पोखरेली नवरत्न हेम बहादुर प्रधान– रवीन्द्र माकाजू



वरिष्ठ समाजसेवी हेमबहादुर प्रधान पोखरेली नवरत्न बाट पनि सम्मानित छन् । पोखराको सामाजिक, धार्मिक, शैक्षिक क्षेत्रका साथै औद्योगिक विकासमा उहाँको महत्वपूर्ण कदरस्वरूप पोखरा महानगर पालिकाद्वारा २०५९ सालमा पोखरेली नवरत्नद्वारा सम्मानित हुनु भएको थियो । लगातार २१ वर्षसम्म विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको नेतृत्व गरेर प्रधानले मन्दिर परिसर सुन्दर र व्यवस्थित पारिदिनुभयो । पोखरा उद्योग वाणिज्य संघ, श्री सत्यसाई सेवा केन्द्र, पोखरा लायन्स क्लब, श्री सत्य साई विद्याश्रम लगायत थुप्रै सामाजिक संघसंस्थाको नेतृत्व गरी ती संस्थाका आफ्नै भवन बनाउन उहाँको अग्रसरता स्मरणीय रहेको छ ।

तत्कालीन धौलागिरी अञ्चलको पर्वत जिल्ला पाङ गा.वि.स. मा जन्मनु भएका प्रधानले २०१९ सालमा पोखरा आई मोहरियाटोलमा कपडा व्यवसाय शुरू गरी २०३३ सालबाट पोखरा औद्योगिक क्षेत्रमा शिवशंकर बिस्कुट उद्योग, शंकर बिस्कुट उद्योग, शिवशक्ति प्लाष्टिक उद्योग खोलेर सयौं मजदूरलाई रोजगारी दिनु भयो ।
विसं. २०२३ सालदेखि तत्कालीन पोखरा व्यापार संघमा प्रवेश गरेका प्रधानले संघका लागि जग्गा किन्ने र भवन बनाउने कार्यको थालनी गर्नुभयो । २०२५ सालमा पोखरा व्यापार संघका सचिव बन्नु भएका प्रधानले २०३५ सालदेखि २०४१ सालसम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष भएर उद्योगी व्यवसायीको नेतृत्व गरे लगत्तै वि.सं. २०४१ बाट २०४४ सम्म नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य र २०४४ सालदेखि २०४७ सालसम्म प्रथम उपाध्यक्ष भई देशको आर्थिक गतिविधिमा सक्रिय हुनुभयो । पोखराको पहिलो निजी कलेज पोखरा बहुमुखी क्याम्पसका संस्थापक सदस्य, उद्योग विकास समिति पोखराका पूर्व अध्यक्ष, रक्तसञ्चार केन्द्र पोखराको भवन निर्माण समितिका उपाध्यक्ष र नेपाल परिवार नियोजन संघ कास्कीको भवन निर्माण समितिका अध्यक्ष भई विभिन्न संघसंस्थाको भवन निर्माण कार्यमा पनि सक्रिय प्रधान पोखरा–३ नदीपुरस्थित कन्या मा.वि. सञ्चालक समितिको अध्यक्ष हुँदा विद्यालयको नयाँ भवन बनाइदिनुभयो । उहाँकै कार्यकालमा पोखरा उद्योग वाणिज्य संघको सभाहलको निर्माण कार्य शुरू भयो । सत्यसाई सेवा केन्द्रमा अध्यक्ष हुँदा प्रवचनहल र मन्दिरको निर्माण गर्नुभयो । नेपालमै प्रसिद्ध तीर्थस्थल विन्ध्यवासिनी मन्दिर क्षेत्रलाई आकर्षक र दर्शनीय बनाउन उहाँको ठूलो योगदान छ ।
यसरी समग्रमा समाजसेवी प्रधानले सामाजिक, धार्मिक, शैक्षिक क्षेत्रमा पु¥याउनु भएको सेवा अतुलनीय र प्रशंसनीय छ । यसको जति प्रशंसा गरे पनि कम नै हुन्छ । समाजसेवाका क्षेत्रमा उहाँको निस्वार्थ सेवा र त्याग धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्दछ । आफ्नो निजी स्वार्थभन्दा माथि उठेका समाजसेवी प्रधानलाई नेपाल रेडक्रस सोसाइटी कास्की, पोखरा उद्योग वाणिज्य संघ, सनातन धर्म सेवा समिति लगायत ३ दर्जनभन्दा बढी संघसंस्थाले सम्मानपत्र, प्रशंसापत्रद्वारा कदर गरेका छन् । पोखरेली नवरत्न प्रधान पोखराका लागि एक गौरवपूर्ण प्रतिभा हुन् । प्रधानलाई पोखरा उद्योग वाणिज्य संघले पछिल्लो पटक २०६५ साल भाद्र २७ गते सफल उद्यमीका रूपमा अभिनन्दन गरेको थियो । २०६६ साल वैशाख १९ गते विन्ध्यवासिनी धार्मिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याए वापत सार्वजनिक अभिनन्दन समेत गरिएको थियो । प्रधान सनकमान श्रेष्ठ स्मृति पुरस्कारबाट सम्मानित छन् ।
