घाट निर्माणकै लागि दत्तचित्त भक्तराज

जेष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष, समाजसेवी भक्तराज श्रेष्ठलाई आजभन्दा करिब २५ बर्ष अगाडि देखि चिन्दै आएको छु । जुन बेला मलाई लाग्छ उनी बगालेटोल परिसरमा महायज्ञ गर्दै हुनुहुन्थ्यो । सायद २०५८ सालतिर हुनुपर्छ महायज्ञबाट उठेको रकमले बगालेटोलस्थित गणेश मन्दिरको पुननिर्माण र रामघाट परिसरलाई पाँच लाख दिने प्रसंग चलेको थियो । धेरैको तर्क थियो पाँच लाखले कसरी रामघाट जस्तो विशाल अव्यवस्थित स्थान व्यवस्थित हुन सक्छ ? कतिले उनको पवित्र विचारलाई हावामा उडाइदिए, कतिले खिस्सी गरे । नभन्दै महायज्ञ सम्पन्न भयो । रामघाट विकास समितिको अध्यक्षमा भक्तराजजी अध्यक्षमा चुनिए । रामघाटमा रकम दिने दाताहरु भेटिए । भक्तराजजी अहिले सम्म पनि यही घाटहरु व्यवस्थित गर्न लागिपरेका छन् । उनलाई नचिन्ने, नजान्ने मानिस शायद पोखरामा विरलै होलान् । लामो समयदेखि रामघाट धार्मिक क्षेत्र विकास समितिमा आबद्ध भई घाटलाई सु–व्यवस्थित गर्ने कार्यमा सक्रिय भएका कारण धेरैले उहाँलाई घाट बनाउने मान्छेका रुपमा चिन्ने गर्दछन् र सम्मान व्यक्त गर्ने गर्दछन् । 

घाट, सभ्यताको प्रतिक मानिन्छ । घाट अन्तिम संस्कार गर्ने ठाउँ हो । घाट जति व्यवस्थित र सुन्दर हुन्छ  समाज त्यत्तिकै सुन्दर र सभ्य मानिन्छ । यस अर्थमा भक्तराजजीले पोखराको परिवेशमा गर्नुभएको सत्कर्म अनुकरणीय र उदाहरणीय छ । अहोरात्र उनले पु¥याएको सेवाका कारण अहिले पोखराका रामघाट र शान्तिघाट क्षेत्र सुव्यवस्थित बन्न पुगेको छ । घाटमा सुविधासम्पन्न बाटो, बिजुलीबत्ती, रेलिङ्ग एवं दाउराको व्यवस्था सहज भएको छ । यस कार्यका कारण अन्यत्र क्षेत्रका घाटहरुको पनि विकास हुन थालेको छ ।

पोखरामा समाजसेवी एवं दानवीरका रुपमा परिचित श्रेष्ठले पोखरामा आयोजित यज्ञयज्ञादि, मठमन्दिर निर्माण, धर्मशाला, बृद्धाश्रम र किरियापुत्री भवनमा किन नहोस् उनको सहयोग अविछिन्न रुपमा रहेको छ । हरेक संघ संस्थाले उनीबाट सहयोगको अपेक्षा राखेका हुन्छन् । श्रेष्ठको विशेष रुपमा चर्चा गर्नुपर्दा पोखरा–१५ सिमलबोट मार्गमा अवस्थित गलेश्वर मन्दिर प्राङ्गणमा अवस्थित नागेश्वर मन्दिरको मूल मूर्ति, नाग ढोका, बसाह, त्रिशूल, तामाको नाग, जलधारा, गजुर, मार्बल हाली मन्दिरलाई भव्य एवं आकर्षक पार्न सहयोग पु¥याएका छन् । श्रेष्ठले पोखरा–१५, कोलपाटनमा निर्माण गरिएको राधाकृष्ण मन्दिरमा आर्थिक सहयोगका साथै गजुर दान गरेका छन् भने गोपालधाम लक्ष्मीधारामा धेरै सहयोग गर्न भ्याए । 

शान्तिघाट विकास समिति क्षेत्रभित्र भक्तराजजीको विशेष सहयोग र सक्रियतामा दानवीरहरुका साथै अन्य सहयोगी साथीहरु र पोखरा महानगरपालिकाको विशेष सहयोगमा वृद्धवृद्धाहरुका लागि आनन्दपूर्वक भजनकिर्तन सहितका धार्मिक कार्यक्रम आदि गर्दै आनन्दसँग समय बिताउन गर्न मिल्ने गरी पक्की आर.सी.सी. को (करीव २२० जना मानिस अटाउने) सभाहल र अन्य कोठाहरु भएको आधुनिक सुविधायुक्त सामुदायिक शान्ति आश्रम भवन (करोडौं रुपैयाँको लागतमा) निर्माण भएको छ । 

