पोखरामा माघेजात्रा वि.सं. १९७३ सालमा शुरु भएको हुनुपर्छ । एसको शुभारम्भ गर्ने श्रेय स्व. वैठकलाल श्रेष्ठलाई जान्छ । उनी स्वयं ले गलामा हार्विन बाजा बोकी भजन गाउँदै नगर परिक्रमा गर्ने गरेको बूढापाकाहरू अहिले पनि सम्झन्छन् । माघेजात्राको अर्को विशेषता हो– सहस्र धारा । स्वस्थानी कथाको आधारमा माघेजात्रा निकाल्ने परम्परा नेवार बाहुल्य इलाकामा अद्यापि कायमै छ । बनेपा, पनौती, साँखू, भक्तपुर लगायतका क्षेत्रमा माघेजात्रा देख्न सकिन्छ । यो जात्राका लागि कुनै निश्चित गुठी या आम्दानीको श्रोत नहुँदा यो जात्रा लोपोन्मुख अवस्थामा छ ।
माघेजात्रा पौष शुक्ल पूर्णिमाको दिनबाट आरम्भ गरी माघ शुक्ल पूर्णिमा को दिन सम्म १ महिना चल्छ । विशेषगरी श्रीपञ्चमी, भीमा एकादशी र माघ शुक्ल पूर्णिमा समापनका दिन सहस्रधारा निकालिने प्रचलन छ । एस दिन केही व्यक्तिले सहस्रधारा बोकी बजार परिक्रमा गर्ने गर्दछन् । यो सहस्रधारामा जल चढाई पूजा गरेमा मनोरथ पूरा हुन्छ भन्ने पुरानो मान्यता पनि रहिआएको छ ।
सहस्रधारा नारायस्थान नदीपुरबाट एकाबिहानै निस्कन्छ सेतीमा स्नान गरी । यो टोलीसँग भजनटोली पनि हुन्छ । माघ शुक्ल पूर्णिमाका दिन स्वस्थानी कथामा आधारित समुन्द्र मन्थन को दृश्य देखाइन्छ । एसका लागि पोखरामा माघेजात्रा व्यवस्थापन समिति गठन गरिएको छ । जसले हरेक ३ वर्षमा यो जात्रा निकाल्ने गरेको छ । पोखरा मा यो माघेजात्रा शुभारम्भ गर्ने बैठकलाल को वि.सं. २०१० मा देहावसान भए पछि केही वर्ष रोकिएर २०२२ सालमा यो जात्रा निकालिएको थियो । तेसपछि ०३२ साल हुँदै ०७६ सालसम्म अनेक पटक यो जात्रा निकालियो ।

0 Comments