नेपालको युवाहरु मजदुरीको लागि कहिलेसम्म विदेसिनुपर्ने ?

 अव सरकारले राष्ट्रिय उत्पादन बृद्धि गरी मुलुकलाई समृद्ध बनाउनपट्टी लाग्नुपर्छ र त्यसको लागि जमिनको सदुपयोग गर्नु नै अहिलेको लागि आवश्यक कदम मानिन्छ ।

राष्ट्रिय उत्पादन अभियानलाई प्रोत्साहन गर्ने निति सरकारले कार्यान्वयनमा नल्याएसम्म मुलुक आत्मनिर्भर एवं सम्पन्नशिल बन्ने सक्ने संभावना रहँदैन । अहिलेसम्म सरकारले लिएको वैदेसिक प्रोत्साहन नीतिको कारणले पनि मुलकभित्र बसेर काम गर्न चाहने मनस्थिति युवा युवतिहरुमा पूर्ण रुपमा समाप्त जस्तै हुन गएको छ ।

विगतमा वैदेशिक रोजगारलाई प्रोत्साहन गर्ने नीति ल्याउन त्यतिबेलाका सरकारहरुको लागि वाध्यकारी अवस्था थियो । मुलुक भित्र गृहयुद्धको अवस्था रहेको बेलामा सरकारले वैदेशिक रोजगारीमा पठाउने जुन नीति लिएको थियो त्यसबाट सकारात्मक अवस्थाको सृजना भएको कुरालाई इन्कार गर्न सकिँदैन र वैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिटेन्सले नै अहिले मुलुकको अर्थतन्त्र धानिन पुगेको छ । त्यस्तो द्वण्द्वको अवस्थामा समेत राष्ट्र असफल हुनबाट जोगिनुमा यहि रेमिटेन्सको कारण थियो । विभिन्न चरणहरुमा सरकारले लिएको नीति सदैव कामीयाव भैरहन्छन् भन्न सकिदैन । अव सरकारले राष्ट्रिय उत्पादन बृद्धि गरी मुलुकलाई समृद्ध बनाउनपट्टी लाग्नुपर्छ र त्यसको लागि जमिनको सदुपयोग गर्नु नै अहिलेको लागि आवश्यक कदम मानिन्छ । वैदेशि रोजगारको कारणले पहाडका ग्रामिण वस्तीहरु रित्तिने क्रम बढेर गएको छ । वस्ती स्थानान्तर हुनुलाई नकारात्मक भन्नु त हुँदैन किनकी सहरबजारमा आउन सक्ने हैसियत बन्नु सकारात्मक नै छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, पेशा, व्यवसाय आदिको कारणले पनि सहर बजारमा स्थानान्तरण हुनुपर्छ । यसको साथसाथै ग्रामिण क्षेत्रका जग्गा जमिनहरुलाई समय अनुरुप उत्पादन कार्यमा उपयोग गरिनु त्यत्तिकै आवश्यक देखिन्छ । व्यवसायिक रुपमा त्यहाँको जमिनलाई उपयोग गरेको खण्डमा उत्पादन बढि आयस्तरमा समेत बृद्धि भै राष्ट्रिय पुँजी केही मात्रामा भएपनि बाहिर जान बाट जोगिन सक्दछ । 

तरकारी उत्पादन, पशुपालन, फलफूल खेती र वन पैदावारको लागि यी पहाडी ग्रामिण बस्तीहरु उपयोग गरी राष्ट्रिय आय बृद्धि गर्नपट्टी सरकार लाग्नुपर्छ । दुध, मासु, फलफूल र वन पैदावारमा समेत अहिले परनिर्भर रहिआएको अवस्था छ । 

सानोतिनो कमाई गर्न विदेश जाुन नपर्ने स्थिति सृजना गर्नको लागि सरकारले अव ढिला गर्नुहुँदैन । यदि अहिले नेपाली युवायुवतीहरु जुनजुन रोजगारीको लागि जुन जुन मुलुकमा गएका छन् ती मुलुकबाट पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्र चलेको छ । जहिलेसुकै ति मुलुकको अवस्था एकैनासको नरहनपनि सक्छ । विश्वव्यापि रुपमा आर्थिक मन्दीको चक्र घुमिरहने गर्दछ र त्यसबाट अति विकसित मुलुकहरु समेत प्रभावित हुने गरेका छन् । त्यो स्थितिको आगमन भएको खण्डमा लाखौं युवाहरु वैदेशिक रोजगारबाट फर्कने स्थिति आउन सक्छ । 

त्यो बेलामा देशभित्र केही गरेर बस्ने स्थिति पनि नबनेको खण्डमा मुलुकको हालत के होला ? वैदेशिक मुद्रा आउन बन्द त हुन्छ नै साथै लाखौंलाख युवाहरु मुलुक फर्केको खण्डमा देशको स्थिती के होला ? यसतर्फ सम्बन्धित  पक्षहरुले अहिलेसम्म केही सोचेका छैनन् । अब नसोचि नहुने बेला आएको छ ।

लेखकः पदम रेग्मी/Machhapuchhre News/Weakly

Post a Comment

1 Comments