छन् । कन्या क्याम्पसलाई जापानको अन्तर्राष्ट्रिय संस्था जाइका, ब्रिटिश गोरखा बेयलफेयर सेन्टर, जापानको स्वयंसेवक संस्था, जर्मन–नेपाल हेल्प एशोसिएसन, पोखरा उद्योग बाणिज्य संघ लगायत विभिन्न महानुभावहरुले निरन्तर सहयोगका कारण कन्या क्याम्पसले अहिले विशाल रुप धारण गरेको छ । पाँच तले भवन, महिला छात्रावास भौतिक सुविधाले सजिएको देख्दा जो कोही पनि क्याम्पले गरेको प्रगति देख्दा अचम्म मान्दछन् । क्याम्पसमा शिक्षा, मानविकी संकायतर्फ डिप्लोमा सम्मको पढाई हुन्छ भने व्यवस्थापन विषयतर्फ डिग्रीसम्मको पढाई हुन्छ । लगातार १७ वर्ष कन्या क्याम्पस संचालक समितिको अध्यक्ष पदमा रही पोखराको शैक्षिक क्षेत्रमा पुयाएको योगदानको कदर स्वरुप लेखतमान लाभाजूले पु¥याएको योगदानको उचित कदरस्वरूप जर्ज जोन शिक्षा प्रतिष्ठानले सम्मान गरेको थियो ।
यसका अतिरिक्त समाजसेवी लाभाजूले धेरै बर्ष पश्चिमाञ्चल क्षेत्रिय अस्पताल विकास समितिको अध्यक्ष भएर स्वास्थ्य क्षेत्रमा पनि सेवा पु¥याए । उनले अस्पतालको भौतिक विकास मात्रै गरेनन् । अस्पतालमा सेवा सुविधा थप्नेतर्फ महत्वपूर्ण भूमिका खेले । लाभाजू अर्वुद रोग निवारण संस्थाका यशस्कर सदस्य पनि हुन् । उनले आफ्ना पिता काजिमान लाभाजूको स्मृतिमा महेन्द्रपुलमा काजिमान लाभाजू स्मृति भवन निर्माण गरेर अर्वुदरोग निवारण संस्था कास्कीलाई हस्तान्तरण गरे । उनले पु¥याएको सामाजिक सेवाको योगदान स्वरुप स्वर्गवासी राजा वीरेन्द्रले उनलाई गोरखा दक्षिण बाहु तेस्रो बाट विभुषित गरेका थिए । महेन्द्रपुलमा बसोबास गरिरहनुभएका लाभाजूका एक श्रीमती दुई सुपुत्र र दुई सुपत्रीहरु आ–आफ्ना पेशामा आबद्ध छन् ।

0 Comments