पाल्पा । पहाड र तराईलाई जोड्ने छोटो दुरीको सिद्धार्थ राजमार्ग जिर्ण भएकोले सो राजमार्ग भएर यात्रा गर्दा यात्रुहरूले हैरानी र सास्ती खेप्नु परिरहेको छ । यो राजमार्ग रुपन्देहीबाट पोखरा सम्म फैलिएको छ । गुल्मी, बागलुङ, पर्वत, कास्की, म्याग्दी, मुस्ताङ आउने जाने राजमार्ग यही हो । वर्षायाममा वाढी पैह्रोको कारणले यात्रा गर्न खतरनाक सावित त भएकै हो तर हिउँद याममा पनि कम सास्ती र हैरानी यात्रुहरूले खेप्नु परेको छैन । स्वयं चालकलाई पनि गाडी वा सवारी साधन गन्तव्यमा पु¥याउन कम हैरानी खेप्नु पर्देन । वर्षामा खसेका पहिरालाई पन्छाउने काम अहिले सम्म भएको छैन जसबाट गाडीहरू पालो कुरेर एकतर्फी रूपमा पार हुनुपर्दछ जसबाट पालो पाउन घण्टौं लाइनमा वस्नुपर्दछ । ठाउँ ठाउँमा सडक भासिएकोले पनि यात्रा सास्तीपूर्ण हुन गएको छ ।
यस राजमार्गको वर्तुङ चिडियाखोला सडक खण्ड यस वर्षको वर्षायाममा क्षतविक्षत भएको र अन्य स्थानहरूमा पनि सडक भासिएको छ । यस्तो सडकमा यात्रा एकतर्फी खालको हुने भएकोले घण्टौंसम्म पालो कुरेर वस्नुपर्ने अवस्था छ । वुटवल र पाल्पा आवतजावत गर्दा पहिलाको जस्तो छैन । एकतर्फी दुरी पनि ५÷६ घण्टा गरेको छ । राजमार्गको चिडियाखोला नजिक कदमवास, सिद्धवावा क्षेत्र, ड्यामसाइड, पैठेडाँडामा सडक भासिएको छ । भुतखोला, झुम्सा, पानीमिल, चौविस माइल लगायतका ठाउँहरूमा स्थिति यस्तै भासिएको रहेको छ । सडक सफा गर्ने भन्दा अरू वजेट नभएकोले भासिएको सडक यस वर्ष बन्ने संभावना नरहेको सडक डिविजन कार्यालय पाल्पाले जनाएको छ । यस सडकमा चुनढुँगा बोक्ने करिव १ हजार टिप्पर पनि आउजाउ गर्दा जामलाई अरू बढाएको छ । कतिपय स्थानमा त सडक यति भासिएको छ की त्यहाँ घण्टौ पालो कुरेर एकतर्फी पास हुनुपर्ने अवस्था रहेको छ । दैनिक ५ हजार भन्दा बढि सवारी साधनहरू आवतजावत गर्ने यस राजमार्गबाट पहाडी जिलाहरूमा खाद्यान्न र निर्माण सामग्रीका बोझिला गाडीहरू बढि मात्रामा गुड्ने गर्दछन् । यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत वुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा पनि सडकको दुरावस्था रहेको छ । ठूलाठुला खाल्डाखुल्डि र धुलोका कारण दिउँसै वत्ति बाल्नुपर्ने अवस्था रहेको छ । जसबाट दुर्घटनाको संभावनामा वृद्धि भैरहेको छ । दुम्किवास र वर्दघाटसम्मको १४ कि.मि. दुरी पार गर्न ३ घण्टामा पनि मुस्किल पर्दछ । महिनौ दिनसम्म पनि सडकको मर्मत हुन सकेको छैन । विपरित दिशाबाट आएको मात्र नभै अगाडिको गाडीलाई देख्न पनि धूलोको कारणले मुस्किल हुने गरेको चालकहरू बताउँछन् । बुटवल–नारायणगढ सडकखण्ड फराकिलो पार्न १७ अर्व रुपयाँमा ठेक्कामा लगाइएको छ । चिनिया कम्पनी चाइना स्टेट कन्ष्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेशनले निर्माणको ठेक्का पाएको छ । सडकको विस्तार लगायत निर्माण अवधिमा सडकको खाल्डाखुल्डी पुर्ने र सरसफाई गर्ने जिम्मेवारी सो कम्पनीको भएता पनि लकडाउनपछि कामलाई अगाडि बढाएको छैन । राजमार्गका पुल र कल्भर्ट भत्काएर ठाउँ ठाउँमा अलपत्र पारिएको छ ।
0 Comments