उनकै विशेष पहल र शान्तिघाट समितिको अनुरोधमा एभरेष्ट बैंकको सहयोगमा  आधुनिक शवदाह गृह निर्माण भएको छ शान्तिघाट क्षेत्रमा । यो पोख्रेलीहरुका लागि ठूलो सुविधा हो । यो शवदाह गृह निर्माण भएपछि दाहसंस्कार कार्यमा समय र दाउरा कम लाग्ने, प्रदुषण पनि कम हुने । यस सेवा कार्यले एभरेष्ट बैंकले पोखरेलीलाई ठूलो गुण लगाएको स्वीकार्दै यस्तै सेवा कार्य अरु संघ, संस्था वा वित्तीय संस्थाबाट हुन सके सुनमा सुगन्ध हुन गई पर्यटकिय नगरी पोखरमा एभरेष्ट बैंकले जस्तै आर्थिक सहयोग गरी ठूलो छाती देखाउन बुद्धिजिवी, प्रदेश सरकार, स्थानीय महानगरपालिका, साहु महाजन एवं विभिन्न संघ संस्थाहरुलाई श्रेष्ठ हार्दिक अपिल गर्दछन् ।

यस शवदाह गृहको संचालन गर्ने जिम्मा शान्तिघाट विकास समितिले लिएको छ जुन अत्यन्त चुनौतिपूर्ण छ । जेष्ठ नागरिक सेवा केन्द्रको जिम्मेवारी बोकेका श्रेष्ठको अधिकांश समय जेष्ठ नागरिक समाजसेवाको क्षेत्रमा नै वितेको पाइन्छ ।

श्रेष्ठले केही धार्मिक संस्थामा लाखौंको अक्षयकोष खडा गरि सहयोग गरिदिएका छन् । धार्मिक तीर्थब्रतका लागि भारतको केदारनाथ, बद्रिनाथ, रामेश्वर, गंगोत्री, यमुनोत्तरी, भुवनेश्वर, ऋषिकेश, हरिद्वार आदि विभिन्न देवी–देवता र पवित्र धामहरुमा पुगि पितृहरुको उद्धार गरेका छन् ।

भारत, थाईल्याण्ड, हङ्कङ, सिंगापुर, मलेशिया आदि देश घुमेर विकास निर्माणको ज्ञान हासिल गर्नुभएका श्रेष्ठले आफ्ना जहान परिवारको पालनपोषण, शिक्षादिक्षा, उन्नतीप्रगतिको लागि व्यापार व्यवसाय देखि हुलाक कार्यालय, भवन विभाग कार्यालय, कृषि विकास बैंक आदि कार्यालयमा नोकरी गरी नेपालका अधिकांश जिल्लाको भ्रमण गर्नुभएको अनुभव छ । आज श्रेष्ठका पौरखी छोराहरुबाट उल्लेखनीय व्यापार, व्यवसाय गरेका छन् । तिनमा पिता भक्तराजजी कै ठूलो सहयोग र प्रेरणा रहेको सुपुत्रहरु बताउँछन् ।

वि.सं. २००३ साल असार ९ गते पोखराको बगालेटोलमा पिता रत्नबहादुर र माता बालकुमारी श्रेष्ठको कोखबाट जन्मिएका समाजसेवी भक्तराज श्रेष्ठले पिता रत्नबहादुर श्रेष्ठ र माता बालकुमारी श्रेष्ठको संझनामा रु. १ लाख १ हजार १ सय ११ रुपैयाको एउटा अक्षयकोष पनि खडा गरिदिएका छन् । उनको विवाह मोहनमाया श्रेष्ठसंग भएको थियो । ज्येष्ठ सुपुत्र पुष्पराज, माहिला सुपुत्र विश्वराज, साहिँला महेश्वर र कनिष्ठ सुपुत्र ज्ञानेश्वरराज हुन् भने उनको अहिले थुप्रै नाती, नातिना छन् । सरल र मिलनसार स्वभावका श्रेष्ठ सबैसंग मधुर बचन र हेलमेल गर्ने स्वभावका श्रेष्ठ भने आफूलाई प्राप्त भएको धन सम्पत्ति एवं वैभवलाई ईश्वरको कृपा ठान्दछन् ।

समाजसेवी भक्तराजले समाजमा पु¥याउनु भएको योगदानको कदरस्वरुप विभिन्न संघ संस्थाले सम्मानपत्र, प्रशंसापत्र प्रदान गरेका छन् । उहाँलाई सम्मान गर्ने प्रमुख संघ संस्थाहरुमा बगालेटोल टोल सुधार समिति, नयाँबजार, रामघाट धार्मिक क्षेत्र विकास समिति, श्री केदारेश्वर मन्दिर, श्री गलेश्वर मन्दिर समिति, श्री वात्स्यायन वृद्धाश्रम, श्री भैरव साँस्कृतिक संरक्षण समिति, श्री संगीत प्रशिक्षण केन्द्र, श्री गोपालजी मन्दिर समिति, श्री सिद्धार्थ टोल विकास संस्था, श्री सामुदायिक सेवा केन्द्र, सनातन धर्म सेवा समिति, श्री सामिप्य समाज पोखरा र श्री सिद्धार्थ क्लब आदि रहेका छन् । 

