रातको समयमा कर्मचारी र विचौलिया मालमाल

 पोखरा । कार्यालय समय भन्दा ५ मिनेट वढि जनताको काम गर्न नचाहने सरकारी कार्यालयका कर्मचारीहरू आँपूmलाई फाइदा हुन्छ भने रातमा पनि काम गर्न चाहन्छन् भन्ने नजिर वेलावखतका घटनाक्रमले दिलाउँदै आएकाछन । यही मालपोत कार्यालय कास्कीले हाल मेट्रोसिटी हस्पिटल रहेको भवन जंगवहादुर गुरुङको स्वामित्वबाट अन्य व्यक्तिको नाममा स्थानान्तर गर्दा रातको समयमा काम गरेको थिए । त्यस्तै गत हप्ता जिल्ला मालपोत कार्यालय पर्सामा पनि कर्मचारीहरूले रातको समयमा विचौलीयासँग मिलेर असोज ३० गते धन्दा गर्न लागेका थिए । कार्यालय प्रमुख सहित १३ कर्मचारी र ८ जना विचौलिया कार्यालय समय सकिएपछि कार्यालय भित्र पसेका थिए । त्यहाँ पसेर शंकास्पद गर्न थालेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले नियन्त्रणमा लियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा प्रशासकीय अधिकृत विनय श्रीवास्तव, प्रहरी निरीक्षक राजेशराज पुरी सहितको टोलीले कार्यालयमा राती ९ बजे छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको थियो । त्यतिवेला कार्यालय भित्र केहि कर्मचारी र केहि असम्बन्धित मानिसहरूले फाइल केलाइरहेका बेलामा छापा मारिएको थियो । र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कार्यालय समय बाहिर कोही पनि कार्यालयमा प्रवेश गर्दा अनुमति लिनुपर्दछ । स्वयं कर्मचारीले पनि जिल्ला प्रशासन कार्यालयको अनुमति नलिई कार्यालय समय भन्दा वाहिरको समयमा कार्यालयमा प्रवेश गर्न पाईदैन । प्रहरीद्वारा छापा मारी निमित्त कार्यालय प्रमुख सुमनकुमार झा सहित १३ जना कर्मचारीहरू र विचौलियाको काम गर्ने वाहिरका व्यक्तिहरू धर्मेन्द्र शाह, रमेश यादव, वीरेन्द्रकुमार शाह, राजेन्द्रप्रसाद चौधरी, विजय विक्रम शाह र रविभुषण प्रसाद पटेलमाथि अनुसन्धान गरिने भनिएको थियो । अनुसन्धान पश्चात उनीहरू माथि के कस्तो कारवाही भयो अहिलेसम्म सम्बन्धित निकायले कुनै जानकारी दिलाएको छैन । सार्वजनिक जग्गाहरू कहाँ कहाँ छन् र ति जग्गाहरूलाई कसरी हडप्न सकिन्छ भनि रेकर्ड, नक्सा लगायतका दस्तावेजहरू केलाउन रातको समयमा कर्मचारीहरू र विचौलियाहरू लागेको वताइन्छ । मालपोत कार्यालयको परिसर यस्तो क्षेत्र हो जहाँका कर्मचारी र लेखापढी गर्ने व्यक्तिहरू छोटो समयमै मालामाल बन्दछन् । कारण भूमाफिया विचौलिया र भ्रष्ट कर्मचारीहरूले संयुक्त रूपमा बचेखुचेका सार्वजनिक जग्गाहरूलाई आन्दानीको श्रोत वनाउने गर्दछन् ।


Post a Comment

0 Comments