![]() |
पोखरामा बाघजात्रा कहिले देखि शुरू भएको हो भन्ने एसको कुनै ऐतिहासक प्रमाण भेटिँदैन । केही विद्वान्हरूको मतानुसार यो नेवारहरूले नै चलाएको परम्परा हुनुपर्छ भन्ने छ । यदि नेवार समुदाय ले नै चलाएको मान्ने हो भने यो जात्रा पनि पूर्ववत् राष्ट्रनिर्माता पृथ्वीनारायण कै दिग्विजय सँग जोडिन पुग्छ र तेस हिसाबले यो २५० वर्षभन्दा अघि पोखरा आइपुगेका नेवार समुदाय बाटै यो जात्रा शुरू गरिएको हुनु पर्छ वा हुन सक्छ भन्नेमा दुई मत रहँदैन । बाघजात्रा को आयोजना कृषि युगसँग सम्बन्धित भएको हुनु धेरै सम्भव छ भन्ने कुरा पुराना बुढा पाकाहरू सुनाउने गर्दछन्– पहिला पोखरा बजारको चारै तर्फ घनघोर जंगल थियो र जंगली बाघ, भालु जस्ता हिंस्रक जनावर ले मानव वस्ती मा पसेर बेलाबखत जनधनको ठूलो क्षति गर्ने गर्दथे । कृषि पेशामा आबद्ध मानिसहरू बाघसँग लड्न भिड्न सक्दैनथे र स्वभावतः सहयोगका लागि राजासँग गुहार माग्नु पर्दथ्यो । साह्रै अप्ठेरो भएपछि जनताले राजासँग जंगली जनावर ले दुःख दिएको बिन्ती सुनाउँथे राजा पनि जनता लाई सहयोग गर्न आउने गर्थे । ठीक यही परिदृश्य प्रस्तुत हुने गर्छ बाघजात्रा मा । राजा ले आफ्ना मन्त्रीगण र सेना लिएर बाघ को शिकार गर्न आएको कथनलाई नै चित्रण गर्ने गरिन्छ बाघजात्रा मा ।
यो बाघजात्रालाई व्यवस्थापन गर्न, निकाल्न, संरक्षण गर्न कुनै समिति गठन भएको देखिँदैन । पोखरामा पछिल्लोपटक २०५७ सालमा बाघ जात्रा प्रदर्शन भएको थियो । यो जात्रा कुनै संस्कृतिप्रेमीको पहलमा पहिला पनि टोलबासीको पहलमा निकालिने गरिन्थ्यो तर जात्रामा कुनै आम्दानी नहुने खाली खर्च मात्र हुने हुँदा आयोजकले चन्दा, सहयोग बटुल्नुपर्ने हुन्छ । पछिल्लो समयमा यो बाघजात्राको अगुवाई गरेका संस्कृतिप्रेमी, आध्यात्मिक व्यक्तित्व जवाहरलाल श्रेष्ठका भनाई अनुसार ०५७ सालमा बाघजात्रा निकाल्दा पोखराका विभिन्न टोलले सहयोग गरेका थिए । श्रेष्ठ का अनुसार तेस बेला राजा, रानी, सेनापति टोल–टोलबाट बनेर आउँथे । तर उनीहरू लाई घोडा उपलब्ध गराउन साह्रै गाह्रो पथ्र्यो । तेस समस्या मा पर्यटनविद् झलक थापाले घोडा दिएर सहयोग गरेको क्षण पनि श्रेष्ठ बिर्सन सक्दैनन् । ‘‘शृ·ार का वस्त्र र आभूषणहरू लगायत अभिनय सामानहरू जम्मा गर्न पनि सजिलो थिएन, तर जे होस् २०५७ सालमा सम्पन्न बाघजात्रालाई पोख्रेलीहरूले जे जसरी सहयोग गरे, मेरा लागि त्यो खुशीको दिन थियो । बाघजात्रा संयोजक श्रेष्ठले आफ्ना अनुभव सुनाए । यो जात्रा भाद्रकृष्णप्रतिपदाबाट शुरु गरेर जन्माष्टमी भन्दा अगाडी समापन गर्ने गरिन्छ ।