प्रत्येक दिन ब्रम्हमुहूर्तमा उठी नित्य पूजाआजा र योगध्यान गर्ने बानी । आफ्ना बाँकी जीवन समाजसेवा र अध्यात्मिक चिन्तनमा बिताउन चाहन्छन् । पोखरेली नवरत्न हेमबहादुर प्रधान । जीवनलाई संघर्ष ठान्नुहुने प्रधान सधैं सकारात्मक सोच राख्नुहुन्छ । आफ्नो घर राम्रो बनाउन सके गाउँ, जिल्ला हुँदै देश राम्रो बनाउन सकिने उहाँको ठम्याई छ ।
वि.सं. १९९४ साल भाद्र १७ गते जन्मिएका पोखरा नवरत्न प्रधानका बाबु भुवानीप्रसाद हुन् भने माता मान कुमारी । उनको बाल्यकाल पर्वतको पाङमा नै वित्यो । प्रधानले त्यहाँ १० कक्षासम्म पढ्ने अवसर पाए पछि पोखरा आई पृथ्वीनारायण कलेजमा भर्ना भए । पछि प्रधानले पोखरमा कपडा पसल शुरु गरे । पसल राम्ररी चल्न थालेपछि प्रधान पोखरा व्यापार संघमा प्रवेश गरे । ०२५ सालमा प्रधानले सचिवको भूमिका निर्वाह गरे । संघमा रहँदा कार्यलयको व्यवस्थापन देखि जग्गा खरिद र भवन बनाउन पनि प्रधान सक्रिय भए । ०३६ सालमा संघले रजत जयन्ती मनाउँदा पोखरा व्यापार संघलाई पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरण गरे ।
प्रधानले ०३३÷०३४ सालमा पोखराको औधोगिक क्षेत्रमा विस्कुट उद्योग स्थापना गर्दछन् । त्यसबेला उद्योग स्थापना गर्नु फलामको चिउरा चपाउनु सरह थियो । तैपनि शिवशंकर विस्कुट उद्योगलाई प्रधानले सफलतापूर्वक चलाए । उनलाई पोखरा उद्योग वाणिज्य महासंघले सफल उद्यमीको रुपमा सम्मान पनि ग¥यो ।
प्रधान पोखरा लायन्स क्लबका संस्थापक पनि हुन् । उनले सन १९८३÷८४ मा क्लबको नेतृत्व गरेका थिए । त्यसबेला क्लब निकै नै सक्रिय हुँदा स¥याङकोट, भलाम, काहूँडाँडा खानेपानी योजना संचालन गरेको थियो ।
प्रधानले विन्दुवासिनी मन्दिर उक्लने प्रमुख सिंढी निर्माण गरे भने विन्दुवासिनी धार्मिक क्षेत्र विकास समितिका हेम–देवी संस्कृति समाजसेवा पुरस्कार का लागि अक्षयकोष स्थापनाका लागि रु १५ लाख कोष स्थापना गरिदिए । प्रधानले कन्या क्याम्पसमा भएको महायज्ञमा रु १ लाख दान गरे । उक्त पुरस्कारद्वारा पहिलो पटक संस्कृतिविद सत्यमोहन जोशीलाई र दोस्रो पटक आत्मनन्द गिरिजी महाराजलाई प्रदान गरिएको थियो । पुरस्कारको राशी रु १ लाख र ताम्रपत्र रहेको छ । प्रधानले धर्मपत्नी देवीकुमारीको स्मृतिमा देवबाट धर्मार्थ अस्पतालको महिला अन्तरङ्ग कक्ष निर्माणका लागि ३ लाख र अन्य सामान खरीदका लागि २ लाख गरी जम्मा ५ लाख दान दिए । प्रधानले सत्य साई विद्याश्रममा देवी प्रधान स्मृति कोषका लागि ५ लाख अक्षयकोष स्थापना गरेर १ छात्र र १ छात्रालाई नर्सरीदेखि १० कक्षा सम्म निःशुल्क शिक्षा र एस.एल.सी. मा सर्वोकृष्ट अंक ल्याउने प्रथम र द्वितियलाई पुरस्कारको व्यवस्था गरेका छन् । उनले थुप्रै ठाउँमा धनराशी दान दिएका छन् । प्रधान थुप्रै संघ संस्थामा आबद्ध छन् भने श्रीलङ्का, अष्ट्रेलिया लगायतका मुलुकको भ्रमण गरेका छन् । प्रधानका एक सुपत्र रवीन्द्र प्रधान हुन भने ५ सुपुत्री छन् । प्रधानले आफ्नो आत्मकहानी जन्मभूमिदेखि कर्मभूमिसम्म प्रकाशित गरका छन् । उनको जीवनी पुस्तक पोखरली नवरत्न हेमबहादुर प्रधान प्रकाशित भएको छ ।

Post a Comment

0 Comments