पोखराको प्रशिद्ध रामघाट क्षेत्रको विकास निर्माण कार्यमा साथ दिने प्राविधिक एवं कानुनी सल्लाहकार अधिवक्ता युवराज श्रेष्ठ ई. किशोर श्रेष्ठ र सदस्य शेषविरजंग राणा, केदार प्रसाद मर्सानी, कृष्णकुमार श्रेष्ठ, मंगलप्रसाद माकाजू, स्व. टेकन गिरीलाई श्रेष्ठ अहिलेपनि विर्सन सक्दैनन् । त्यस्तै सल्लाहकार विश्वप्रकाश लामिछाने, पिताम्बर नेपाली गुरु र इश्वरी सुवेदी, डा. दिलबहादुर क्षेत्री शान्तिघाट विकासका लागी जगेडा कोषको पथप्रदर्शक वर्तमान अध्यक्ष शिववहादुर कार्की तथा अन्य सहयोगी साथीहरु रामजिप्रसाद कोइराला, भीमबहादुर पौडेल, रामप्रसाद बतास लगायतलाई धन्यवाद दिन बिर्सदैनन् । त्यस्तै कार्यसमिति, बगालेटोल टोल सुधार समितिका पूर्व सचिव चित्रप्रसाद श्रेष्ठ र पूर्व कोषाध्यक्ष तुलसीनारायण श्रेष्ठले आफूलाई एक दशक भन्दा बढी समय साथ दिएकोमा कृतज्ञता व्यक्त गर्दछन् । त्यस्तै एभरेष्ट बैंक व्यवस्थापन समितिका अध्यक्ष विष्णु श्रेष्ठ लगायत संचालक समिति, प्रमुख कार्यकारिणी अधिकृत सोमेश्वर सेठ, क्षत्रिय कार्यालयका प्रबन्धक राजु गौली, पोखरा शाखाका प्रमुख अरुण पौडेलप्रति विशेष कृतज्ञता व्यक्त गर्दछन् श्रेष्ठ । पोखरामा अत्याधुनिक शवदाह गृह निर्माण गरिदिएको सन्दर्भमा । 

त्यस्तै युवा पं. कमलनयन गौतमबाट श्री कप्लेक्सका मेनेजिङ डाइरेक्टर झलकलाल श्रेष्ठको श्री कप्लेक्स परिसरमा पटकपटक यज्ञ गरी रामघाट क्षेत्रलाई सहयोग पु¥याउनु भएकोमा कृतज्ञता व्यक्त गर्दछन् । अहोरात्र पोखराको रामघाट एवंम शान्तिघाटको विकासमा सक्रिय भक्तराजजी पवित्र सेती गण्डकीको संरक्षणको लागि ढुङ्गा बालुवा जथाभावी झिक्न नहुने विचार व्यक्त गर्दै श्रेष्ठ सेती गंगालाई छेकेर बाँध बनाई रामघाटलाई ताल तलैयाको रुपमा सजाउने र घाट सुरक्षित गर्न चारैतिर ग्याबिङ लगाउन अति आवश्यक ठान्दछन् ।

आफू र आफ्ना लागि सोच्ने मानिसहरुको संख्या समाजमा धेरै हुन्छ । तर समाजको हित र उन्नतिका लागि दत्तचित्त हुने भक्तराजहरु नगण्य मात्रामा हुन्छन् । बास्तवमा भक्तराज व्यक्ति मात्र होइनन् एक प्रबृति पनि हुन् पवित्र समाजसेवाको । अहिले समाजसेवाका नाउँमा व्यक्तिगत फाइदा लिने राजनिती गर्ने, प्रचारप्रसार गर्ने लहर चलेको बेलामा भक्तराज एक अपवाद बनेका छन् । उनी निरन्तर घाटको विकासमा लागिरहे । उनको त्याग, तपस्यालाई समाजले मुल्याङ्कन गर्न अझै बाँकी नै देखिन्छ । उनी सबैलाई घाटमा सहयोग गर्न, सत्कर्ममा लाग्न उत्साहित तुल्याउँछन् । उनले आफ्नो धर्म, संस्कृति, परम्परा एवं सभ्यताको विकासको लागि जो सत्कार्य गरेका छन् त्यो यथार्थमा बन्दनीय छ । दिनरात घाटकै विकासका लागी दाताहरुकहाँ धाउने गर्छन् । जो भेटेपनि लौन घाटको लागि केही सहयोग गर्नुहोस् । आखिर जो मरेपनि यही घाटमा सदगति गर्नुपर्छ । हुनसक्छ उनको योगदान जीवित हुँदा कम देखिएला, कम आँकिएला परन्तु उनको अभावमा ज्यादै विशाल र विराट लाग्ने नै छ सबैका लागि एकदिन । 


पुस्तकको नामः व्यक्ति र व्यक्तित्व

लेखकको नामः रवीन्द्र माकाजू

ठेगानाः मालेपाटन, पोखरा

फोनः ९८१७१०७६२५

प्रकाशनः २०७७ आषाढ

पुस्तक डिजाइनः कृष्ण कम्प्युटर

(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।) 

धन्यवाद !!! 

Post a Comment

0 Comments