बाघजात्रालाई पोखराका नेवार समुदायले आफ्नो जात्रा पर्वको रूपमा लिने गरेका छन् । यो जात्रा गर्दा टाढा टाढाबाट दर्शकहरू पोखरामा आउने र व्यापार व्यवसाय बढ्ने गरेको बूढापाकाहरू बताउँछन् ।
बाघजात्रामा राजारानी, मन्त्री लाई सिंगारपटार गरीसजाइन्छ । राजा घोडामा चढेको दृश्य हुन्छ भने रानीलाई डोलीमा राखेर बोकाइन्छ । राजा का वरिपरि सुरक्षा गार्ड हुन्छन् । हसाँउने ख्यालीहरू हुन्छन् । मुख्य पात्रको रूपमा बाघलाई नै लिने गरिन्छ । बाघको छाला बोकेको अग्लो ठूलो जिउडाल भएको व्यक्ति बाघ बन्ने गर्छ । बाघ बनेका व्यक्ति सँगसँगै ४ जना शिकारी पनि हिँड्छन् । तेसपछि हात हतियारले सुसज्जित सैनिकहरू लाइन लाग्छन् । तेस लगत्तै मन्त्री, प्रधानमन्त्री घोडामा सवार गराइन्छ । स–साना बालकहरू हातमा धनुषकाँड बोकी लाइन लाग्छन् । विभिन्न हास्य कलाकारहरू आ–आफ्नै भेष प्रदर्शन गर्दछन् । राँगो माथी चढेका यमराज देखिन्छ । २ जना घोडचरी नाच्दै हिड्छन् । अहिले पोखरा शहर ठूलो भएकाले एकै दिन पूरा शहर घुम्न गाह्रो हुने हुँदा यो जात्रा केही दिन बिराएर प्रदर्शन गर्नु आवश्यक देखिएको छ ।
शहरका मुख्य मुख्य भाग घुमिसकेपछि जात्रा समापन गर्ने एसको छुट्टै तरीका छ । यो जात्रालाई खुल्ला चौरमा समापन गर्ने गरिन्छ । जब शिकारीहरूले चारैतिरबाट बाघलाई घेरा हाल्दछन् । बाघ बनेको व्यक्तिले बाघको छालालाई फ्याँक्दछ । तेही मौकामा राजाले बाघको छाला माथी बन्दूक चलाउँछ अनि जनता ले तेही बाघको छालालाई हामीलाई दुःख दिने तैँ हैनस् भनेर आक्रोश पोख्ने गर्दछन् । बाघ मरेको उपलक्ष्यमा जनता खुशी हुन्छन् र हर्ष बढाई गर्ने गरिन्छ र जात्रा विधिवत् समाप्त भएको घोषणा गरिन्छ । आइतबारका दिन बाघ मार्न हुन्न भन्ने चलन छ ।
बाघजात्रा निकाल्ने तरीका
एसका लागि कम्तिमा पनि एक महिनाको समय चाहिन्छ । राँगामाथी कसरी बस्ने भनेर तालीम दिइन्छ । आवश्यक घोडाहरू, हतियारहरू, बाघको छाला, प्रशासनको सहयोग, आर्थिक सहयोग, आवश्यक जनशक्ति, पोशाकको आवश्यक व्यवस्थापन गर्नुपर्छ । एसका लागि स्थानीय जनताको सहयोग र सद्भावको खाँचो पर्दछ । यो जात्रामा शहर को सीमाङ्कन गर्न घोडा चढेका रिसल्लाहरूलाई चारैतर्फ पठाइन्छ । टोलटोलमा गई बाघ ले दुःख दिए नदिएको बुझ्न राजाको सवारी हुँदैछ भन्ने जानकारी दिने गर्दछन् । बाघजात्रा देखाइने सीमा निर्धारण गरी रिसल्लाहरू फर्कन्छन् ।
जात्रा शुभारम्भ हुने दिनमा अगाडी अगाडी अनुहारमा कालो पोतेको, बोरा ओढेको ढिकेग्वाराहरू अगाडी आउँछन् । एस परिदृश्य ले बाघजात्राको आगमन को सूचना दिन्छ । एस्तो बाघजात्रा पहिला पहिला बागलुङ कुस्मामा पनि निकाल्ने गरिएको बयोवृद्ध स्वतन्त्रता सेनानी कृष्णबहादुर जोशी बताउँछन् ।

0 Comments